काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।
भ्रष्टाचारको विरोधका साथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको मृत्यु भएपछि मंगलबार (आज ) आन्दोलन चर्किएको छ । प्रदर्शनकारी व्यापक तोडफोडमा उत्रिएर स्थिति नियन्त्रण बाहिर गएसँगै अन्ततः उनले राजीनामा दिएका छन।
विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका उनले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत भएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

































