काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्टर–सेल्स सेवाका लागि दुई अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ गरी दुई अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।
टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरक सहभागी सम्मेलनमा प्राप्त यी सम्मानले नेपालको टिभिएस सर्भिस नेटवर्कले अन्तर्राष्ट्रियस्तरको सेवा मापदण्ड कायम गरेको देखाउने कम्पनीको भनाइ छ ।
विशेषगरी ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्डले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवासहितको समग्र आफ्टर–सेल्स नेटवर्कको मूल्याङ्कनलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले अन्तर्राष्ट्रिय सम्मानलाई ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको परिणामका रूपमा लिएको बताइन् ।
“यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो”, उनले भनिन्, “अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा गुणस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो ।”
जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्स, पारदर्शी सेवा र देशभर फैलिएको नेटवर्कमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । कम्पनीले आगामी दिनमा पनि आफ्टर–सेल्स सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपालमा टिभिएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन बिक्री गर्दै आएको छ । कम्पनीले देशभरको नेटवर्कमार्फत बिक्री, सर्भिस तथा वास्तविक स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । शंकर ग्रुपले विभिन्न व्यावसायिक क्षेत्रमा लगानी तथा व्यवसाय सञ्चालन गर्दै आएको छ । सन् १९७९ मा स्थापना भएको समूहअन्तर्गत विभिन्न क्षेत्रमा करिब ४० कम्पनी रहेको कम्पनीले जनाएको छ ।
शंकर ग्रुपले नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ । यसको मुख्य उद्देश्य ‘उद्यमशीलताको इकोसिस्टममार्फत मानिसहरूको जीवनलाई समृद्ध बनाउने’ रहेको छ। जगदम्बा होल्डिङ्स र जगदम्बा ग्रुप शंकर ग्रुपअन्तर्गतका कम्पनीहरूको प्रमुख लगानी होल्डिङ कम्पनी तथा प्रवद्र्धकका रूपमा रहेका छन् । आर्थिक वर्ष २०२०/२१ मा शंकर ग्रुपअन्तर्गतका कम्पनीहरूको संयुक्त कारोबार १ अर्ब अमेरिकी डलरभन्दा बढी (करिब ११ हजार करोड नेपाली रुपैयाँ) रहेको थियो। यी कम्पनीहरूले सामूहिक रूपमा १५ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएका छन्।
शंकर ग्रुपअन्तर्गतका प्रत्येक कम्पनी वा व्यवसायले आफ्नै सञ्चालक समितिको मार्गदर्शन तथा निगरानीमा स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएका छन्। विभिन्न व्यवसायिक क्षेत्रमा स्थापित कम्पनीहरूको माध्यमबाट समूहले रोजगारी सिर्जना, लगानी विस्तार तथा नेपालको आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।




































