बाबुरामको प्रस्ताव- शब्दको लडाइँ छोडौं, फागुन १ लाई ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं

काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ गतेलाई जनक्रान्ति दिवसको रुपमा मनाउन प्रस्ताव गरेका छन् । ‘जनयुद्ध दिवस’ का विषयमा जारी बादविवादबीच फेसबुकमा स्टाटस लेख्दै डा.भट्टराईले आफ्नो मत अघि सारेका हुन् ।

“फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, वेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान!
शब्दको जुंगाको लडाइँ छोडौं। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक बर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं!
१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौं!”