हनुमानढोकाको दसैँघरमा राखियो जमरा

काठमाडौं ।नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ । नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादसैँको सुरुवातका रूपमा लिइन्छ ।हनुमानढोकास्थित दसैँघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।बडादसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरी विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ ।