काठमाडौं । जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर बुलेट मोटरसाइकलमा राजधानीका विभिन्न स्थानमा आतंक मच्चाउने समूहमाथि प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।
प्रहरीले हालसम्म समूहका प्रमुख भनिएका तेन्जिङ दावा लामा सहित १७ जनामाथि सोधपुछ गरेको जनाएको छ । गत भदौ २३ गते काठमाडौंमा जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ टिसर्ट लगाएका युवाहरूको एक समूहले प्रदर्शनको क्रममा उत्तेजित गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई निगरानीमा राखेको थियो ।
ती युवाहरूले प्रदर्शनका क्रममा मोटरसाइकलको ठूलो जुलुस निकालेका थिए र केहीले हातमा हतियार जस्तो देखिने वस्तु बोकेका दृश्यहरू समेत सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
सोही समूहका सदस्य तेन्जिङ दावा लामालाई प्रहरीले असोज २६ गते पक्राउ गरेको थियो। प्रहरीले उनको नाममा रहेको नागरिकता प्रमाणपत्र किर्ते भएको पत्ता लगाएको छ । दावाले काठमाडौं महानगरपालिका–६ बाट सिफारिस लिएर नागरिकता लिएको भए पनि त्यसमा प्रस्तुत गरिएको कागजातमा जालसाजी भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको दाबी छ ।
दावा ‘टीओबी’ समूहको कमाण्डर रहेको बताउँदै प्रहरीले उनको समूहमार्फत प्रदर्शनमा नियोजित रूपमा डर र त्रास सिर्जना गर्ने प्रयास भएको आशंका गरेको छ। पक्राउपछि दावामाथि लागुऔषध ऐन अन्तर्गतको कसुर र किर्तेसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी पवन भट्टराईले जानकारी दिए ।
दावाको पक्राउपछि प्रहरीले सोही समूहका अन्य सदस्यहरूको पहिचान गरेर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार हालसम्म ‘टीओबी’ टिसर्ट लगाएर मोटरसाइकल चलाउने १७ जनाको पहिचान भइसकेको छ र ती सबैलाई फरक–फरक समयमा सोधपुछ गरिएको छ । एसपी भट्टराईका अनुसार ती व्यक्तिहरूले प्रदर्शनका क्रममा कस्तो भूमिका खेले, उनीहरूको समूह कसरी बनेको हो र ‘टीओबी’ नामको अर्थ के हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी संकलन गरिरहेको छ ।
“हामीले भिडियो फुटेज र विभिन्न डिजिटल प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेका छौँ,” उनले भने, “दावा समूहका अन्य सदस्यहरूको पृष्ठभूमि र सम्भावित आपराधिक गतिविधि पनि जाँच भइरहेको छ।” ‘टीओबी’ नाम र यसको अर्थबारे स्पष्टता आउन बाँकी छ। केही स्रोतहरूले यसलाई युवाहरूको मोटरसाइकल क्लब वा स्वतन्त्र समूहको रूपमा दाबी गरे पनि प्रहरी यसलाई प्रदर्शनका क्रममा देखिएको असामान्य गतिविधिसँग जोडेर अनुसन्धान गरिरहेको छ।
सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा उनीहरू बुलेट मोटरसाइकलमा उच्छृंखल ढंगले सडकमा गुडिरहेका, भीडलाई हल्ल्याइरहेका र प्रदर्शनमा सहभागीहरूमाथि दबाब सिर्जना गर्ने गतिविधिमा संलग्न देखिएका थिए । प्रहरीले हाल संकलित डिजिटल प्रमाण, भिडियो, र नागरिकता कागजातहरूको फरेन्सिक विश्लेषण गरिरहेको छ । दावा र उनका सहयोगीमाथि आपराधिक नेटवर्कको सम्भावना र जेनजी प्रदर्शनसँग सम्बन्धित अन्य व्यक्तिहरूसँगको सम्बन्धबारे पनि अनुसन्धान जारी छ।
एसपी भट्टराईका अनुसार, “यो सामान्य सडक प्रदर्शनभन्दा फरक प्रकृतिको गतिविधि देखिएको छ। त्यसैले हामी घटनाको सम्पूर्ण पृष्ठभूमि बुझ्न प्रयासरत छौँ ।” प्रहरी स्रोतका अनुसार, आवश्यक परेमा अन्य सरकारी निकायसँग सहकार्य गरी ‘टीओबी’ समूहबारे विस्तृत अनुसन्धान अघि बढाइनेछ। यसरी, जेनजी प्रदर्शनका क्रममा सुरु भएको एक भिडिओ घटनाले अहिले राजधानीमा नयाँ अनुसन्धानको ढोका खोलेको छ–जहाँ ‘टीओबी’ नामले चिनिने रहस्यमय समूह र यसको सम्भावित आपराधिक पृष्ठभूमि उजागर हुनसक्ने संकेत देखिँदैछ ।































