बुढीगण्डकी बाढीको कारण पत्ता लगाउन भूगर्भविद्को टोली परिचालन

काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको कारण पत्ता लगाउन भूगर्भविद्को टोली परिचालन गरिएको छ ।

ड्रोनसहित तीन सदस्यीय भूगर्भविद्को टोली प्रभावित क्षेत्रमा खटाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीको कारण, पहिरोको अवस्था र सम्भावित जोखिमबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो । त्यस्तै, क्षतिग्रस्त सडक सञ्चालन र बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि प्रभावित क्षेत्रमा पठाइएको छ । प्राधिकरणका अनुसार बाढीको सूचना आइतबार बिहान ६ बजे प्राप्त भएपछि गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन गरिएको थियो । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट प्राप्त सूचनाका आधारमा सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पनि पठाइएको थियो ।

बाढीमा परी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । लोक्पादेखि चुलीडाँडाको बीचमा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको र थुनिएको पानी एक्कासि बग्दा बाढी आएको प्रारम्भिक विवरण छ । बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचनासहित आसपासका सात–आठवटा घर बगाएको छ । चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछिखोलाका तल्लो बस्तीमा रहेका २० देखि २२ घर जोखिममा परेका छन् । त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ । बाढीले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प तथा केही निर्माण उपकरणमा समेत क्षति पुर्‍याएको छ । दुईवटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका हेलिकोप्टरमार्फत हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपाली सेनाका चार हेलिकोप्टर उद्धार कार्यमा परिचालन गरिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् । प्राधिकरणका अनुसार नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन् । नेपाल प्रहरीका थप ५० जनाको टोलीलाई विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ । गोरखा, लमजुङ र तनहुँका जिल्ला तथा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोली र अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ । प्राधिकरणले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी किनार र जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा बस्न तथा जोखिमयुक्त पुल र सडक प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।