नेपाल–भारत संयुक्त प्रेस विज्ञप्तिमा के छ ? (पूर्णपाठ)

१. भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहले २२–२३ नोभेम्बर २०२६ मा भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभयो । उहाँको साथमा एक उच्चस्तरीय आधिकारिक प्रतिनिधिमण्डल सहभागी थियो । पदभार ग्रहण गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहको यो पहिलो भारत भ्रमण हो ।

२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मानका साथ स्वागत गरियो । उहाँले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रधानमन्त्री शाहले भारतकी सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो । विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभयो ।

३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो । दुई नेताहरूबिचको छलफलमा द्विपक्षीय सहयोगका प्रमुख क्षेत्रहरू, पारस्परिक हितका क्षेत्रीय मुद्दाहरूका साथै विश्वव्यापी घटनाक्रमहरू समेटिएका थिए ।

४. नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछिको अवस्थामा भारतले पुर्‍याएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभयो ।

५. प्रधानमन्त्री मोदीले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता पुनः दोहोर्‍याउनुभयो । भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ (२४ हजार करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउनेछ, जसमा नेपालको विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनाहरूका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ (५ हजार ६०० करोड नेपाली रुपैयाँ) अनुदान सहायता तथा ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ (१८ हजार ४०० करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) समावेश छ । विकास सहायता उपलब्ध गराउने विशिष्ट आयोजना तथा कार्यविधिहरू पारस्परिक परामर्शमार्फत अन्तिम रूप दिइनेछ ।

६. दुवै नेताले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) लगायत नेपालमा सञ्चालित विकास आयोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँहरूले भारत सरकारको सहयोगमा नेपालमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्यमा हासिल भएको प्रगतिको सराहना गर्नुभयो । दुवै नेताले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको पनि स्वागत गर्नुभयो ।

७. दुई नेताले ‘विकसित भारत र समुन्नत नेपाल’को संयुक्त दृष्टिकोण (ज्वाइन्ट भिजन) पारित गर्नुभयो । यस संयुक्त दृष्टिकोण पत्रले भारत र नेपालबिचको महत्वाकांक्षी र भविष्योन्मुख साझेदारीको मार्गचित्र प्रदान गर्दछ । यसमा आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता द्विपक्षीय सहयोगका परम्परागत बलिया क्षेत्रहरूलाई अभिवृद्धि गर्नुका साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्ट–अप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका पहलहरू समेटिएका छन् ।

८. नेताहरूले कनेक्टिभिटी बढाउने र द्विपक्षीय आर्थिक संलग्नतालाई गति दिने उद्देश्यले नागरिक उड्डयनका विषयमा भइरहेका छलफलहरूको स्मरण गर्नुभयो । दुवै पक्ष विद्यमान एकतर्फी ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दोहोरो बनाउन सहमत भएका छन् । यस सम्बन्धमा कार्यविधि अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।

९. प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ कनेक्टिभिटी मार्गको घोषणा गर्नुभयो । यसका साथै, आवश्यक पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाह (ओडिशा) मा समेत पहुँच उपलब्ध गराइनेछ ।

१०. दुई नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइनहरूको स्थापनामार्फत सीमापार कनेक्टिभिटी सुधार गर्ने र सीमा पूर्वाधार सुदृढ बनाउने महत्वमा जोड दिनुभयो ।

११. दुई प्रधानमन्त्रीले अयोध्या र जनकपुरबिच उद्घाटन स्वरूप ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको झन्डा देखाएर शुभारम्भ गर्नुभयो । यस रेल सेवाले कनेक्टिभिटीमा सुधार ल्याउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्नेछ र भारत तथा नेपालबिचको सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउनेछ । नेताहरू बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटहरू विकास गर्न यस्तै किसिमका सञ्जालहरूको सम्भावना खोज्न सहमत हुनुभयो ।

१२. दुई नेताले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्भे’ सम्पन्न भएको घोषणा गर्नुभयो र नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो ।

१३. दुई नेताले वनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो र भैरहवा, सुनौली तथा दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीहरूको प्रगतिप्रति स्वागत व्यक्त गर्नुभयो । भारत र नेपालबिच ३ वटा आईसीपीहरू यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

