राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक जारी, दोस्रो तहका नेता सहभागी

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले सर्वदलीय बैठक जारी छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता सम्मिलित बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव श‌ंकर पोखरेल सहभागी छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती,जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, घोषित निर्वाचन र तयारी तथा सरकारको कामका विषयमा छलफल हुने बताइएको छ ।