चिनियाँ व्यापारिको ठगी तरिका : नेपालीको नाममा फर्म दर्ता

विराटनगरमा नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरेर चिनियाँ नागरिकले व्यवसाय सञ्चालन गरिरहेको घटना लगातार सार्वजनिक हुन थालेका छन् । पछिल्लो पटक विराटनगर महानगरपालिका–२ मा रहेको एभरपिक सप्लायर्समा गरिएको अनुगमनका क्रममा यस्तो अवस्था फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले सोमबार एभरपिक सप्लायर्समा अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलको दैनिक कारोबार चिनियाँ नागरिक ली जोसिज्याकले सम्हालिरहेको भेटिएको थियो । टोली पसलमा पुग्दा उनी ग्राहकलाई सामान बिक्री गरिरहेको अवस्थामा थिइन् । अनुगमन टोलीले पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामानको खरिद बिल, आयातको स्रोत र व्यवसाय सञ्चालनसम्बन्धी कागजात मागेको थियो । तर लीले ती सामानको वैध स्रोत र कारोबार पुष्टि हुने आवश्यक कागजात प्रस्तुत गर्न नसकेको टोलीले जनाएको छ । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार भिसाको सर्तविपरीत व्यापारिक गतिविधिमा संलग्न भएको विषयमा थप अनुसन्धान गर्न लीलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको छ । एभरपिक सप्लायर्स सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ स्थायी ठेगाना भएकी राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको पाइएको छ । कार्की हाल काठमाडौंमा बस्दै आएको प्रहरीले जनाएको छ । यसअघि असोज ८ गते पनि विराटनगर–७ स्थित सेन्ट्रल मलमा सञ्चालित योनो मार्टमा यस्तै प्रकृतिको घटना फेला परेको थियो । नेपाली नागरिक धिरेन बीकका नाममा दर्ता रहेको मार्ट चिनियाँ नागरिक सीए जिङलानले सञ्चालन गर्दै आएको अनुगमनका क्रममा खुलेको थियो । सेन्ट्रल मलका ६ वटा सटर लिएर सञ्चालित मार्टको मासिक भाडा २ लाख रुपैयाँ रहेको अनुसन्धानबाट खुलेको छ । कागजमा बीकको नाम भए पनि मार्टको व्यवस्थापन, चीनबाट सामान आयात, मूल्य निर्धारण तथा नगद कारोबार जिङलानले सम्हाल्दै आएको वाणिज्य कार्यालयले जनाएको छ ।

संयुक्त अनुगमनका क्रममा मार्टमा प्यान वा भ्याट बिलबिना कारोबार भइरहेको तथा ग्राहकलाई सामान्य खरिद बिलसमेत नदिएको भेटिएपछि मार्ट सिल गरिएको थियो । जिङलानमाथि अनुसन्धान अघि बढाउँदा काठमाडौंमा दर्ता रहेको तोङ आइटी ग्रुप प्राइभेट लिमिटेडसँग उनको सम्बन्धसमेत खुलेको छ । उद्योग विभागको अभिलेखअनुसार २५ लाख रुपैयाँ कुल पुँजी रहेको उक्त कम्पनी सफ्टवेयर विकास गर्ने उद्देश्यले दर्ता भएको हो । कम्पनीमा झाओ सिउहुआईको ४० प्रतिशत, सीए कोङ्गिमनको ४० प्रतिशत र जिङलानको २० प्रतिशत सेयर रहेको अभिलेखमा उल्लेख छ । अनुसन्धानका क्रममा सूचना प्रविधिसम्बन्धी कम्पनीसँग जोडिएका विदेशी नागरिक विराटनगरमा भने कस्मेटिक, खेलौना तथा घरायसी सामानको खुद्रा व्यापारमा संलग्न रहेको भेटिएको छ । योनो मार्टलाई धिरेन बीकलाई औपचारिक साझेदारका रूपमा राखेर धरान, इटहरी, बिर्तामोड र इनरुवासम्म विस्तार गर्ने योजना रहेको विवरणसमेत अनुसन्धानमा आएको छ ।

जिङलान सन् २०२४ मार्च १२ मा पर्यटक भिसामा नेपाल प्रवेश गरेकी थिइन् । पछि उद्योग विभागको सिफारिसमा उनले व्यावसायिक भिसा लिएको विवरण सरकारी अभिलेखमा देखिन्छ । कम्पनीका मुख्य लगानीकर्तामध्येका झाओ सिउहुआईले पनि बिजनेस भिसा लिएको पाइएको छ । नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विदेशी लगानी खुला नगरिएका क्षेत्रमध्ये खुद्रा व्यापार पनि पर्छ । त्यसैले नेपाली नागरिकका नाममा दर्ता गरिएका फर्ममा विदेशी नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नतामा खुद्रा व्यापार सञ्चालन भइरहेको हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार दुवै घटनामा थप अनुसन्धान भइरहेको छ । चीनबाट आयात हुने सामानमा न्यून बिजकीकरण गरिएको हो कि होइन, कारोबारमा हुन्डी प्रयोग भएको छ कि छैन तथा बिक्रीबाट संकलित रकम अनौपचारिक माध्यमबाट विदेश पठाइएको छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।