काठमाडौं । दसैंमा काठमाडौं उपत्यका छाडेर घर जाने यात्रुको चाप बढ्न थाले पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला नहुँदा यात्रुमा अन्योल बढेको छ ।
दसैंका लागि घर जाने योजना बनाइरहेका यात्रुले समयमै टिकट सुनिश्चित गर्न सकेका छैनन् । केही यातायात कम्पनीले अनलाइनमार्फत टिकट बिक्री गरिरहेका भए पनि सरकारले औपचारिक रूपमा अग्रिम बुकिङ खुलाउने मिति तय गर्न सकेको छैन । खासगरी पोखरा, चितवन, भैरहवा जस्ता गन्तव्यका लागि अनलाइनबाट टिकट उपलब्ध भए पनि दुर्गम तथा यातायातका विकल्प सीमित भएका स्थानमा जाने यात्रु अन्योलमा छन् । सडकको अवस्था, सवारीसाधनको उपलब्धता र यात्रुको चाप व्यवस्थापनबारे स्पष्ट निर्णय नहुँदा दसैंको यात्राको तयारीमा रहेका सर्वसाधारण प्रभावित भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र व्यवसायीबीच छलफल भइरहे पनि टुंगो लाग्न नसकेको बताए । उनका अनुसार यातायात व्यवसायी र सरकारी निकायबीच हरेक दिनजसो छलफल भइरहेको छ । तर, दसैंका लागि औपचारिक रूपमा टिकट बिक्री सुरु गर्ने मिति भने तय भएको छैन । ‘दुई–तीन दिन पछाडिका लागि टिकट बिक्री त भइरहेकै छ,’ सिटौलाले भने, ‘तर, दसैं सुरु भएपछिका दिनका लागि औपचारिक रूपमा बुकिङ खुलेको छैन । अनलाइन प्लेटफर्मबाट आफूखुसी बुकिङ भएको भए त्यो उहाँहरूले नै जिम्मा लिने विषय हो ।’
सामान्यतया दसैंमा यात्रुको चापलाई ध्यानमा राखेर यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनका लागि रुट इजाजत खुला गर्ने र अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउने गरेको थियो । यसबाट यात्रुले समयमै टिकट लिएर घर जाने योजना बनाउन पाउँथे भने व्यवसायीलाई पनि सवारीसाधनको व्यवस्थापन गर्न सहज हुन्थ्यो । तर, यस वर्ष विभागले सरोकारवालासँग केही चरणमा छलफल गरे पनि टिकट बुकिङ खुलाउने मिति घोषणा गरेको छैन । दसैंमा काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले अग्रिम बुकिङको व्यवस्था गर्नुपर्ने माग हुँदै आएको छ । पूर्वाधार विकास समितिले गरेको अनुमानअनुसार यस वर्ष दसैंका बेला मात्रै काठमाडौं छाड्ने यात्रुको संख्या १० लाखसम्म पुग्न सक्छ । यातायात व्यवसायीका अनुसार वास्तविक संख्या योभन्दा बढी पनि हुन सक्छ ।
दसैं नजिकिँदै जाँदा घर जाने यात्रुको चाप बढ्ने भए पनि सार्वजनिक यातायातको अग्रिम बुकिङबारे स्पष्ट निर्णय नहुँदा अन्तिम समयमा टिकट पाउन कठिन हुने चिन्ता यात्रुमा देखिएको छ । विशेषगरी लामो दूरीका सवारीसाधनमा निर्भर यात्रुका लागि टिकट बुकिङको समय र सवारीसाधनको उपलब्धता महत्त्वपूर्ण हुन्छ । अग्रिम बुकिङ खुलाउन ढिलाइ हुँदा यात्रुले आफ्नो यात्रा मिति तय गर्न तथा अन्य आवश्यक तयारी गर्नसमेत कठिनाइ भोग्नुपर्ने अवस्था छ । सार्वजनिक यातायातको टिकट बुकिङ अन्योलमा रहेका बेला हवाई यात्राको अवस्था भने फरक देखिएको छ । दसैंअघि काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढेसँगै आन्तरिक उडानका टिकट अधिकांश गन्तव्यमा लगभग बिक्री