नेपालमा सार्वजनिक भयो इन्फिनिक्स हट ७० प्रो, १२ महिनाको शून्य प्रतिशत ईएमआई सुविधा

काठमाडौं । इन्फिनिक्सले आफ्नो हट सिरिजअन्तर्गत नयाँ स्मार्टफोन हट ७० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार फोनमा ५जी कनेक्टिभिटी, १४४ हर्ज डिस्प्ले, ५० मेगापिक्सेल सोनी क्यामेरा र ६ हजार एमएएच ब्याट्रीलगायतका विशेषता छन् । गेमिङप्रेमीलाई लक्षित गर्दै कम्पनीले फ्रि फायरसँग सहकार्यसमेत गरेको जनाएको छ ।

हट ७० प्रोमा ६.७६ इन्चको एफएचडी प्लस आईपीएस एलसीडी डिस्प्ले छ । १०८०×२३४४ पिक्सेल रिजोल्युसन र १४४ हर्ज रिफ्रेस रेटले भिडियो हेर्दा, गेम खेल्दा, सामाजिक सञ्जाल चलाउँदा तथा दैनिक प्रयोगमा सहज दृश्य अनुभव दिने कम्पनीको दाबी छ ।

फोनमा ६ नानोमिटर प्रविधिमा निर्मित मिडियाटेक डाइमेन्सिटी ७१०० फाइभजी चिपसेट प्रयोग गरिएको छ । ८ जीबी र्‍याम तथा १२८ जीबी र २५६ जीबी गरी दुईवटा भण्डारण विकल्पमा फोन उपलब्ध छ । भण्डारण यूएफएस २.२ प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ ।

क्यामेरातर्फ हट ७० प्रोमा ५० मेगापिक्सेल सोनी आईएमएक्स ८८२ मुख्य क्यामेरा र ८ मेगापिक्सेल अगाडिको क्यामेरा राखिएको छ । मुख्य क्यामेराबाट फोटो तथा भिडियो खिच्न सकिने तथा अगाडिको क्यामेरा सेल्फी र भिडियो कलका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसमा ४५ वाट फास्ट चार्जिङका साथै बाइपास चार्जिङ र १० वाट रिभर्स वायर्ड चार्जिङ सुविधा रहेको छ ।

हट ७० प्रो एन्ड्रोइड १६ मा आधारित एक्सओएस १६ मा सञ्चालन हुन्छ । कम्पनीका अनुसार फोनले तीनवटासम्म प्रमुख एन्ड्रोइड अपरेटिङ सिस्टम अपग्रेडसमेत सपोर्ट गर्नेछ ।

करिब ७.९ मिलिमिटर पातलो डिजाइन रहेको फोनमा आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमता तथा मिलिटरी स्ट्यान्डर्डअनुसारको मजबुती रहेको कम्पनीको दाबी छ ।

दुई भेरियन्टमा उपलब्ध

हट ७० प्रो नेपाली बजारमा ८ जीबी र्‍याम तथा १२८ जीबी र २५६ जीबी भण्डारण गरी दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्‍याम तथा १२८ जीबी भण्डारण भएको भेरियन्टको मूल्य रु. ५२ हजार ९९९ र ८ जीबी र्‍याम तथा २५६ जीबी भण्डारण भएको भेरियन्टको मूल्य रु. ५६ हजार ९९९ तोकिएको छ ।

फोन खरिदलाई सहज बनाउन कम्पनीले १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा पनि ल्याएको छ । ८ जीबी र्‍याम तथा १२८ जीबी भण्डारण भएको भेरियन्टका लागि रु. २१ हजार २०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम १२ महिनामा मासिक रु. २ हजार ६५० का दरले भुक्तानी गर्न सकिनेछ ।

त्यस्तै, ८ जीबी र्‍याम तथा २५६ जीबी भण्डारण भएको भेरियन्टका लागि रु. २२ हजार ८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक रु. २ हजार ८५० का दरले १२ महिनामा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यो ईएमआई सुविधा गुडविल फाइनान्स लिमिटेड, नियोफिन हायर पर्चेज प्रालि र एमएडब्ल्यूलगायतका सहभागी वित्तीय साझेदारमार्फत उपलब्ध हुने बताइएको छ । ईएमआई सुविधाका लागि ग्राहकले मान्य नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्नेछ । ईएमआई स्वीकृति तथा अन्य नियम सम्बन्धित वित्तीय संस्थाको प्रक्रियाअनुसार लागू हुनेछन् ।

फ्रि फायरसँग सहकार्य

हट ७० प्रो सार्वजनिक गर्दै इन्फिनिक्सले लोकप्रिय मोबाइल गेम फ्रि फायरसँग सहकार्य गरेको जनाएको छ । कम्पनीका अनुसार १४४ हर्ज डिस्प्ले, ५जी कनेक्टिभिटी, डाइमेन्सिटी ७१०० प्रोसेसर र ६ हजार एमएएच ब्याट्रीले गेमिङ तथा मनोरञ्जनका लागि लक्षित अनुभव प्रदान गर्नेछ ।

कम्पनीले यो सहकार्यले युवा तथा गेमिङप्रेमी प्रयोगकर्तासँगको सम्बन्ध थप विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ ।

हट ७० प्रो नेपालभरका आधिकारिक इन्फिनिक्स स्टोर तथा विभिन्न स्मार्टफोन पसलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्राहकले सम्बन्धित पसलबाट फोनको मूल्य, भेरियन्ट, ईएमआई सुविधा र वित्तीय प्रक्रियाबारे थप जानकारी लिन सक्नेछन् ।