रोकियो चिकित्सा शिक्षा भर्ना

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थी भर्ना प्रक्रिया अघि बढ्नै लाग्दा निजी मेडिकल कलेज सञ्चालक र चिकित्सा शिक्षा आयोगबीच सिट तथा शिक्षण शुल्कको विषयमा विवाद चर्किएको छ ।

आयोगले निर्धारण गरेको सिट र शुल्कमा विद्यार्थी भर्ना गर्न नसकिने भन्दै निजी मेडिकल कलेजहरूले नयाँ भर्ना प्रक्रिया रोक्ने घोषणा गरेपछि हजारौँ विद्यार्थी अन्योलमा परेका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षा २०२७ अन्तर्गत एमबीबीएस, बीएस्सी नर्सिङ, बी अप्टोमेट्रीलगायत कार्यक्रमको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा सार्वजनिक भएसँगै कलेज भर्नाको तयारीमा रहेका विद्यार्थी निजी मेडिकल कलेजको अडानका कारण प्रभावित भएका हुन् ।
निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सिट निर्धारण प्रक्रिया पारदर्शी नभएको र शिक्षण शुल्क पुनरावलोकन नगरिएको भन्दै स्नातक तथा स्नातकोत्तर तहमा नयाँ विद्यार्थी भर्ना लिन नसकिने जनाएको छ । एसोसिएसनले आयोगले सिट निर्धारणका लागि अपनाएको मापदण्ड, मूल्यांकन सूचक, प्रत्येक सूचकको भार र गणना विधि सार्वजनिक गर्न माग गरेको छ । गत असोज ३० गते आयोगले सिट निर्धारणसम्बन्धी सूचना जारी गरे पनि कुन आधारमा कलेजको सिट बढाइएको, यथावत् राखिएको वा कटौती गरिएको भन्ने स्पष्ट जानकारी नदिएको निजी कलेज सञ्चालकहरूको आरोप छ ।
प्रत्येक शिक्षण संस्थाको कलेज स्कोर कार्ड सार्वजनिक गर्नुपर्ने तथा भौतिक पूर्वाधार र जनशक्तिको अवस्थाको निष्पक्ष समीक्षा गर्नुपर्ने उनीहरूको माग छ । निजी मेडिकल कलेज सञ्चालकहरूको अर्को प्रमुख माग शिक्षण शुल्क वृद्धि हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ र नियमावली, २०७७ को नियम २३ मा शिक्षण संस्थाको वास्तविक लागत, सञ्चालन खर्च, मुद्रास्फीति, भौगोलिक अवस्था र छात्रवृत्तिको भारलाई ध्यानमा राखेर शुल्क निर्धारण तथा पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । तर, पछिल्लो पाँच वर्षमा मुद्रास्फीति करिब २६.६४ प्रतिशत पुगे पनि शिक्षण शुल्कमा सोहीअनुसार समायोजन नभएको निजी कलेजहरूको भनाइ छ । चिकित्सक, नर्स तथा अन्य कर्मचारीको पारिश्रमिक, विद्युत्, इन्धन, प्रयोगशाला उपकरण, विश्वविद्यालय शुल्क र अस्पताल सञ्चालन खर्च बढेको भन्दै उनीहरूले पुरानै शुल्कमा संस्था सञ्चालन गर्न कठिन भएको जिकिर गरेका छन् ।

त्यसैगरी छात्रवृत्ति, निःशुल्क शय्या र स्वास्थ्य शिविरलगायत सामाजिक उत्तरदायित्वका दायित्वसमेत पूरा गर्नुपर्ने भएकाले हाल कायम शुल्क र वास्तविक सञ्चालन लागतबीच ठूलो अन्तर रहेको उनीहरूको दाबी छ । यता, पछिल्ला वर्षमा एमबीबीएस अध्ययनका लागि सिट संख्या तीव्र रूपमा बढाइएको छ । शैक्षिक सत्र २०८१/८२ मा देशभर एमबीबीएसका दुई हजार १४० सिट रहेकामा गत वर्ष एकैपटक ४९५ सिट थपिएर दुई हजार ६३५ पुगेका थिए । यस वर्ष थप ११० सिट वृद्धि भएपछि कुल सिट संख्या दुई हजार ७४५ पुगेको छ । दुई वर्षमै एमबीबीएसका ६०५ सिट थपिएका हुन् । गत वर्ष निजी मेडिकल कलेज सञ्चालकहरूको मागअनुसार एमबीबीएसमा एउटा कलेजले पाउने अधिकतम सिट संख्या १०० बाट बढाएर १३० पुर्‍याइएको थियो ।

