कृषि बालीको उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ दशमलव ४३ प्रतिशत आर्थिक वृद्धि भएकामा गत आर्थिक वर्षमा वृद्धिदर घटेको हो ।

नेपाल राष्ट्र बैंकको उक्त वार्षिक प्रतिवेदनले गत आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेको, औद्योगिक क्षेत्रको क्षमता उपयोग कमजोर रहेको तथा आयात र निर्यात दुवैमा वृद्धि भएको देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा उपभोक्ताको मूल्यमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत र प्रचलित मूल्यमा ३ दशमलव ८६ प्रतिशत रहने अनुमान गरिएको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४ दशमलव ५ प्रतिशत, १३ दशमलव ७ प्रतिशत र ६१ दशमलव ८ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको ३६ दशमलव ७१ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४ दशमलव २ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्ता बालीले ढाकेको क्षेत्रफलसमेत १ दशमलव ५६ प्रतिशतले घटेको छ । तरकारी उत्पादनमा १ दशमलव ६७ प्रतिशत र फलफूल उत्पादनमा शून्य दशमलव २१ प्रतिशतले वृद्धि भएको छ भने मसला उत्पादन १ दशमलव ३४ प्रतिशतले घटेको छ । पशुजन्य उत्पादनतर्फ दूध उत्पादन ३ दशमलव ६४ प्रतिशतले बढेको छ । तर मासु उत्पादन शून्य दशमलव ०९ प्रतिशत र अण्डा उत्पादन ५ दशमलव ७७ प्रतिशतले घटेको छ । वनजन्य उत्पादनतर्फ दाउरा उत्पादनमा १९ दशमलव ७४ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादनमा ६५ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ भने काठ उत्पादन १ दशमलव ४० प्रतिशतले घटेको छ ।

औद्योगिक क्षमता उपयोग घट्यो

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वर्षमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो क्षमता उपयोग ५१ दशमलव ४३ प्रतिशत रहेको थियो । यसैगरी, २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा ३१ दशमलव ०२ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार उद्योगको क्षमता उपयोगमा आएको गिरावटले औद्योगिक उत्पादनका लागि उपलब्ध क्षमताको तुलनामा वास्तविक उत्पादन कम रहेको देखाएको छ ।

पर्यटक आगमन र यातायात दर्तामा वृद्धि

सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङख्या शून्य दशमलव ९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ । गत आर्थिक वर्षमा घर तथा भवनको नक्सापास सङख्या २ दशमलव ९८ प्रतिशतले र घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त राजस्व शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । यद्यपि यातायातका साधन दर्ताको सङख्यामा १६ दशमलव १५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा भने वृद्धि भएको छ । २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव ७२ प्रतिशतले र कर्जा प्रवाह ६ दशमलव ५५ प्रतिशतले बढेको छ । समीक्षा अवधिको अन्त्यमा औसत कर्जा–निक्षेप अनुपात ७२ दशमलव ३७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ । कुल निक्षेपमा बागमती प्रदेशको हिस्सा ६४ दशमलव ०५ प्रतिशत र कुल कर्जामा ६० दशमलव ९१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मुलुकमा २० हजार ६५७ किलोमिटर कालोपत्रे सडक, ९ हजार ३१६ किलोमिटर ग्राभेल सडक, ९ हजार ७०१ किलोमिटर कच्ची तथा नयाँ सडक र १५९ किलोमिटर रिजिड पेभमेन्ट निर्माण भएको छ ।

निर्यातभन्दा आयातको वृद्धि उच्च

गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा निर्यात र आयात दुवै बढेका छन् । कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड पुगेको छ । त्यस्तै, कुल वस्तु आयात १६ दशमलव २० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको सङख्या (पुनः श्रम स्वीकृतिसहित) गत आर्थिक वर्षमा ७ लाख ९२ हजार १८७ रहेको छ । प्रदेशगत रूपमा वैदेशिक रोजगारीमा जानेमध्ये मधेस प्रदेशको हिस्सा सबैभन्दा बढी २२ दशमलव ६० प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३ दशमलव ८५ प्रतिशत रहेको छ ।

संघीय बजेट खर्च संशोधित अनुमानमा ९३ दशमलव ७१ प्रतिशत

गत आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरेको थियो । बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधन गरी कुल बजेट १६ खर्ब ८८ अर्ब ३३ करोड कायम गरिएको थियो । संशोधित बजेटमध्ये आर्थिक वर्षको अन्त्यसम्ममा १५ खर्ब ८२ अर्ब १७ करोड खर्च भएको छ । यो संशोधित बजेटको ९३ दशमलव ७१ प्रतिशत हो । त्यस्तै, गत आर्थिक वर्षमा सातवटै प्रदेशको कुल विनियोजित बजेट २ खर्ब ८७ अर्ब ७१ करोड रहेको थियो । उक्त बजेटमध्ये चालु खर्चतर्फ ८६ अर्ब ४ करोड अर्थात् ३० दशमलव ०३ प्रतिशत, पुँजीगत खर्चतर्फ १ खर्ब ७१ अर्ब १७ करोड अर्थात् ५९ दशमलव ४९ प्रतिशत विनियोजन गरिएको थियो । यसैगरी, वित्तीय व्यवस्थातर्फ ९८ करोड अर्थात् शून्य दशमलव ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ २९ अर्ब १६ करोड अर्थात् १० दशमलव १४ प्रतिशत बजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ ।