काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा औपचारिक रूपमा फर्किएकी छन् ।
राष्ट्रपति पदमा दुई कार्यकाल बिताएपछि करिब ११ वर्षपछि उनी एमालेको सक्रिय राजनीतिक भूमिकामा पुनरागमन गरेकी हुन् । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई पार्टीले वरिष्ठ नेताको जिम्मेवारी दिएको छ । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । यससँगै भण्डारीको सक्रिय पार्टी राजनीतिमा औपचारिक पुनरागमन भएको हो । भण्डारी सन् २०१५ मा नेपालको राष्ट्रपति निर्वाचित भएकी थिइन् । त्यसअघि उनी एमालेको उपाध्यक्षका रूपमा सक्रिय थिइन् । राष्ट्रपति भएपछि उनले पार्टीको जिम्मेवारीबाट अलग भएर संवैधानिक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् । दुई कार्यकाल राष्ट्रपति बनेर शीतल निवासबाट बाहिरिएपछि भने उनी पुनः पार्टी राजनीतिमा फर्किने चर्चा लामो समयदेखि चल्दै आएको थियो ।
तर, भण्डारीको पार्टी राजनीतिमा पुनरागमन सहज भने थिएन । गत वर्ष एमाले अध्यक्ष ओलीले उनलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन नदिने संकेत दिएका थिए । पूर्वराष्ट्रपतिले पार्टीमा सक्रिय हुन आवश्यक नरहेको र राष्ट्राध्यक्षको जिम्मेवारी पूरा गरिसकेको व्यक्तिले पार्टी राजनीतिमा फर्कनुभन्दा सम्मानित भूमिकामै रहन उपयुक्त हुने धारणा ओलीले सार्वजनिक रूपमा राखेका थिए ।
ओलीको यस्तो धारणाका कारण भण्डारीको एमालेमा पुनरागमन तत्काल सम्भव नहुने आकलन गरिएको थियो । पार्टीभित्र पनि पूर्वराष्ट्रपति पुनः सक्रिय राजनीतिमा फर्कन हुने वा नहुने विषयमा फरक–फरक धारणा देखिँदै आएको थियो । तर, पछिल्लो समय परिस्थितिमा परिवर्तन आएको छ । यसपटक भने भण्डारीलाई एमालेमा सक्रिय भूमिकामा ल्याउने प्रस्ताव स्वयं अध्यक्ष ओलीबाटै आएको बताइएको छ ।
ओलीकै प्रस्तावमा भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको हो । पूर्वराष्ट्रपति जस्तो संवैधानिक पदमा पुगिसकेको व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा फर्किएको विषयले राजनीतिक र संवैधानिक बहससमेत जन्माएको छ । राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरिसकेको व्यक्तिले पुनः पार्टीको सक्रिय राजनीतिमा फर्कन मिल्ने वा नमिल्ने विषयमा विभिन्न कोणबाट प्रश्न उठिरहेका छन् । भण्डारीको पुनरागमनले एमालेभित्रको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ । लामो समय संवैधानिक भूमिकामा रहेकी भण्डारी पुनः पार्टीको सक्रिय राजनीतिमा फर्किएसँगै एमालेभित्र उनको भूमिका, प्रभाव र आगामी जिम्मेवारीलाई लिएर चासो बढेको छ । यससँगै एमालेको राजनीतिमा भण्डारीको दोस्रो इनिङ सुरु भएको छ । राष्ट्रपति बन्नुअघि एमालेको नेतृत्व तहमा प्रभावशाली भूमिका निर्वाह गरेकी भण्डारी अब वरिष्ठ नेताका रूपमा पार्टी राजनीतिमा कसरी सक्रिय हुन्छिन् भन्ने विषयलाई राजनीतिक वृत्तले चासोपूर्वक हेरिरहेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































