काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको ४ महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताए ।
आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे । “असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही न केही काम भइराख्या छ । रिफर्मले नतिजा दिन थालेका छन्”, उनले भने, “बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो, यसले पनि नतिजा लिएर आएको छ, सिस्टेमिक रिफर्मले पनि अब हामीलाई इकोनोमीमा मेनस्ट्रिम र इन्टर्नलाइज गरी अगाडि लैजादा स्वेच्छिक कर अनुपालन जस्ता कुरामा मलाई लाग्छ नतिजा आउने नै छन् ।”
अर्थमन्त्री वाग्लेले सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन गर्न सक्नुमा गुड गर्भर्नेन्सको डिभिडेन्ड ९ सुशासनको लाभांशको रुपमा बुझ्नुपर्ने बताए । उनले भने, “सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र गुड गभर्नेन्सको डिभिडेन्डका कारण हामी यस्तो प्रतिकूलताका बीच पनि हामी अगाडि जाँदै गइरहेका छौँ र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आइरहेका छौँ ।” उनले सरकारले कर प्रशासनको डिजिटल रुपान्तरण र स्वचालितलाई सुशासनको अभिन्न अङ्गको रुपमा अघि सार्दै आइरहेको बताए । “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार गर्ने काम भइरहेको छ”, अर्थमन्त्री वाग्लेले भने, “कारोबार, लेखा प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यदक्षता अभिवृद्धि गर्नेतिर लागेका छौँ ।”
सरकारले उद्यम तथा व्यवसायको प्रर्वद्धन र लगानी विस्तार गर्न एवं अर्थतन्त्रलाई चलायमान बनाउन कर नीतिमा सुधार, करका दर र दायराको पुनरवलोकन गर्दै आएको बताए । “सरकारले भन्सार महसुल, अन्तःशुल्कदेखि सबै क्षेत्रमा सुधार सुरु भएको छ ।”सोही अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरुपको करदाता पोर्टलको समेत शुभारम्भ गरे । सोही अवसरमा आन्तरिक राजस्व विभागको आव २०८२–८३ को वार्षिक प्रतिवेदन र स्मारिकासमेत विमोचन भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागले नीतिगत सुधारका कामलाई उच्च प्रथामिकतामा राख्दै आएको जानकारी दिए ।





































