प्रधानमन्त्री बालेनको भ्रमण अघि ३५० मेगावाट बिजुली दिन भारत तयार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आगामी आइतबारदेखि हुने भारतको राजकीय भ्रमणअघि भारतले नेपाललाई विद्युत् आयात तथा निर्यातको अनुमति दिएको हो । यसले आगामी हिउँदयाममा नेपालको विद्युत् माग र आपूर्तिबीचको असन्तुलन व्यवस्थापन गर्न केही सहज हुने अपेक्षा गरिएको छ । भारतबाट प्राप्त अनुमतिअनुसार नेपाल विद्युत् प्राधिकरणले १ मंसिर २०८३ अर्थात् १७ नोभेम्बर २०२६ देखि १५ साउन २०८४ अर्थात् ३१ जुलाई २०२७ सम्म विद्युत् आयात गर्न पाउनेछ । यस अवधिमा दैनिक बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा भारतीय ऊर्जा विनिमय बजारबाट बिजुली खरिद गर्न सकिनेछ । अर्थात् दैनिक १७ घण्टासम्म भारतबाट विद्युत् आयातको बाटो खुलेको छ ।

अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट विद्युत् आयात गर्न सकिनेछ । त्यस्तै, न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत थप ५० मेगावाट विद्युत् आयात गर्न सकिने व्यवस्था गरिएको छ । यी चारवटा प्रसारण लाइनमार्फत नेपालले कुल ३५० मेगावाट विद्युत् भारतबाट खरिद गर्न पाउनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताए । उनका अनुसार आगामी हिउँदमा आन्तरिक उत्पादनले माग धान्न नसक्ने अवस्था देखिएकाले भारतबाट विद्युत् आयात गर्ने विषयलाई प्राथमिकतामा राखेर तयारी भइरहेको छ ।

यस वर्षको हिउँदमा विद्युत् व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिएको छ । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि ४३१ मेगावाट जडित क्षमताका जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसले आन्तरिक विद्युत् उत्पादनमा प्रत्यक्ष असर पारेको छ । हिमबाढीका कारण प्रभावित आयोजनाहरूबाट विद्युत् उत्पादन हुन नसक्दा हिउँदयाममा उपलब्ध हुने आन्तरिक विद्युत्को परिमाण घट्ने देखिएको छ । सामान्य अवस्थामा पनि नदीमा पानीको बहाव घट्ने भएकाले हिउँदमा जलविद्युत् उत्पादन कम हुने गर्छ । त्यसैमाथि प्राकृतिक विपद्का कारण आयोजनाहरू प्रभावित भएपछि यस वर्ष विद्युत् आपूर्ति व्यवस्थापन थप जटिल बन्ने आकलन गरिएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले हिमबाढीबाट जलविद्युत् आयोजना र प्रसारण संरचनामा पुगेको क्षतिसहित समग्र अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको जानकारी दिए । भारतबाट विद्युत् आयातको अनुमति प्राप्त हुनु पनि यही तयारीको एउटा महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ छ । प्राधिकरणले गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरेको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान गरेको छ । ती चार महिनामा देशभित्रको उत्पादनले माग धान्न नसक्ने भएकाले भारतबाट विद्युत् आयात गरेर आपूर्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ । विशेषगरी माघ र फागुनमा विद्युत् अभाव बढी हुने प्राधिकरणको अनुमान छ । यी दुई महिनामा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् निरन्तर आयात गर्नुपर्ने अवस्था आउन सक्नेछ । त्यस्तै, विद्युत्को माग उच्च हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ ।

पिक आवरमा विद्युत् खपत अत्यधिक हुने भएकाले सो समयमा माग र आपूर्तिबीचको अन्तर व्यवस्थापन गर्नु प्राधिकरणका लागि चुनौतीपूर्ण हुने देखिएको छ । बिहान र साँझको समयमा घरायसी तथा औद्योगिक प्रयोजनका लागि विद्युत् खपत बढ्ने गर्छ । यस्तो समयमा आन्तरिक उत्पादनले माग धान्न नसके भारतबाट थप विद्युत् खरिद गर्नुपर्ने हुन्छ । तर, भारतले दिएको अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म आईईएक्सबाट विद्युत् आयात गर्न पाइने छैन । त्यसैले पिक आवरको माग व्यवस्थापनका लागि प्राधिकरणले अन्य उपलब्ध स्रोत, सम्झौता तथा उत्पादनको अवस्थालाई समेत ध्यान दिनुपर्नेछ । पुस र चैत महिनामा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने प्राधिकरणको आकलन छ । माघ र फागुनको तुलनामा यी महिनामा विद्युत् माग र उत्पादनबीचको अन्तर कम हुने अनुमान गरिएको छ । नदीमा पानीको बहाव, जलविद्युत् आयोजनाको उत्पादन क्षमता र दैनिक खपतको अवस्थाले आयातको परिमाण निर्धारण गर्नेछ । आगामी वैशाखदेखि भने नेपालको विद्युत् उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ । वैशाख लागेसँगै हिमाल तथा पहाडी क्षेत्रका नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले जलविद्युत् आयोजनाको उत्पादन पनि वृद्धि हुनेछ । त्यसपछि आन्तरिक उत्पादनले घरेलु माग धान्ने मात्र नभई अतिरिक्त विद्युत् उत्पादन हुने अवस्था सिर्जना हुने प्राधिकरणको अनुमान छ ।

