भारतको रासायनिक कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु

नयाँ दिल्ली ।  भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अरू धेरै घाइते भएका छन् । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ ।

जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले भने, “हामीले अहिलेसम्म १२ जनाको शव फेला पारिसकेका छौं र अझै भग्नावशेषमा खोजी जारी छ ।”

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । भारतीय सञ्चार माध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ ।

भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्रायः यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ । सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।