यस वर्षको गाईजात्रा पर्व आजदेखि सम्पन्न

भक्तपुर । भक्तपुरमा यहीँ साउन २५ गतेदेखि सुरु भएको गाईजात्रा पर्व आजदेखि विधिवत् रूपमा सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ सोही गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेसँगै सम्पन्न भएको हो ।

जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा घरघरबाट र सामूहिक रूपमा टोलटोलबाट गाईजात्रा निकाली घिन्ताङघिसीलगायत विभिन्न नाच निकालेर भव्य रूपमा मनाइएको थियो । त्यसपछि सात दिनसम्म विभिन्न नाच र व्यङ्ग्यचित्र एवं व्यङ्ग्यात्मक प्रस्तुति दिएर गाईजात्रा मनाइएको थियो ।

जात्रा समापनका क्रममा आज अन्तिम दिन घिन्ताङघिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो । आज अन्तिम दिन भक्तपुर नगरपालिका क्षेत्र सांस्कृतिकमय र उत्सवमय बनेको थियो ।

पहिलो पटक समावेशी गाईजात्रा

आज पहिलो पटक चाँगुनारायण नगरपालिका–२ कार्यालयले समावेशी गाईजात्रा प्रदर्शन गरेको छ । सबै जातजाती र धर्मावलम्बी सहभागी रहेको उक्त गाईजात्रालाई साँझा पर्वका एवं संस्कृति आदानप्रदानका रूपमा लिँदै प्रदर्शन गरिएको चाँगुनारायण–२ का वडाध्यक्ष सोम प्रधानले जानकारी दिए ।

नेवार समदायले मात्रै सात दिनसम्म मनाउने गाईजात्राका अवसरमा घिन्ताङघिसीलगायत विभिन्न साँस्कृतिक नाच प्रर्दशन गर्दै सबैमा अपनत्व ग्रहण गर्ने र सांस्कृतिक पर्वको आदानप्रदान गर्नेगरी समावेशी गाईजात्रा मनाइएको उनले बताए ।

यस वर्ष पहिलो पटक समावेशी शैलीमा सुरु भएको यो पर्व हरेक वर्ष गाईजात्राको अन्तिम दिन नियमित रूपमा यसरी नै मनाइने उनले बताए । चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमि नगरपालिकाको सङ्गमस्थल दुवाकोट मोडबाट सुरु भएको घिन्ताङघिसीसहित परम्परागत नाच गर्दै समावेशी गाईजात्रा दुवाकोट क्षेत्रको टोलटोलमा पुगेर प्रर्दशन गरिएको हो ।