काठमाडौं । जर्मनवाचले प्रकाशित गरेको क्लाइमेट रिस्क इन्डेक्स–सीआरआई (जलवायु परिवर्तन जोखिम सूची) २०२५ अनुसार नेपाल विगत ३ दशक (१९९३–२०२२) मा जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटनाबाट प्रभावित हुने देशहरूको सूचीमा ६९औं स्थानमा परेको छ ।
यो सूची जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिहरू जस्तैः बाढी, पहिरो, खडेरी, अत्यधिक वर्षा, तातो–चिसो लहर आदिले विभिन्न देशहरूलाई पुर्याएको असरका आधारमा तयार गरिन्छ ।
सीआरआई २०२५ अनुसार नेपालमा जलवायुसँग सम्बन्धित विपदमा परी हरेक वर्ष औसत २४९.७ जनाले ज्यान गुमाउने गर्दछन् । प्रति एकलाख जनसंख्यामा ०.१८९ जनाको मृत्यु हुने गरेको छ भने ७५ हजार ८४० जना प्रत्यक्ष प्रभावित हुने गरेका छन् ।
यसका साथै, जलवायुजन्य विपत्तिहरूका कारण नेपाललाई वार्षिक रूपमा २२१.३ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रतिवेदनले देखाएको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ०.२५८ प्रतिशत हो ।




































