काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘जेनजी’ आन्दोलनका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनाबद्ध रूपमा निसाना बनाइएको आरोप लगाएका छन् । शनिबार (कात्तिक २८) ललितपुरमा आयोजित कांग्रेस संस्थापनइतर समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेताहरूलाई मात्र छानीछानी निसाना बनाइएको बताएका हुन् । उनले आफ्नो घरदेखि कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको पुख्र्यौली घर र पूर्वसभापति कृष्णप्रसाद भट्टराईको आश्रमसम्म आगजनी गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए ।
देउवाले जेनजी आन्दोलनका बेला आफू प्रधानमन्त्री नरहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली रहेको स्मरण गराउँदै त्यस समयमा आफ्नो घर जलाइएको बताए । आन्दोलनका क्रममा आफ्नो घरसँगै कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुख्र्यौली घरमा समेत आगजनी भएको उनको भनाइ थियो । ‘जेनजी आन्दोलनका क्रममा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यस बेला मेरो घर जलाइयो, कृष्णप्रसाद भट्टराईजीको आश्रम जलाइयो र बीपी कोइरालाको पुख्र्यौली घरसमेत जलाइयो,’ देउवाले भने । उनले आन्दोलनका क्रममा अन्य राजनीतिक दलका नेताहरूका घरमा त्यस्तो घटना नभएको दाबी गर्दै कांग्रेस र एमालेका नेताहरूलाई मात्र लक्षित गरिएको बताए । उनका अनुसार आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनालाई केवल आक्रोशको अभिव्यक्तिका रूपमा बुझ्न मिल्दैन ।‘अन्य पार्टीका नेताहरूका घरमा त्यस्तो घटना भएन । एमाले र कांग्रेसका नेताहरूलाई मात्र छानीछानी निसाना बनाइएको देखियो,’ उनले भने, ‘त्यसैले यो घटनालाई सामान्य रूपमा मात्र लिन मिल्दैन ।’ देउवाले कांग्रेस र एमालेका नेताहरूलाई लक्षित गरी भएका घटनाप्रति प्रश्न उठाउँदै यसमा कुनै षड्यन्त्र रहेको आशंका व्यक्त गरे । राजनीतिक दलका नेता तथा उनीहरूसँग जोडिएका ऐतिहासिक र राजनीतिक महत्त्वका संरचनामा भएको आगजनीलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । सम्बोधनका क्रममा देउवाले आफ्नो राजनीतिक जीवन र प्रजातान्त्रिक आन्दोलनमा गरेको संघर्षको पनि स्मरण गरे । आफू विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र स्थापनाका लागि संघर्षमा होमिएको बताउँदै उनले पटकपटक जेल जीवन बिताएको उल्लेख गरे । प्रजातन्त्र प्राप्तिका लागि आफूले व्यक्तिगत रूपमा ठूलो त्याग गरेको उनको भनाइ थियो ।
‘म विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको व्यक्ति हुँ । पटकपटक जेल जीवन बिताएको छु । बीपी कोइरालाले प्रजातन्त्रका लागि गरेको संघर्ष र जेल जीवनको इतिहास हामीले बिर्सनु हुँदैन,’ उनले भने । देउवाले आफूले साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको पनि बताए । प्रजातान्त्रिक आन्दोलनका क्रममा आफूले भोगेको संघर्ष र कांग्रेसका संस्थापक नेताहरूले गरेको योगदानलाई नयाँ पुस्ताले समेत स्मरण गर्नुपर्ने उनको भनाइ थियो । उनले बीपी कोइरालालगायत प्रजातन्त्रका लागि संघर्ष गरेका नेताहरूको योगदानलाई पार्टीले कहिल्यै बिर्सन नहुने बताए । कांग्रेसको वर्तमान अवस्था र संगठन निर्माणमा विगतका नेता तथा कार्यकर्ताले गरेको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले पार्टीका लागि पसिना बगाएका नेता–कार्यकर्ताको त्याग र बलिदानको सम्मान गर्नुपर्ने धारणा राखे ।
देउवाले कांग्रेसका लागि लामो समयदेखि संघर्ष गर्दै आएका नेता तथा कार्यकर्ताका सन्तान अझै पनि पार्टीसँग आबद्ध रहेको बताए । पार्टीको इतिहास केवल नेतृत्वमा रहेका केही व्यक्तिको योगदानबाट मात्र बनेको नभई देशभरका हजारौँ नेता तथा कार्यकर्ताको त्याग, संघर्ष र समर्पणबाट निर्माण भएको उनको भनाइ थियो । मेचीदेखि महाकालीसम्मका नेपाली जनताको माया, विश्वास र सहयोगकै कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उनले बताए । पाँचपटक प्रधानमन्त्री बन्नुलाई आफ्नो व्यक्तिगत उपलब्धिका रूपमा मात्र नलिएको उल्लेख गर्दै उनले यसलाई जनताको विश्वास र पार्टीका हजारौँ कार्यकर्ताको योगदानको परिणामका रूपमा व्याख्या गरे ।‘मेचीदेखि महाकालीसम्मका नेपाली जनताको माया, विश्वास र सहयोगकै कारण म पाँचपटक प्रधानमन्त्री बन्ने अवसर पाएको हुँ । यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, जनताको विश्वास र पार्टीका हजारौँ कार्यकर्ताको त्यागको परिणाम हो,’ उनले भने । देउवाले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका नेताहरूको इतिहास र संघर्षलाई बिर्सिए पार्टीको राजनीतिक पहिचान कमजोर हुने संकेत पनि गरे । विगतमा प्रजातन्त्रका लागि जेलनेल भोगेका तथा कठिन परिस्थितिमा पार्टी संगठन जोगाउन भूमिका खेलेका नेता–कार्यकर्ताको योगदानलाई सम्मान गर्नुपर्नेमा उनले जोड दिए । कांग्रेसको राजनीतिक इतिहास, संस्थापक नेताहरूको विचार र प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको उनको भनाइ थियो । उनले पार्टीका लागि योगदान दिएका नेता तथा कार्यकर्ताको त्यागलाई स्मरण गर्दै प्रजातान्त्रिक आन्दोलनको इतिहासको सम्मान गर्न आग्रह गरे ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































