छानबिन हुनुपर्छ, दोषी देखिए कारबाही भोग्न तयार छु: रामहरि खतिवडा

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’मा गरिएको चलखेलबारे छानबिन हुनुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । सभापति खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको र यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् ।

उनले भने, “यो संसदमाथिको गम्भीर र ठूलो प्रहार हो । यत्रो ठूलो गल्ती कानुन बनाउने कुरामा कतै हुँदैन । यसमा छानबिन गर्नुपर्छ । म आफैँमाथि पनि छ भने छानबिन होस् । यो छानबिन हुनुपर्छ । म दोषी भएँ भने म पनि कारबाहीको दायरामा आउनेछु । आजको बैठक (राज्यव्यवस्था तथा सुशासन समिति) नबस्ने निर्णय गरेका छौँ ।”

सांसदहरुले यसमा समितिको सभापति र सचिवलाई जिम्मेवार रहेको भन्दै कारबाहीको माग गरेका छन् । रास्वपाले सभापति खतिवडाको राजीनामा नै माग गरेको छ भने माओवादी केन्द्रले भने यस विषयमा छानबिन गर्नुपर्ने माग गरेको छ।