२४ वर्षदेखि बन्द वीरगञ्ज चिनी कारखाना खोल्न १ अर्ब १८ करोड आवश्यक

काठमाडौं । २४ वर्षदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउन पहिलो वर्ष १ अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने सरकारी कार्यदलले अनुमान गरेको छ । कारखानाको उत्पादन क्षमता दोब्बर बनाएर आधुनिक प्रविधिसहित सञ्चालन गर्ने विकल्प अघि सार्दै कार्यदलले पुनः सञ्चालनका लागि प्राविधिक, आर्थिक, कानुनी र व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको वीरगञ्ज चिनी कारखाना लिमिटेडको अध्ययन कार्यदलले कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनका विभिन्न विकल्पसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । प्रतिवेदनमा कारखानालाई पुरानै क्षमतामा सञ्चालन गर्ने, प्रविधि सुधार गर्ने, उत्पादन क्षमता विस्तार गर्ने र सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने गरी चारवटा विकल्प प्रस्तुत गरिएको छ । कार्यदलको अध्ययनअनुसार कारखानालाई पुरानै दैनिक १ हजार ५०० मेट्रिक टन उखु पेल्ने क्षमतामा मर्मत गरेर सञ्चालन गर्दा पहिलो वर्ष करिब ५५ करोड रुपैयाँ आवश्यक पर्नेछ । तर, उत्पादन क्षमता बढाएर दैनिक ३ हजार मेट्रिक टन पु¥याउने र आधुनिक प्रविधिसहित सञ्चालन गर्ने विकल्पमा पहिलो वर्ष १ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमध्ये करिब ९५ करोड रुपैयाँ पुँजीगत लगानी र २३ करोड रुपैयाँ पहिलो वर्षको सञ्चालन खर्चका रूपमा आवश्यक पर्ने कार्यदलको आकलन छ ।

मन्त्रालयका मेकानिकल इन्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले कारखानाको प्राविधिक अवस्था, सम्पत्ति, जग्गा, कर्मचारीको दायित्व, कानुनी जटिलता र सम्भावित लगानीका विषयमा अध्ययन गरेको थियो । गत भदौ १ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन गरिएको थियो । कार्यदलमा मन्त्रालयका दुई मेकानिकल इन्जिनियर र प्रशासनतर्फका दुई अधिकृत सदस्य थिए । वीरगञ्ज चिनी कारखाना लामो समयदेखि बन्द रहनुमा अत्यधिक जनशक्ति, पुराना मेसिन, उखुजस्ता कच्चा पदार्थको अभाव तथा अनियन्त्रित प्रशासनिक खर्च प्रमुख कारणका रूपमा देखिएका थिए । सञ्चालन खर्चसमेत धान्न कठिन भएपछि सरकारले २०५९ सालमा कारखानालाई खारेजीमा लैजाने निर्णय गरेको थियो । तर, खारेजीको निर्णय भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि कम्पनी रजिस्ट्रारको कार्यालयमा कारखानाको कानुनी अस्तित्व कायमै रहेको छ । कार्यदलले पुनः सञ्चालनको प्रक्रिया अघि बढाउनुअघि कम्पनीको कानुनी अवस्थाबारे स्पष्ट निर्णय गर्नुपर्ने सुझाव दिएको छ । खारेजीमा लैजाने निर्णय भइसकेको कम्पनीको कानुनी हैसियत, बाँकी दायित्व र स्वामित्वसम्बन्धी विषय टुंगो नलगाई लगानी तथा सञ्चालनको निर्णय लिन उपयुक्त नहुने प्रतिवेदनमा उल्लेख छ । कम्पनीको कानुनी अवस्था स्पष्ट भएपछि मात्रै पुनः सञ्चालनको संस्थागत र व्यवस्थापकीय संरचना तयार गर्न सहज हुने कार्यदलको निष्कर्ष छ ।

