काठमाडौं । जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक बनेको छ।
प्रदर्शनकारीका नाममा उत्रिएको समूहले संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकार थालेका सुरक्षाकर्मीको गोलीले कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ।
संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा निधन भएको हो । केहीले प्रदर्शन भएकै स्थानमा ज्यान गुमाएका छन् ।
वीर अस्पतालस्थित ट्रमा सेन्टरमा मात्रै सयभन्दा धेरै घाइतेलाई भर्ना गरिएको छ। अहिलेसम्म त्यहाँ कम्तीमा पनि ६ जनाले ज्यान गुमाएका छन् ।
अहिले त्यहाँ ४ जना गोली लागेका घाइतेको उपचार भइरहेको छ । लाठी लागेका अन्य घाइते पनि छन् । उता बानेश्वरस्थित निजामती अस्पतालमा पनि एक जनाको ज्यान गएको छ।
सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा एकजनाको ज्यान गएको छ। अर्कातिर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि एकजना घाइतेले ज्यान गुमाएका छन् ।
































