राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता र कर्मचारी सम्मानित

काठमाडौं ।  कर, न्याय र सुशासनको सुनिश्चितता स् समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मनाइएको राष्ट्रिय कर सप्ताह २०८३ को समापन गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले आयोजना गरेको समापन समारोहमा उत्कृष्ट करदाता तथा कर्मचारीलाई सम्मान गरिएको हो । कार्यालयले मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय कर सप्ताह मनाएको थियो । सप्ताहव्यापी कार्यक्रममा कर प्रशासनका प्रतिनिधि, करदाता, व्यवसायी, उद्योगी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

समापन समारोहमा आर्थिक वर्ष २०८१ र८२ मा यस कार्यालयअन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडलाई सम्मान गरिएको छ ।त्यस्तै सेवा प्रदायकतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रूपमा नेपाल नागरिक स्टक डिलर कम्पनी लिमिटेड र ट्रेडिङ व्यवसायीतर्फ मारोन ट्रेडिङ प्रालिलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।आन्तरिक राजस्व विभागबाट उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरकी नायब सुब्बा निर्मला तिमिल्सिनालाई पनि कार्यालयका तर्फबाट सम्मान गरिएको छ ।

समापन समारोहमा सुन, चाँदी तथा बहुमूल्य धातुको कारोबार गर्ने करदाताका लागि करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।सम्मानित अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका तर्फबाट वित्त व्यवस्थापक उमेश ढुंगेलले सम्मानले आफूहरूलाई उत्साहित बनाएको बताए । करदाता राष्ट्र निर्माणको मेरुदण्ड भएकाले इमानदारीपूर्वक कर दाखिला गरी राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरका प्रमुख रमेश शर्माले कर कार्यालय सधैँ करदाताको सहजकर्ताका रूपमा रहने बताए । उनले व्यावसायिक समस्या सकेसम्म कार्यालयस्तरबाटै समाधान गर्ने तथा नीतिगत विषयमा विभाग र मन्त्रालयसँग समन्वय गरी व्यवसायीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । करदाताका गुनासा सुनुवाइमार्फत कार्यालय करदाताको हितमा सधैँ प्रतिबद्ध रहने शर्माले बताए । उनले सम्मानित करदाता तथा कर्मचारीलाई व्यावसायिक सफलताको शुभकामनासमेत दिए ।