तर, चिकित्सा शिक्षामा सिट थप्ने निर्णय गर्दा कलेजहरूको मागभन्दा पनि देशको जनशक्ति आवश्यकतालाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ । चिकित्सा शिक्षा आयोगले २०८० सालमा सार्वजनिक गरेको ‘नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९–२०८७०’ प्रतिवेदनले सन् २०८७ सम्म नेपाललाई एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहका गरी ३२ हजार २१९ चिकित्सक आवश्यक पर्ने अनुमान गरेको थियो । तर, अहिले नै नेपालमा दर्ता भएका चिकित्सकको संख्या करिब ४३ हजार पुगिसकेको छ । विदेशिएका र सेवाबाट निवृत्त भएकाहरूलाई घटाउँदासमेत सक्रिय चिकित्सकको संख्या आवश्यकताभन्दा बढी हुन सक्ने देखिएको छ । यही दरमा चिकित्सक उत्पादन भइरहे सन् २०८७ सम्म दर्ता चिकित्सकको संख्या ५५ हजार नाघ्न सक्ने अनुमान छ । बीडीएसतर्फ पनि वार्षिक ६०० भन्दा बढी विद्यार्थी उत्पादन भइरहेका छन् ।

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका पूर्वअध्यक्ष केदारभक्त माथेमाले सिट र शुल्क निर्धारण कलेजहरूको बार्गेनिङका आधारमा हुन नहुने बताएका छन् । उनका अनुसार चिकित्सा शिक्षामा सिट थप्ने वा घटाउने निर्णय राष्ट्रिय आवश्यकताको विश्लेषण, गुणस्तर र उपलब्ध पूर्वाधारका आधारमा हुनुपर्छ । ‘बार्गेनिङ शुल्क र सिट संख्या निर्धारण हुनु गलत हो । तोकेको सिट र शुल्कमा विद्यार्थी भर्ना गर्दैनौँ भन्नु निजी मेडिकल कलेजको व्यावसायिक असहमति मात्रै हो कि चिकित्सा शिक्षा नियमन गर्ने राज्यको अधिकारमाथिकै चुनौती हो,’ उनले भने ।

निजी मेडिकल कलेज सञ्चालकहरू भने माग सम्बोधन नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउने अडानमा छन् । एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले आयोगले कलेज सञ्चालकसँग पर्याप्त छलफल नगरी सिट र शुल्क निर्धारण गरेको आरोप लगाए । महँगी, प्राध्यापक तथा कर्मचारीको तलब, बैंक ब्याजदर र सञ्चालन खर्च बढिसकेको अवस्थामा पुरानै शुल्कमा चिकित्सा शिक्षा सञ्चालन गर्न नसकिने उनको भनाइ छ । ‘राज्यले हाम्रो माग सम्बोधन गरेको दिनदेखि नै हामी पढाइ सुरु गर्न तयार छौँ,’ उनले भने ।

यद्यपि, चिकित्सा शिक्षा आयोगले भने यस वर्षका लागि शुल्क र सिट निर्धारण भइसकेकाले तत्काल नयाँ शुल्क लागू नहुने स्पष्ट पारेको छ । आयोगका सूचना अधिकारी अर्जुन ढकालले पुरानै शुल्कअनुसार भर्ना प्रक्रिया अघि बढ्ने बताए । आयोगले एमबीबीएसका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ शुल्क निर्धारण गरेको छ । बीडीएसका लागि २० लाख ९२ हजार २९० रुपैयाँ, बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ र बीएएएमएसका लागि ११ लाख ३१ हजार ९३० रुपैयाँ शुल्क कायम छ । आयोगले २०७७ माघ २९ र २०७८ जेठ २८ को निर्णयबाट शिक्षण शुल्क निर्धारण गरेको थियो । त्यसपछि २०७९ मंसिर १५ गते शुल्क समायोजन गरी एकीकृत शुल्क कायम गरिएको थियो । आयोग र निजी मेडिकल कलेजबीचको विवाद तत्काल समाधान नभए प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको भर्ना र शैक्षिक सत्र सञ्चालनसमेत प्रभावित हुने जोखिम बढेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।