ओलीको चेतावनी : प्रमाण भए पक्राउ गर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने धम्की दिएको आरोप लगाएका छन् ।

राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने भन्दै सार्वजनिक रूपमा धम्की दिनु गैरजिम्मेवारपूर्ण व्यवहार भएको भन्दै उनले सरकार र प्रहरी नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफू, देउवा र प्रचण्डलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । आईजीपी जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले राजनीतिक नेतृत्वलाई लक्षित गरेर यसरी बोल्नु उचित नभएको उनको भनाइ थियो । ओलीले आईजीपी नियुक्त भएको केही समयमै आफूहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिनु सामान्य विषय नभएको बताए । उनले आफू, देउवा र प्रचण्डलाई पक्राउ गर्ने धम्की दिएर मजाकको पात्र बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

‘आज एउटा आतंकपूर्ण, त्रासमय आईजीपी, आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोलाइ त्यस्तो हुन्छ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् इनका? थुन्दिन्छु रे?’ उनले प्रश्न गरे । आफूहरू लामो राजनीतिक संघर्षबाट स्थापित भएको उल्लेख गर्दै ओलीले राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन चेतावनी दिए । राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको नेतृत्वलाई कुनै पदमा पुगेका व्यक्तिले धम्की दिन नसुहाउने उनको भनाइ थियो । उनले आफूहरू देशमा राजनीतिक परिवर्तनका लागि लामो समयदेखि संघर्ष गर्दै आएको बताउँदै अहिलेको नेतृत्व र सुरक्षाप्रशासनले त्यसको इतिहासलाई बेवास्ता गर्न नहुने बताए । राजनीतिक आन्दोलनमा ज्यानको बाजी थापेर हिँडेका व्यक्तिहरूलाई पक्राउ गर्ने धम्की दिनु ठट्टाको विषय नभएको उनले टिप्पणी गरे ।

‘हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु, ठट्टा मजाक गर्‍या हो? तिनी जन्मिनभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ । मजाक गर्ने हामीमाथि?’ ओलीले भने । यद्यपि, कसैले अपराध गरेको प्रमाण भेटिएमा कानुनअनुसार कारबाही गर्न आफूहरूको कुनै आपत्ति नरहेको उनले स्पष्ट पारे । प्रमाणका आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि पक्राउ गर्ने भन्दै धम्की दिने शैली स्वीकार्य नहुने उनको भनाइ थियो ।

ओलीले गृहमन्त्री सुदन गुरुङले विभिन्न फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंगसमेत उठाए । सरकारले सबैलाई पक्राउ गर्ने हो भने त्यसको दायरामा को–को पर्ने भन्ने प्रश्न गर्दै उनले गृहमन्त्रीलाई नै लक्षित गरेर व्यंग्य गरे । ‘गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दै छु, पर्खिनुस् सब थुनिन्छन्, १०१ थुनिन्छन् । कसलाई भन्या हो? अब सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा?’ ओलीले भने । उनले अपराधमा संलग्न भएको प्रमाण भेटिएमा आफूहरू पनि कानुनी कारबाहीको भागीदार हुनुपर्ने स्वीकार गरे । तर, कसलाई पक्राउ गर्ने भन्ने विषय व्यक्तिको बोली र राजनीतिक आग्रहका आधारमा नभई प्रमाण र कानुनका आधारमा तय हुनुपर्ने उनको तर्क थियो ।

‘प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम गरेको प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि,’ उनले भने । अध्यक्ष ओलीले नेकपा एमाले कसैको धम्की र आतंकबाट नडराउने पार्टी भएको दाबी गरे । सरकारले राजनीतिक प्रतिशोधका आधारमा कसैलाई लक्षित गर्ने प्रयास गरे त्यसको प्रतिवाद गर्ने संकेतसमेत उनले दिए । गृहमन्त्री गुरुङविरुद्ध पनि विभिन्न प्रमाणहरू रहेको उल्लेख गर्दै ओलीले सरकारले निष्पक्ष रूपमा कानुन कार्यान्वयन गर्नुपर्ने बताए । उनको सम्बोधनमा सरकारले पछिल्लो समय अघि बढाइरहेको अनुसन्धान, फाइल खोल्ने र पक्राउ गर्ने चेतावनीप्रति असन्तुष्टि देखिएको थियो । राजनीतिक नेतृत्वमाथि अनुसन्धान हुन नहुने नभई अनुसन्धानको नाममा धम्की र त्रास सिर्जना गर्ने काम गर्न नहुने उनको जोड थियो । ओलीले राजनीतिक परिवर्तनका लागि संघर्ष गरेको इतिहासलाई स्मरण गराउँदै राज्यका जिम्मेवार निकायले संयमित र जिम्मेवार अभिव्यक्ति दिनुपर्ने बताए । अपराध गरेको प्रमाण भए कानुनी प्रक्रियाबाट अघि बढ्न सरकारलाई चुनौती दिँदै उनले पक्राउ गर्ने धम्की दिएर राजनीतिक नेतृत्वलाई कमजोर बनाउने प्रयास सफल नहुने चेतावनी दिए ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।