महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुनेछः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुने बताएका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको दोस्रो विधान महाधिवेशनसम्बन्धी पत्रकारहरूसँग संवाद कार्यक्रममा उनले महाधिवेशनमा नेपाली समाजको आर्थिक र वर्गीय विश्लेषण हुने बताए । “नेपाली विशेषताको समाजवादका बारेमा महाधिवेशनमा छलफल हुनेछ । समाजवाद निर्माणका लागि कस्तो पार्टी बन्ने भन्ने पनि बहस हुनेछ”, उपमहासचिव ज्ञवालीले भने ।

जनताको बहुदलीय जनवादलाई पार्टीले मार्गदर्शन सिद्धान्तका रूपमा अगाडि बढाएको भन्दै उपमहासचिव ज्ञवालीले अब मुलुकको समृद्धिका लागि जबजलाई समानुकूल बनाएर लैजान जरुरी रहेको बताए । उनले महाधिवेशनमा संसदीय निर्वाचनमा पार्टीले बनाएका घोषणापत्रले पारेका प्रभावमाथि चर्चा हुने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पार्टी र राष्ट्र निर्माणको मागदर्शनका रुपमा रहने बताए ।

उपमहासचिव ज्ञवालीले विधान संशोधन प्रस्ताव प्रतिवदेनमा मातहतका कमिटीबाट सुझाव आइरहेकाले यही भदौ १९ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले थप सुझावसहित महाधिवेशनमा पेस गर्ने जानकारी दिए ।

उनले पार्टीभित्र विवाद हुनुपर्ने कुनै कारण नै नभएको उल्लेख गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीको उच्च सम्मान र मूल्याङ्कन रहेकाले अभिभावकीय भूमिका बस्न आग्रह गरे ।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले महाधिवेशन सफल बनाउन चौतारीले प्रचारप्रसार कामलाई अगाडि बढाएको बताए ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायतको उपस्थिति रहेको थियो ।