प्रधानमन्त्रीको भारत भ्रमण

हवाई रुटमा ब्रेक–थ्रु, अनुदान र ऋणसँगै क्रिकेटमा लगानी समझदारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फ सञ्चालन गर्ने सहमति भएको छ ।

लामो समयदेखि एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदै आएको बी३४५ हवाई रुटलाई अब द्विदिशात्मक बनाउने विषयमा दुई देशबीच समझदारी बनेको हो । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै देशका नेताहरूले नागरिक उड्डयन क्षेत्रका विषयमा भइरहेको छलफललाई सकारात्मक रूपमा लिएको उल्लेख छ । हवाई सम्पर्क विस्तार तथा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित बी३४५ काठमाडौं–भैरहवा–लखनउ रुटलाई द्विपक्षीय अर्थात् दुवैतर्फ सञ्चालनयोग्य बनाउने सहमति भएको वक्तव्यमा जनाइएको छ ।

यस सहमतिसँगै अब भारतको लखनउबाट भैरहवा हुँदै काठमाडौं प्रवेश गर्ने हवाई उडानका लागि समेत उक्त रुट प्रयोग गर्ने बाटो खुल्नेछ । हालसम्म यो रुट नेपालबाट भारततर्फ जाने विमानका लागि मात्रै उपलब्ध थियो । अब भारतबाट नेपालतर्फ आउने उडानले पनि यही हवाई मार्ग प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने सहमति भएको हो । यद्यपि, सहमति तत्कालै कार्यान्वयनमा आउने भने यसका लागि दुवै देशका प्राविधिक अधिकारीबीच थप परामर्श हुनेछ । संयुक्त वक्तव्यमा प्राविधिक परामर्शमार्फत रुट सञ्चालनका आवश्यक प्रक्रिया, कार्यविधि तथा अन्य प्राविधिक पक्ष टुंगो लगाइने उल्लेख छ । साथै, दुवै देशबीच छलफलमा रहेका नागरिक उड्डयन क्षेत्रका अन्य प्रस्तावलाई समेत यही प्रक्रियामार्फत अघि बढाइने भएको छ ।

नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको माग रहँदै आएको छ । हाल पश्चिमबाट नेपाल प्रवेश गर्ने धेरै अन्तर्राष्ट्रिय उडानले सिमरा हुँदै नेपाली आकाशमा प्रवेश गर्नुपर्ने बाध्यता छ । यसले पश्चिम नेपालतर्फका विमानस्थलमा अवतरण गर्ने उडानलाई लामो दूरी तय गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । भैरहवा विमानस्थलका लागि पश्चिमतर्फबाट आउने विमानले पूर्वतर्फ घुमेर पुनः पश्चिम फर्किनुपर्ने भएकाले उडान दूरी, समय र इन्धन खर्च बढ्ने गरेको छ ।

त्यस्तै भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यसबारे जानकारी गराइएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २ खर्ब ४० अर्ब आर्थिक सहयोगको प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निमाणका लागि ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली अनुदान छुट्टयाइएको हो । बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात् १ खर्ब ८४ रुपैयाँ लाइनअफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत दिइने विज्ञप्तिमा उल्लेख छ । नेपालले १ खर्ब भारु अनुदान र थप १ खर्ब ऋण सहयोग उपलब्ध गराउन भारतलाई अनुरोध गरेको थियो ।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले आठवटा विषयमा समझदारी भएको हो । समझदारीमा शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालन विकासका विषय समेटिएका छन् । समझदारीअनुसार भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुनेछ । यसले अपराध अनुसन्धान र फरेन्सिक विज्ञानसम्बन्धी ज्ञान, सीप तथा प्रविधिको आदानप्रदानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच सुरक्षा तथा प्रहरी प्रशिक्षणका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । यसअन्तर्गत दुवै देशका सुरक्षा निकायबीच तालिम, अनुभव आदानप्रदान र संस्थागत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।

निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि पनि दुई देशबीच समझदारी भएको छ । भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गत रहेको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसले नेपालको निजामती प्रशासनलाई थप सक्षम, प्रभावकारी र सेवामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारी कर्मचारीको नेतृत्व विकास, प्रशासनिक दक्षता र सुशासनसम्बन्धी ज्ञान अभिवृद्धिमा यस सहकार्यले भूमिका खेल्नेछ ।

त्यसैगरी, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न नेपाल र भारत सरकारबीच समझदारी भएको छ । दुवै देशमा प्रचलित परम्परागत उपचार पद्धति, अनुसन्धान, ज्ञान तथा अनुभव आदानप्रदानका लागि यसले आधार तयार गर्नेछ । दुई देशबीच अन्तरिक्ष प्रविधि र सञ्चारको क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने सहमति भएको छ । भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्ने विषयमा समझदारी भएको हो ।

यस सहकार्यले स्याटेलाइट प्रविधिमार्फत सञ्चार सेवा विस्तार गर्न तथा दुर्गम क्षेत्रसम्म सञ्चार पहुँच पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी भौगोलिक विकटताका कारण सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रका लागि यो सहकार्य महत्त्वपूर्ण हुन सक्नेछ । दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने विषयमा पनि नेपाल र भारतबीच समझदारी भएको छ । सहरी पूर्वाधार विकास, योजनाबद्ध सहरीकरण र दिगो विकासका क्षेत्रमा दुवै देशले अनुभव तथा प्राविधिक ज्ञान आदानप्रदान गर्नेछन् । स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सहकार्यलाई पनि समझदारीमा प्राथमिकता दिइएको छ । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसले स्वास्थ्य सेवा, चिकित्सा क्षेत्रको अनुभव आदानप्रदान र संस्थागत सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, पशुपालन तथा मत्स्यपालन विकासका क्षेत्रमा सहकार्य गर्न पनि दुवै देश सहमत भएका छन् । कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्रलाई बलियो बनाउने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा यस क्षेत्रको विकासका लागि प्राविधिक सहयोग र अनुभव आदानप्रदान गर्ने उद्देश्य यस समझदारीमा समेटिएको छ । नेपाल र भारतबीच भएका यी आठवटा समझदारीले दुई देशबीचको सहकार्यलाई परम्परागत क्षेत्रभन्दा बाहिर शिक्षा, प्रविधि, सुरक्षा, स्वास्थ्य र आर्थिक विकाससम्म विस्तार गर्ने संकेत गरेको छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएका यी समझदारी कार्यान्वयनमा आएमा नेपालले विभिन्न क्षेत्रमा भारतीय प्राविधिक तथा संस्थागत सहयोग प्राप्त गर्न सक्नेछ । विशेषगरी फरेन्सिक अनुसन्धान, प्रहरी तालिम, प्रशासनिक क्षमता विकास र स्याटेलाइट सञ्चारजस्ता क्षेत्रमा हुने सहकार्यलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।