काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेर्दा शान्त र सामान्य देखिए पनि समाजभित्र असन्तुष्टि, आक्रोश र बेचैनी बढ्दै गएकाले जुनसुकै बेला ठूलो जनउभार सडकमा आउन सक्ने विश्लेषण गरेका छन् ।
सोमबार काठमाडौंको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले अहिलेको राजनीतिक अवस्थालाई सतहमा देखिएजस्तो मात्रै बुझ्न नहुने बताए । मुलुकमा दुई तिहाइ बहुमतको सरकार रहेको, निर्वाचन सम्पन्न भइसकेको र नयाँ राजनीतिक शक्ति सत्तामा आएको अवस्थाले सबै कुरा सामान्य देखिए पनि जनताका आधारभूत असन्तुष्टि भने सम्बोधन हुन नसकेको उनको भनाइ थियो ।
थापाले पछिल्लो समय सुनसरी, सिराहालगायत पूर्वी तराईमा देखिएका साम्प्रदायिक तनावका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै समाजमा रहेको असन्तुष्टि कुनै पनि बेला विस्फोट हुन सक्ने बताए । सानो घटनाले पनि ठूलो रूप लिन सक्ने अवस्था रहेको भन्दै उनले राजनीतिक नेतृत्व र सरकारले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताए । ‘अहिले मुलुक बाहिरबाट हेर्दैगर्दा शान्त छ । चुनाव भएको छ ।
सरकार छ, दुई तिहाईको बहुमत छ । प्रतिपक्षी दलहरू पनि छन् । सबै ठिक्क देखिन्छ । तर यस्तो होइन,’ थापाले भने, ‘अस्ति भर्खरै सुनसरीको घटनाले के देखायो? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ । किनकि नेपाल समाज यति बेचैन छ अहिले, यति ठूलो फ्रस्टेसन छ, यति ठूलो असन्तुष्टि छ ।’ उनले निर्वाचन सम्पन्न भएको र नयाँ पार्टी सरकारमा आएको अवस्थालाई मात्रै राजनीतिक स्थायित्वको आधार मान्न नहुने बताए । जनतामा रहेको असन्तुष्टिको कारण पहिचान गरी त्यसको सम्बोधन गर्न नसकिए कुनै पनि बेला ठूलो जनउभार आउन सक्ने कांग्रेसको विश्लेषण रहेको उनले स्पष्ट पारे ।
‘चुनाव भयो, नयाँ पार्टी आएको छ, सबै ठिकठाक पनि देखिएको छ । तर यी असन्तुष्टिहरूको कारण सम्बोधन नभएको हुनाले कुनै पनि बेला जनउभार आउन सक्छ । यो नेपाली कांग्रेसको विश्लेषण हो,’ उनले भने । थापाले अहिलेको मुख्य चुनौती जनताका समस्या र सरकारको प्राथमिकताबीच देखिएको दूरी रहेको बताए । समाजमा असन्तुष्टि बढिरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्नेभन्दा सरकार अर्कै दिशामा अघि बढिरहेको उनको टिप्पणी थियो । समस्या एउटा ठाउँमा रहेको तर सरकारको प्रतिक्रिया र प्राथमिकता अर्कैतर्फ केन्द्रित भएको उनले बताए । सभापति थापाले रोजगारीका लागि नेपाली युवाहरू ठूलो संख्यामा विदेशिने क्रम अझै रोक्न नसकिएको विषयलाई पनि गम्भीरतापूर्वक उठाए । उनका अनुसार अहिले पनि दैनिक करिब २ हजारदेखि २ हजार ५ सय नेपाली रोजगारीका लागि मुलुक छाडिरहेका छन् । यो समस्या वर्तमान सरकारको मात्रै नभई पछिल्लो एक दशकदेखि निरन्तर रहेको उनले बताए । उनले विदेशमा रहेका नेपालीले पठाएको रकमका कारण देशका बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा पैसा थुप्रिएको उल्लेख गरे । तर त्यो रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो ।
‘अहिले पनि प्रत्येक दिन २ हजार, २५ सय मानिस रोजगारीका लागि देश छोडेर बाहिर जान्छन् । यो अहिलेको सरकारले गरेको होइन है । हाम्रो पालादेखि विगत दस वर्षदेखि यही नै भइरहेको थियो,’ थापाले भने ।
विदेशिएका नेपालीले कमाएर पठाएको रकम बैंकमा जम्मा भइरहेको भन्दै उनले नेपालमा अहिले जति पैसा बैंकिङ प्रणालीमा थुप्रिएको छ, विगतमा यस्तो अवस्था नरहेको दाबी गरे । देशभित्रै लगानीको वातावरण निर्माण गरी उपलब्ध पुँजीलाई उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए । थापाले राजनीतिक स्थिरता देखिए पनि सामाजिक र आर्थिक असन्तुष्टि कायम रहे त्यसले फेरि ठूलो राजनीतिक संकट निम्त्याउन सक्ने संकेत गरे । त्यसैले सरकार र राजनीतिक दलहरूले जनताको असन्तुष्टिको वास्तविक कारण पहिचान गरी समयमै समाधानतर्फ ध्यान दिनुपर्ने उनको धारणा थियो ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































