बाहुनडाँगीमा जंगली हात्तीको जोखिम बढ्यो, नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीय परिचालन

झापा । भारतबाट जंगली हात्ती नेपाल प्रवेश गरी स्थानीयवासीको घरमा क्षति पुर्‍याउनुका साथै पाक्न लागेको धानबाली खान थालेपछि झापाको बाहुनडाँगी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट हात्ती नेपालतर्फ प्रवेश गर्न थालेपछि सम्भावित क्षति न्यूनीकरण गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने उक्त स्थानबाट जंगली हात्ती नेपाल प्रवेश गर्ने र बस्तीमा पसेर घर भत्काउने तथा खेतमा लगाइएको पाकेको धान खाने समस्या देखिएको छ। हात्तीको आवागमन बढ्न थालेपछि बुधबारदेखि नै सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको उहाँले जानकारी दिनुभयो।

हात्तीको प्रवेश रोक्न तथा स्थानीयवासीको धनजन र कृषि उपजमा हुन सक्ने क्षति न्यूनीकरण गर्न विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला संस्थालाई परिचालन गरिएको छ। यसका लागि सशस्त्र प्रहरी बल नेपाल, बिओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्‍यापिड रेस्पोन्स टिम, विभिन्न संघसंस्था तथा स्थानीय किसानहरू सक्रिय रूपमा खटिएका छन्।

सीमावर्ती क्षेत्रमा हात्तीको गतिविधि निगरानी गर्न र नेपालतर्फ प्रवेश गर्न नदिन सुरक्षाकर्मी तथा स्थानीयवासीले विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरिरहेका छन्। हात्ती देखिने सम्भावित स्थानमा साइरन बजाउने, बत्ती बाल्ने तथा नियमित गस्ती गर्ने व्यवस्था मिलाइएको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार हात्ती नियन्त्रण तथा रोकथामका लागि १० वटाभन्दा बढी साना माइकसहितका साइरन प्रयोगमा ल्याइएको छ। त्यस्तै, सशस्त्र प्रहरी बलका दुईवटा ठूला साइरन, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलका एक–एकवटा साइरन जडित सवारीसाधन तथा नेपाल प्रहरीको एउटा ठूलो साइरनसमेत परिचालन गरिएको छ।

रातिको समयमा हात्तीको गतिविधि पहिचान गर्न र बस्ती तथा खेतबारीमा प्रवेश गर्न नदिन ९० वटाभन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ। त्यसैगरी, गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउन तीनवटा ट्र्याक्टर र १० वटाभन्दा बढी मोटरसाइकल परिचालन गरिएको प्रशासनले जनाएको छ।

बाहुनडाँगी क्षेत्र लामो समयदेखि जंगली हात्तीको आवागमन र मानव–वन्यजन्तु द्वन्द्वको जोखिममा पर्दै आएको क्षेत्र हो। भारतबाट आउने हात्तीले सीमावर्ती बस्तीमा प्रवेश गरी घर, अन्नबाली तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउने समस्या स्थानीयवासीका लागि चुनौती बन्दै आएको छ।

विशेषगरी धान पाक्ने समयमा हात्ती खेतबारीमा प्रवेश गर्दा किसानले लगाएको बाली नष्ट हुने जोखिम बढ्ने गरेको छ। हात्तीको आवागमनले स्थानीयवासीको जनधनमा समेत खतरा उत्पन्न हुने भएकाले यस क्षेत्रमा सुरक्षा निगरानीलाई प्राथमिकता दिइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा आफैँ नियन्त्रणमा लिन खोज्ने कार्य नगर्न तथा सुरक्षाकर्मी र वन कर्मचारीलाई तत्काल जानकारी गराउनुपर्ने आवश्यकता रहेको छ।

हात्तीको आवागमन नियन्त्रण गर्दै स्थानीयवासीको सुरक्षा र बालीनालीको संरक्षण गर्नु अहिले प्रशासन तथा सरोकारवाला निकायको प्रमुख चुनौती बनेको छ। त्यसैले सीमा क्षेत्रमा सुरक्षा निगरानी, गस्ती र स्थानीयस्तरको समन्वयलाई थप प्रभावकारी बनाइएको छ।