१४. नेताहरूद्वारा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने नयाँ सीमापार मोटरयोग्य पुलको उद्घाटन गरियो । यसले सुदूरपश्चिम नेपाल र भारतबिचको प्रत्यक्ष कनेक्टिभिटी सुधार गर्न मद्दत पुर्‍याउनेछ ।

१५. नेताहरूले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो र बाँकी रहेका सीमासम्बन्धी मुद्दाहरूमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो ।

१६. भारत र नेपालबिच सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा नेताहरूले मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गर्नुभयो । दुई नेताले नेपालको झापामा पेट्रोलियम टर्मिनल विकासका लागि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुका साथै सिलिगुडी र झापाबिचको पेट्रोलियम पाइपलाइनको काम छिटो सुरु गर्नुपर्ने महत्वमा जोड दिनुभयो । दुवै पक्ष भारत र नेपालबिच ग्यास पाइपलाइन निर्माणमा सहकार्यको सम्भावना खोज्न सहमत भएका छन् ।

१७. ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण पत्र र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरे । नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गर्दै दुवै पक्षले भारतीय कम्पनीहरूद्वारा नेपालमा विकास भइरहेका विभिन्न जलविद्युत् आयोजनाहरू शीघ्र सम्पन्न गर्ने कुरा सुनिश्चित गर्न सहमत भए । यसै अवसरमा दुई नेताले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो ।

१८. दुई नेताले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन र आयोजना कार्यान्वयनको काम सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई निर्देशन दिनुभयो। दुवै नेता पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि सहमत हुनुभयो ।

१९. दुवै पक्षले इनरुवा (नेपाल)–न्यु पूर्णिया (भारत) र दोदोधारा (नेपाल)–बरेली (भारत) बिच दुई उच्च क्षमताका सीमापार प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) गठन गर्ने सम्बन्धमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे ।

२०. नेपाललाई भारतको विकास तथा क्षमता अभिवृद्धि सहयोग विस्तार गर्ने क्रममा, भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को बाह्य (अफ–सोर) क्याम्पस स्थापना गर्ने विषयमा दुई नेता सहमत हुनुभयो । यसले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक प्रभाव पार्नुका साथै रोजगारी सिर्जनालाई समेत प्रवद्र्धन गर्नेछ । दुवै नेताले स्टार्ट–अप तथा डिजिटल र वित्तीय कनेक्टिभिटी लगायत प्रविधिको क्षेत्रमा भारत र नेपालबिच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो ।

२१. दुवै पक्षले एक अर्को देशमा बसोबास गर्ने नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चार लगायतका सेवाहरूमा सहज पहुँचका लागि पारस्परिक रूपमा सहजीकरण गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरे ।

२२. भ्रमणका क्रममा दुवै पक्षबिच निम्नलिखित समझदारीपत्र (एमओयू) आदानप्रदान गरिए :

१. भारतको गुजरातस्थित गान्धीनगरको नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र ।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बिच समझदारीपत्र ।
३. नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी भारत सरकारको प्रशासनिक सुधार तथा जनगुनासो विभागअन्तर्गतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबिच समझदारीपत्र ।
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबिच समझदारीपत्र ।
५. दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (स्याटकम) नेटवर्क स्थापनासम्बन्धी भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबिच समझदारीपत्र ।
६. दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबिच समझदारीपत्र ।
७. स्वास्थ्य तथा औषधिका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबिच समझदारीपत्र ।
८. पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबिच समझदारीपत्र ।

२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो र उहाँलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभयो । भारतीय प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गर्नुभएको छ, जसको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ ।

२४. भारत–नेपाल साझेदारी सबै तहमा गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा निर्माण भएको छ र बलियो जनस्तरको सम्बन्धका साथै घनिष्ठ आर्थिक तथा विकास सहकार्यले यसलाई अझ सुदृढ बनाएको छ । यस भ्रमणले दुई देशबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा र यसलाई अझ अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
२३ नोभेम्बर २०२६
नयाँदिल्ली ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।