सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान्-श्रीमतीको मृत्यु भएको छ ।
स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् । मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिइन् ।
लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




