कारखाना पुनः सञ्चालनको अर्को ठूलो चुनौती यसको प्राविधिक अवस्था हो । करिब छ दशक पुरानो प्रविधिमा आधारित मेसिन तथा उपकरण २४ वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् । लामो समयसम्म सञ्चालन नभएका कारण ती उपकरणको वास्तविक अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिन रहेको कार्यदलले जनाएको छ । कार्यदलले कारखानाको स्थलगत निरीक्षण गरे पनि बाहिरबाट हेरेकै आधारमा मेसिनको अवस्था निर्धारण गर्न नसकिने प्रतिवेदनमा उल्लेख गरेको छ । विशेषगरी बोइलर, टर्बाइन, विद्युतीय प्रणाली तथा उत्पादन प्रक्रियासँग सम्बन्धित मुख्य उपकरणको विस्तृत परीक्षण आवश्यक रहेको कार्यदलको भनाइ छ । उपकरणको अवस्था पत्ता लगाउन अल्ट्रासोनिक परीक्षण, धातुसम्बन्धी परीक्षण तथा विद्युतीय परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ । परीक्षणबाट प्राप्त नतिजाका आधारमा कुन उपकरण मर्मत गरेर प्रयोग गर्न सकिन्छ र कुन उपकरण पूर्ण रूपमा प्रतिस्थापन गर्नुपर्छ भन्ने निर्णय लिनुपर्नेछ । पुराना उपकरण किफायती लागतमा मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्था नरहेमा कार्यदलले प्रस्तुत गरेको लगानी अनुमानसमेत परिवर्तन हुन सक्ने देखिन्छ । मेसिनको वास्तविक अवस्था परीक्षण नगरी मर्मतपछि कारखाना सञ्चालन गर्न सकिन्छ भन्ने आधारमा गरिएको प्रारम्भिक अनुमानमा जोखिम रहेको छ । यदि मुख्य उपकरण प्रयोग गर्न नसकिने अवस्थामा भेटिएमा नयाँ मेसिन जडान गर्नुपर्ने हुन्छ । त्यसले कारखाना पुनः सञ्चालनको लागत उल्लेख्य रूपमा बढाउन सक्छ ।

कार्यदलले कारखानालाई पुरानै क्षमतामा सञ्चालन गर्नेबाहेक उत्पादन क्षमता विस्तार गरेर आधुनिक उद्योगका रूपमा विकास गर्नुपर्ने विकल्पलाई प्राथमिकतासहित अघि सारेको देखिन्छ । पुरानै प्रविधि र परम्परागत व्यवस्थापन प्रणालीबाट कारखाना दीर्घकालीन रूपमा आर्थिक रूपले टिकाउ हुन नसक्ने कार्यदलको निष्कर्ष छ । त्यसैले स्वचालित प्रविधि प्रयोग गर्ने, उत्पादन प्रक्रियालाई आधुनिक बनाउने र चिनीमा मात्र निर्भर नरहने गरी उद्योग सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । चिनी उत्पादनका क्रममा निस्कने उखुको खोस्टा र खुँदोको उपयोग गरेर अतिरिक्त आम्दानी गर्न सकिने सम्भावनालाई पनि प्रतिवेदनले महत्त्व दिएको छ । उखुको खोस्टाबाट विद्युत् उत्पादन गर्न सकिने तथा खुँदोबाट इथानोललगायत अन्य उत्पादन तयार गर्न सकिने कार्यदलको अध्ययनले देखाएको छ । यसरी चिनी उत्पादनसँगै सहायक उद्योग सञ्चालन गर्दा कारखानाको आम्दानीका स्रोत बढ्ने र उत्पादन लागत व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । क्षमता विस्तार गरेर दैनिक ३ हजार मेट्रिक टन उखु पेल्ने गरी कारखाना सञ्चालन गर्न सके वार्षिक करिब ३६ हजार मेट्रिक टन चिनी उत्पादन गर्न सकिने अनुमान गरिएको छ । त्यस्तै, वार्षिक करिब ४० लाख लिटर इथानोल उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । यसले चिनी उत्पादनमा मात्रै निर्भर रहनुपर्ने अवस्था अन्त्य गरी उद्योगलाई बहुआयामिक उत्पादन केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने कार्यदलको आकलन छ ।

