भनिन्छ, यदि तपाईंले कुखुराको एउटा–एउटा प्वाँख उखेल्नुभयो भने कसैले वास्ता गर्दैन । यसरी नै केही मानिसहरू साना गल्तीहरूले आफूलाई कहिल्यै समात्ने छैनन् भन्ने भ्रममा पर्छन् ।
विधिको समस्या के हो भने एक दिन सत्य नाङ्गो भएर सामुन्ने उभिन्छ, जसलाई उपेक्षा गर्न असम्भव हुन्छ । अक्टोबरमा भारतीय लोकतन्त्र प्वाँख उखेलिएको कुखुरा जस्तै देखिन्छ, जसका प्वाँखहरू खोसिएका छन् र आफूलाई व्यंग्यात्मक रूपमा ‘साङ्ला’ भन्ने आन्दोलनकारीहरू सडकहरूमा उर्लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी आफू घेराबन्दीमा परेको पाउनु, बारिकेडहरू पछाडि हट्नु र लोकतन्त्रको सुस्त क्षयले गुमाउनका लागि थोरै मात्र बाँकी रहेका र डराउनका लागि अझै कम बाँकी रहेका विद्यार्थीहरूको आक्रोशको सामना गर्नुअघि १२ वर्षसम्म धेरै प्वाँख उखेल्ने काम भयो ।
मतदाता नामावलीको शुद्धीकरण फिर्ता लिन माग गर्दै १० अक्टोबरमा भएको ठूलो विरोध प्रदर्शनको सामना गर्दै उनले आत्म–दोषारोपणको शृंखला नै चलाए । उनको सरकारले संकटकालको सम्झना दिलाउने उपायहरू लागू गर्यो : नयाँदिल्लीका लागि कुनै रेल नचल्ने, विरोध स्थलहरूमा अर्धसैनिक बल तैनाथ गर्ने, इन्टरनेट अवरुद्ध गर्ने ।
प्रदर्शनअघि ‘ककरोच जनता पार्टी’ (सीजेपी) आन्दोलनका प्रमुख व्यक्तिहरू रत्ना सिंह, अभिजित दिपके, ध्रुव राठीलाई हिरासतमा लिइयो । महात्मा गान्धीका पनाति तुषार गान्धीसहित अन्य धेरै चर्चित कार्यकर्ताहरूलाई पनि हिरासतमा लिइयो । तैपनि प्रदर्शनकारीहरू नयाँदिल्लीका सडकहरूमा ओर्लिए, तोकिएका विरोध स्थलहरूमा पुग्न खोज्दै, जुन दृश्य भारतभरिका सहर–सहरमा दोहोरियो । दिनभरि प्रहरीले प्रदर्शनकारीहरूसँग खेल खेलिरह्यो, जो राजधानीभरि पुनः सतहमा आइरहे, एकपछि अर्को कुनामा पुनः एकत्रित भइरहे, तोकिएका विरोध स्थलहरूबाट लखेटिए पनि हराउन अस्वीकार गरिरहे ।
साँझसम्ममा सहरभरिबाट कम्तीमा २ हजार ५०० प्रदर्शनकारी र १५ जना पत्रकारहरूलाई हिरासतमा लिइयो र विभिन्न स्थानमा स्थापना गरिएका हिरासत केन्द्रहरूमा लगियो । त्यसयता धेरैलाई रिहा गरिसकिएको छ । यी कार्यहरूले मोदीको नाजुक स्थितिलाई अझ कमजोर बनाएका छन्, जसले गर्दा अहिले प्रधानमन्त्रीको पदमा बस्न उनी उपयुक्त छन् कि छैनन् भनी प्रश्न उठाउने आलोचकहरूबाट थप भत्र्सना भइरहेको छ । शुक्रबार राहुल गान्धीको नेतृत्वमा विपक्षी दलहरूले राष्ट्रपति द्रौपदी मुर्मूलाई भेटे र सरकारले भारतको लोकतान्त्रिक ढाँचालाई भत्काएको ज्ञापनपत्र बुझाए ।
मोदीको हेराइमा जहाजको छेउमा लेउ टाँसिएझैँ समस्याहरू जम्मा भएका छन् । जब–जब उनीमाथि चुनौती थपिएको छ, उनी राष्ट्र स्थापना भएका लोकतान्त्रिक सिद्धान्तहरूबाट अझ टाढा गएका छन् । निर्वाचन नामावलीको विशेष गहन पुनर्परीक्षण (एसआईआर) नौकरशाही फासिवादको एक अभ्यास थियो । १३ करोड भारतीयहरूलाई उनीहरूको मतदानको अधिकारबाट वञ्चित गराउने घटनालाई फ्रेम गर्ने अर्को कुनै तरिका नै छैन । यो प्रक्रियाले चुनावलाई प्रभाव पार्न मद्दत गर्यो भन्ने तथ्य अब बहसको विषय रहेन । एसआईआरको सुपरिवेक्षण गर्ने मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिनु आश्चर्यजनक छ । अझ विशेषगरी अहिले जब उनीमाथि २००६ को भ्रष्टाचारको मुद्दा पुनः सतहमा आएको छ ।
