काठमाडौं । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम हालसम्म करिब ४० प्रतिशत सम्पन्न भएको छ। चितवनको भरतपुरस्थित यो बहुप्रतीक्षित रङ्गशालाको निर्माण प्रदेश र सङ्घीय सरकारको सहयोगमा अगाडि बढाइएको हो।
प्रारम्भिक चरणमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माणको जिम्मा लिएको भए पनि पछि उनीहरूले काम अगाडि बढाउन नसकेपछि यो परियोजना भरतपुर महानगरपालिकाले सम्हालेको हो। हाल निर्माण कार्यको जिम्मेवारी हिमालयन कालिञ्चोक बिबिआर जेभी नामक निर्माण कम्पनीले लिएको छ।
महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल चारवटा प्याराफिट र दुईवटा भिआइपी टावरको काम तीव्र गतिमा भइरहेको छ। दुवै टावरको दोस्रो तलाको वाल निर्माण र फर्मा तथा डण्डी बाँध्ने काम भइरहेको छ। प्रत्येक टावर तीन तलाको हुनेछ भने प्याराफिटको पछाडि कोठाहरू निकाल्ने कार्यका लागि ढलानको प्रक्रिया पनि सुरु भइसकेको मिश्रले जानकारी दिए।
हाल निर्माणस्थलमा दैनिक १२२ जना कामदार खटिएका छन्। तर तिहारको कारण केही कामदार विदामा गएकाले काम केही सुस्त हुने अनुमान गरिएको छ। मुस्लिम समुदायका २५–३० जना मात्रै तिहार अवधिमा काममा रहने छन् भने छठ पर्वपछि पुनः तीव्र गतिमा काम अघि बढाइने योजना रहेको बताइएको छ।
सम्झौता अनुसार विसं २०८३ पुस २२ गतेभित्र रङ्गशाला निर्माण पूरा गर्नुपर्नेछ। कुल लागत रु ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ। निर्माण कम्पनीले यस अवधिमा चरणबद्ध रूपमा सम्पूर्ण संरचना निर्माण गरिसक्नु पर्नेछ।
रङ्गशालाको पहिलो चरणमा १५ हजार दर्शक अटाउने प्याराफिट, दुईवटा भिआइपी टावर, ५ वटा पिच, ड्रेनेज सिस्टम, रेलिङ, आन्तरिक सडक, र पार्किङ क्षेत्र निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि यहाँ अन्तरराष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिनेछ, जसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिलाई ठूलो प्रोत्साहन दिने विश्वास गरिएको छ।
यो परियोजना त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्रयोग गर्दै आएको २० बिघा १९ कठ्ठा जमिनमा निर्माण भइरहेको हो। निर्माणको लागि आवश्यक भूमि व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन, इन्जिनियरिङ डिजाइन तथा स्थानीय सरोकारवालासँगको समन्वय मिलाएर काम अघि बढाइएको छ।
रङ्गशाला सम्पन्न भएपछि चितवन मात्र नभई सिंगो प्रदेश र देशकै लागि खेलकुदको पूर्वाधारका दृष्टिले यो एक महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ। विशेष गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट खेलहरूको आयोजना, युवा प्रतिभाहरूको पहिचान र प्रशिक्षणका लागि यो रङ्गशाला एक प्रमुख केन्द्र बन्नेछ।
भविष्यमा यो रङ्गशालालाई ५० हजारभन्दा बढी दर्शक क्षमता पुर्याउने योजना समेत रहेको छ, जसका लागि दोस्रो चरणको विस्तारित संरचना निर्माण गरिने इञ्जिनियर मिश्रले जानकारी दिएका छन्।
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य यद्यपि सम्झौता अनुसार केही ढिलो भइरहेको भए पनि योजनाबद्ध रूपमा अघि बढिरहेको छ। खेलकुद पूर्वाधार विकासतर्फ सरकारको ध्यान र स्थानीय तहको सक्रियताले चितवनमा यो ऐतिहासिक परियोजना सार्थक हुने अपेक्षा गरिएको छ।




