तर, उत्पादन क्षमता विस्तार गर्न पर्याप्त उखुको उपलब्धता सुनिश्चित गर्नुपर्ने चुनौती पनि उत्तिकै छ । कारखाना सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ नियमित रूपमा उपलब्ध नभएमा आधुनिक प्रविधि र ठूलो क्षमतामा गरिएको लगानीको प्रतिफल प्राप्त गर्न कठिन हुनेछ । त्यसैले उखु खेती विस्तार, गुणस्तरीय बीउको उपलब्धता, किसानसँगको सहकार्य र उखुको नियमित आपूर्तिका लागि छुट्टै योजना बनाउनुपर्ने देखिन्छ । यसै सन्दर्भमा कार्यदलले सिमरास्थित कारखानाको पुरानो उखु फार्मको जग्गालाई उखु बीउ विकास केन्द्रका रूपमा प्रयोग गर्न सुझाव दिएको छ । प्रतिवेदनअनुसार उक्त फार्मको ८३५ बिघा जग्गामध्ये ८३२ बिघा २ कट्ठा १ धुरको मात्रै लालपुर्जा रहेको छ । उक्त जग्गा विशेष आर्थिक क्षेत्र (सेज) का लागि हस्तान्तरण भइसकेको र त्यहाँ संरचनासमेत निर्माण भइरहेका छन् । कारखाना पुनः सञ्चालनका लागि गुणस्तरीय उखुको बीउ उत्पादन तथा वितरण आवश्यक हुने भएकाले उक्त जग्गामध्ये करिब ४५० बिघा उखु बीउ विकासका लागि उपयोग गर्नुपर्ने कार्यदलको निष्कर्ष छ । तर, जग्गा विशेष आर्थिक क्षेत्रका लागि हस्तान्तरण भइसकेको अवस्थामा त्यसको उपयोग कसरी गर्ने भन्ने विषयमा सरकारले स्पष्ट निर्णय लिनुपर्ने सुझाव दिइएको छ । उखु खेतीको विस्तार र उत्पादन सुनिश्चित नगरी कारखानाको क्षमता बढाउनु व्यावहारिक नहुने कार्यदलको अध्ययनले संकेत गरेको छ ।

कारखानाको सम्पत्ति व्यवस्थापन पनि पुनः सञ्चालनको अर्को जटिल पक्षका रूपमा देखिएको छ । वीरगञ्ज, सिमरा र काठमाडौंमा कारखानाको जग्गा तथा अन्य सम्पत्ति भए पनि तिनको स्वामित्व, वास्तविक अवस्था, प्रयोग र मूल्यांकनसम्बन्धी विषय स्पष्ट छैनन् । कागजातमा सम्पत्ति देखिए पनि व्यवहारमा त्यसको उपयोगिता सीमित रहेको कार्यदलको अध्ययनले देखाएको छ । कतिपय सम्पत्तिको अवस्था र उपयोगबारे स्पष्ट जानकारी नभएकाले तिनको वास्तविक मूल्यांकन गरी अभिलेख अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।त्यस्तै, कारखानाका पुराना कर्मचारीसँग सम्बन्धित आर्थिक दायित्वसमेत अझै टुंगिएको छैन ।