नयाँदिल्ली र त्योभन्दा बाहिरका सडकहरूमा देखिएका अराजक, क्रुद्ध र विद्रोही दृश्यहरूले लामो समयदेखि बनिरहेको हिसाबकिताबलाई प्रतिनिधित्व गर्छन् । युवा र विविधतापूर्ण प्रदर्शनकारीहरू मोदी र उनको मन्त्रिपरिषद्का वृद्ध, हास्यरहित पुरुषहरू, जसले सफल हुनका लागि दानवीकरण र बहिष्करणको रणनीतिमा दाउ लगाएकाभन्दा बिलकुल फरक छन् । उनको मन्त्रिपरिषद् आत्ममहत्वले भरिएका मानिसहरूले भरिएको छ, जसले गल्तीले निर्वाचित अधिकारीहरूका अपराधहरू सहनुपर्छ र विभाजनहरू सिर्जना गरेर तथा नक्कली शत्रुहरू खडा गरेर देशलाई अनिश्चितकालसम्म शासन गर्न सकिन्छ भन्ने दाउ लगाएका थिए ।
कानुन भत्काउनेहरू कानुन निर्माता बन्दा के हुन्छ भन्ने कुरा अहिले हामीले देखिसकेका छौँ । आपराधिक व्यवहार पार्टीको साङ्गठनिक सिद्धान्त बनेको छ र सँगै यी मानिसहरूका मूल्य–मान्यताहरूले मोदीले भारतमा शासन गरेका वर्षहरूलाई परिभाषित गरेका छन् । यस प्रक्रियामा उनले भारतको संविधानको धज्जी उडाउने कामको नेतृत्व गरेका छन् । अहिले यी सबै कुरा उनीहरूलाई तर्साउन फिर्ता आएका छन्, ‘साङ्ला’का रूपमा । जसलाई उनी नष्ट गर्न असमर्थ छन्, मोदीले नयाँदिल्लीलाई एउटा किल्लामा परिणत गरेका छन् र निशस्त्र प्रदर्शनकारीहरूमाथि उनीसँग उपलब्ध सबै शक्ति प्रयोग गरेका छन् । यो शान्तिको आकांक्षा राखेको जस्तो भान पार्ने तर आफ्नो कार्यकालभरि अचुक रूपमा द्वन्द्व सिर्जना गर्ने उनको नीतिसँग मेल खान्छः छिमेकी राष्ट्रहरूसँग साथै सहरहरूभित्रका छिमेकीहरूबिच पनि ।
अक्टोबर १० त केवल सुरुआती प्रहार मात्र हो । आगामी केही हप्ताहरूमा मोदीका समस्याहरू अझ गहिरिने सम्भावना छ । सीजेपीले विरोध प्रदर्शन जारी रहने घोषणा गरेको छ । विपक्षी दलहरूले सोमबार विरोध प्रदर्शन गर्ने बताएका छन् । यी ‘साङ्ला’हरूले प्रधानमन्त्रीका रूपमा मोदीको चरम अयोग्यताका सम्बन्धमा बाँकी रहेका कुनै पनि प्रश्नहरूको निरूपण गरिदिएका जस्ता छन् । उनीहरूले भारतले विश्वसामु अनुकरणीयका रूपमा प्रस्तुत गर्ने खोक्रो बनेको लोकतन्त्रलाई नाङ्गो पारिदिएका छन् ।
उनको शासन अन्त्यतिर धकेलिँदै गर्दा अहिलेका लागि भित्तामा लेखिसकिएको छ, इतिहासका पुस्तकहरूले मोदीलाई सम्पूर्ण भारतीय पुस्तालाई सरकार, सेना, दिल्ली प्रहरी साथै शासनको सम्पूर्ण ढाँचाप्रति नै सम्मान गुमाउन बाध्य पार्ने व्यक्तिका रूपमा उनको उचित भूमिकामा प्रस्तुत गर्नेछन् भनी सुरक्षित रूपमा भन्न सकिन्छ । नयाँदिल्ली अस्थायी रूपमा एक निस्सासिँदो वर्तमान र एक आशाजनक भविष्यका बिचमा झुण्डिएको छ । समयको विशेष अवधि जतिसुकै कठिन भए पनि बित्नेछ । जब त्यो धुलो शान्त हुनेछ, नियमनकारी कब्जा र दक्षिणपन्थी विचारधाराद्वारा नष्ट गरिएका ती सबै संस्थाहरूको के हुनेछ ? आज सडकमा उत्रिएकाहरूले मात्र त्यसको उत्तर दिनेछन् । यो समझदारी ‘साङ्ला’हरूले गर्ने हरेक काममा निहित छ । किनकि यसको सम्पूर्ण उद्देश्य नै जनतालाई अधिकार दिनु हो । (अलजजिराबाट भावानुवाद)



