आन्तरिक उत्पादन बढ्दै गएपछि भारतबाट विद्युत् आयात क्रमशः घटाउँदै लैजाने र आवश्यकताभन्दा बढी उत्पादन भएको विद्युत् निर्यात गर्ने योजना प्राधिकरणको छ । यसरी आगामी वर्षायाम सुरु भएसँगै नेपाल पुनः विद्युत् निर्यात गर्ने अवस्थामा पुग्ने अपेक्षा गरिएको छ । यसैबीच नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) मा बिक्री गर्न पनि अनुमति प्राप्त गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आयातसँगै निर्यातका लागि समेत अनुमति दिएपछि नेपालले आन्तरिक उत्पादनको अवस्था अनुकूल हुँदा भारतीय बजारमा विद्युत् बिक्री गर्न सक्नेछ । प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म तीनवटा आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गर्न पाउनेछ । यसले हिउँदयाममा भारतबाट विद्युत् खरिद गर्नुपर्ने भए पनि उत्पादन बढ्ने समयदेखि भारतमा विद्युत् बिक्री गर्ने नेपालको रणनीतिलाई निरन्तरता दिनेछ । नेपालले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् भारतमा बिक्री गर्दै आएको छ । नदीमा पानीको बहाव बढ्दा जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुने र घरेलु मागभन्दा बढी विद्युत् उत्पादन हुने भएकाले निर्यात सम्भव हुने गरेको छ । तर, हिउँदमा नदीको बहाव घट्दा उत्पादन कम हुने र विद्युत् माग बढ्ने भएकाले भारतबाट आयात गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

नेपालको विद्युत् प्रणालीमा मौसमी उत्पादन र मागबीच ठूलो अन्तर रहने गरेको छ । वर्षायाममा विद्युत् बढी हुने तर हिउँदमा उत्पादन घट्ने समस्या समाधान गर्न भारतसँगको विद्युत् व्यापार महत्त्वपूर्ण माध्यम बन्दै गएको छ । भारतीय ऊर्जा विनिमय बजारबाट प्रतिस्पर्धी मूल्यमा विद्युत् खरिद तथा बिक्री गर्न पाउने व्यवस्थाले प्राधिकरणलाई आवश्यकताअनुसार ऊर्जा व्यवस्थापन गर्न सहयोग पुग्नेछ । यद्यपि भारतबाट प्राप्त ३५० मेगावाट आयात अनुमतिले मात्रै आगामी हिउँदयामको सम्पूर्ण विद्युत् माग व्यवस्थापन हुने अवस्था भने छैन । प्राधिकरणकै प्रक्षेपणअनुसार माघ र फागुनमा पिक आवरका बेला ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने हुन सक्छ । त्यसैले अनुमति प्राप्त क्षमताको प्रभावकारी उपयोग, आन्तरिक उत्पादनको अधिकतम परिचालन र अन्य उपलब्ध स्रोतको व्यवस्थापन आवश्यक हुनेछ ।

हिमबाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण संरचनाको पुनःस्थापना पनि विद्युत् आपूर्ति सहज बनाउने अर्को महत्त्वपूर्ण पक्ष हुनेछ । प्रभावित आयोजनाहरू पुनः सञ्चालनमा आउन सके आन्तरिक उत्पादनमा वृद्धि भई आयातको चाप कम हुनेछ । यसरी एकातिर ४३१ मेगावाट जडित क्षमताका आयोजना प्रभावित हुँदा हिउँदमा विद्युत् अभावको जोखिम बढेको छ भने अर्कोतिर भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति प्राप्त भएको छ । आगामी चार महिनाको विद्युत् माग व्यवस्थापन गर्दै वर्षायाममा पुनः निर्यात सुरु गर्ने लक्ष्यसहित प्राधिकरणले तयारी अघि बढाएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।