पूर्वकर्मचारीको उपदान, सञ्चित बिदा, बीमा तथा कल्याणकारी कोषलगायतका विषयमा दायित्व बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । १८५ जना पूर्वकर्मचारीले तलबभत्ता तथा क्षतिपूर्तिको माग गर्दै आएका छन् । कारखाना पुनः सञ्चालन गर्ने निर्णय गर्नुअघि यी दायित्वको यकिन हिसाब गरी भुक्तानी तथा व्यवस्थापनको स्पष्ट योजना बनाउनुपर्ने देखिन्छ । कार्यदलले सार्वजनिक–निजी साझेदारीलाई पनि कारखाना सञ्चालनको सम्भावित विकल्पका रूपमा प्रस्तुत गरेको छ । यस विकल्पअनुसार कारखानाको स्वामित्व सरकारसँगै रहने गरी निजी क्षेत्रलाई २५ देखि ३० वर्षसम्म सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन सकिनेछ । निजी क्षेत्रले आवश्यक लगानी, आधुनिक प्रविधि र व्यवस्थापकीय दक्षता उपलब्ध गराउने तथा सरकारले स्वामित्व र नियमनको भूमिका निर्वाह गर्ने मोडेल उपयुक्त हुन सक्ने कार्यदलको सुझाव छ । सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्दा सरकारले मात्रै ठूलो रकम लगानी गर्नुपर्ने अवस्था कम हुने र निजी क्षेत्रको व्यावसायिक दक्षताबाट उद्योगलाई प्रतिस्पर्धी बनाउन सकिने अपेक्षा गरिएको छ । यसबाट किसानले उखुको उचित मूल्य पाउने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र स्वदेशी चिनी उत्पादन वृद्धि हुने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, निजी क्षेत्रसँगको साझेदारी गर्दा लगानी, नाफा बाँडफाँट, सञ्चालन अवधि, सरकारको नियमनकारी भूमिका र सम्पत्तिको सुरक्षासम्बन्धी विषय स्पष्ट पार्नुपर्नेछ ।

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको विषय नयाँ भने होइन । यसअघि पनि विभिन्न समयमा कारखाना सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन तथा छलफल हुँदै आएका थिए । तर, ठोस निर्णय, लगानीको सुनिश्चितता र व्यवस्थापकीय तयारी अभावका कारण ती प्रयास कार्यान्वयनमा जान सकेका छैनन् । यसपटकको कार्यदलले पनि पुनः सञ्चालनको सम्भावना देखाएसँगै त्यसका लागि आवश्यक पूर्वसर्त र चुनौतीलाई प्रतिवेदनमा औँल्याएको छ । कारखानाको जग्गा तथा अन्य स्थिर सम्पत्तिको अवस्था कमजोर हुँदै जानु अर्को जोखिम हो । लामो समयदेखि प्रयोगविहीन रहेको सम्पत्तिको संरक्षण र व्यवस्थापन हुन नसक्दा पुनः सञ्चालनका लागि आवश्यक संरचना उपलब्ध नहुन सक्ने अवस्था छ । कतिपय संरचना जीर्ण भइसकेका वा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका हुन सक्छन् । यदि पुराना संरचना र उपकरण प्रयोग गर्न नसकिने भएमा नयाँ उद्योग स्थापना गरेसरह लगानी गर्नुपर्ने अवस्था आउन सक्छ ।

त्यसले पुनः सञ्चालनको लागत र समय दुवै बढाउनेछ । त्यसैले कार्यदलले अघि सारेका विकल्पमध्ये कुन मोडेल उपयुक्त हुन्छ भन्ने निर्णय गर्नुअघि प्राविधिक परीक्षण, सम्पत्तिको मूल्यांकन, कानुनी दायित्वको निरूपण र उखुको आपूर्ति सुनिश्चित गर्नुपर्ने देखिन्छ । पहिलो वर्ष १ अर्ब १८ करोड रुपैयाँ लगानी गरेर क्षमता विस्तारसहित सञ्चालन गर्ने योजना आकर्षक देखिए पनि त्यसको व्यावसायिक सम्भाव्यता र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्नु आवश्यक छ । सरकारले अब प्रतिवेदनका सुझावका आधारमा कारखानाको भविष्यबारे नीतिगत निर्णय लिनुपर्नेछ । पुरानै क्षमतामा मर्मत गरेर सञ्चालन गर्ने, आधुनिक प्रविधिसहित क्षमता दोब्बर बनाउने वा निजी क्षेत्रसँग साझेदारी गर्ने विकल्पमध्ये कुन बाटो रोजिन्छ भन्ने विषयले नै वीरगञ्ज चिनी कारखानाको पुनर्जीवनको दिशा तय गर्नेछ । तर, प्राविधिक अवस्था, जग्गा, कर्मचारीको दायित्व र कच्चा पदार्थको समस्या समाधान नगरी पुनः सञ्चालनको निर्णय मात्रै गरेमा विगतका समस्या दोहोरिने जोखिम कायमै रहनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।