भइसकेका छन् । हवाई सेवा प्रदायक कम्पनीका अनुसार दसैंको मुख्य अवधिमा काठमाडौं बाहिरिने यात्रुको माग उच्च छ ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार असोज २८ देखि कात्तिक १ गतेसम्म अर्थात् अक्टोबर १४ देखि १८ सम्मका टिकट अधिकांश गन्तव्यमा शतप्रतिशत बिक्री भइसकेका छन् । उनका अनुसार यस वर्ष कम्पनीले टिकटको माथिल्लो भाडादर नराखेकाले दसैंअघि उडानका सिट तीव्र गतिमा बिक्री भएका हुन् । ‘यस पटक हामीले माथिल्लो फेयरमा टिकट राखेनौं,’ जोशीले भने, ‘जसले गर्दा दसैं अगाडिका सिटको बिक्री तीव्र भयो ।’
उनका अनुसार उक्त अवधिका अधिकांश उडानमा टिकट पाउन कठिन भए पनि त्यसबाहेकका दिनमा र काठमाडौं फर्किने यात्रुका लागि भने टिकट उपलब्ध छन् । यात्रुको माग बढी हुने मितिमा सिट सीमित भएकाले हवाई यात्राको योजना बनाउनेहरूले पनि समयमै टिकट लिनुपर्ने अवस्था छ । यती एयरलाइन्समा पनि दसैंअघि बाहिरिने यात्रुको चाप उच्च रहेको छ । कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतीका ८० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । अहिले सीमित संख्यामा मात्रै टिकट उपलब्ध रहेको उनले जानकारी दिए ।
उनका अनुसार पोखरा, विराटनगर र भैरहवा जस्ता विमानस्थलमा यात्रुको चाप बढी छ । यी विमानस्थल काठमाडौं बाहिरिने यात्रुका लागि मात्रै नभई सडकमार्गबाट अन्य गन्तव्य पुग्ने यात्रुका लागि पनि महत्त्वपूर्ण ट्रान्जिट बिन्दु हुन् । हवाईमार्ग प्रयोग गरेर यी स्थानमा पुगेपछि यात्रुले सडकमार्गबाट आफ्नो गन्तव्यतर्फ यात्रा गर्न सक्छन् । यस वर्ष सडकमार्गबाट यात्रा गर्ने यात्रुका लागि पनि केही चुनौती छन् । पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड र बीपी राजमार्गमा यात्रा व्यवस्थापन तथा सडक अवस्थाले यात्राको सहजतामा प्रभाव पार्न सक्छ । यी सडकखण्ड हुँदै विभिन्न जिल्लामा जाने यात्रुले सडकको अवस्था र यातायातको उपलब्धतालाई ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हवाई टिकटको माग बढ्नुमा समय बचत गर्ने चाहना र सडकमार्गको यात्रासँग जोडिएका चुनौतीले पनि भूमिका खेल्न सक्छन् ।
यस वर्ष असोज २५ गते घटस्थापना, असोज ३१ गते फूलपाती र कात्तिक ४ गते विजयादशमी परेको छ । पूर्वाधार विकास समितिका अनुसार घटस्थापना र फूलपातीका दिन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने गर्छ । त्यसमध्ये फूलपातीका दिन सबैभन्दा धेरै यात्रु उपत्यका छाड्ने अनुमान छ । दसैंको मुख्य समयमा एकैपटक ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ समयमै खुलाउनु आवश्यक देखिएको छ । हवाई टिकटसमेत अधिकांश बिक्री भइसकेको अवस्थामा सार्वजनिक सवारीसाधनको टिकट व्यवस्थापनमा ढिलाइ भए यात्रुले अन्तिम समयमा सास्ती भोग्नुपर्ने जोखिम छ । त्यसैले यात्रुको चापअनुसार सवारीसाधनको व्यवस्था, अग्रिम टिकट बिक्री र रुट इजाजतसम्बन्धी निर्णय छिटो गर्नुपर्ने देखिन्छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































