काठमाडौँ । वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् ।
सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी नागरिकले उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै शुक्रवार रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले शुक्रवार बिहानैदेखि खाना दिन छोडेको तथा आजैदेखि होल्डिङ सेन्टर छोडेर जान निर्देशन दिएको थियो ।
सुकुम्बासी नागरिक हरिमाया जिम्बाले आफूहरू थापाथलीबाट विस्थापित भएर बोडे आइपुगेको बताइन् । उनका अनुसार कीर्तिपुरस्थित आश्रयस्थलमा करिब साढे दुई महिना बसेपछि डुबानका कारण उनीहरुलाई बोडे सारिएको थियो । अहिले बोडेमा रहेकामध्ये सात परिवारलाई मात्र वास्तविक सुकुम्बासी मानेर सरकारले अन्य सबैलाई हटाउन खोजेको आरोप लगाइन् । उनले आफूहरू नेपाली नागरिक भएकाले सरकारले सम्मानपूर्वक बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिन् । सरकारले वैकल्पिक बसोबासको व्यवस्थापन गर्न नसक्ने भए आफूहरुलाई थापाथलीमै छोडिदिनुपर्ने समेत उनको माग छ । उनले भनिन्, ‘हामी नेपाली नागरिक हौँ कि होइनौँ ? यदि सरकारले हामीमाथि जबरजस्ती गर्यो भने हामीसँग अब दुई वटा विकल्प मात्रै छ । कि हामीलाई थापाथली नै लगेर छोडिदेउ, होइन भने मारिदेउ । हामीलाई जाउ त भन्यो अब हामी जाने कहाँ हो ?’ अर्का सुकुम्बासी नागरिकले समेत आफूहरू लामो समयदेखि सुकुम्बासी बस्तीमा बस्दै आएको उल्लेख गर्दै सरकारले पुनःस्थापनाको प्रतिबद्धता पूरा नगरेसम्म होल्डिङ सेन्टरमा ननिस्किने बताए । उनले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि ६ महिना बितिसक्दा समेत उचित व्यवस्था गर्न नसकेको उनको गुनासो छ ।
उनले भने, ‘हामी यहाँ बस्न थालेको ५० औँ वर्ष भइसक्यो, अनि हाम्रो बस्तीमाथि डोजर लगाउने? हामीलाई उठाइसकेपछि सरकारले १५ दिनमा व्यवस्थापन गर्छौँ भनेको होइन? १५ दिन कहाँ गयो? ६० दिन कहाँ गयो? सय दिन कहाँ गयो? अनि ६ महिना कहाँ गयो? अनि अहिले जबरजस्ती उठाउन आउने? बरु १ चम्चा पानीमा डुबेर मरे हुन्छ सरकार । दुई तिहाईको सरकारले चाहेमा के गर्न सक्दैन? अनि यस्तो गर्न मिल्छ? मिल्दैन नि ।’ त्यसैगरी अर्का सुकुम्बासी नागरिकले आफूहरुको अन्यत्र घरजग्गा नभएको र भाडामा बस्न सक्ने आर्थिक अवस्था पनि नरहेको बताए । साना बालबालिका भएका परिवारलाई कोठा पाउनसमेत कठिनाइ भइरहेको भन्दै उनले सरकारले नै उचित व्यवस्थापन गरिदिनुपर्ने उनको माग छ । उनले भने, ‘अस्ती आएर सूचना टाँसेको थियो, हिजो आएर माइकिङ गरेको थियो यहाँ खाली गर्नु भनेर ।
उबेला थापाथली हुँदा कोठा भाडामा भएकाहरू गए होलान् । हाम्रो त कतै केही पनि छैन हेर्नुस् । एक हाम्रो सानो नानी छ, बच्चा भएको हुनाले कोठा पाइँदैन । अनि कोठा पाएको छैन, कहाँ गएर बस्ने हामी? हामी त जहाँ सरकारले बस्ने बास दिन्छ त्यहीँ जाने हो । कोठामा पनि हामी महिनैपिच्छे कोठा भाडा तिर्न सक्दैनौँ ।’ सरकारले बोडेस्थितको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवारलाई शुक्रवार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छोड्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई खाना समेत बन्द गरिएको छ । खाना नै बन्द गरिदिएपछि उनीहरू दिउँसो चाउचाउ–चिउरा खाएर भोक मेटिरहेका थिए ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































