जेनजी आन्दोलनको क्षतिको बीमा दाबी २३ अर्ब नाघ्यो, ३ अर्ब ६८ करोड भुक्तानी

काठमाडौं । हालै देशभर भएका जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य प्रकारका क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा जम्मा करिब २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । ती दाबीमध्ये अहिले सम्म करिब ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बीमितलाई अग्रिम भुक्तानीसहित वितरण भएको छ ।

बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार, आन्दोलनका क्रममा भएका क्षतिका दाबीहरू विभिन्न बीमा शाखामा परेका छन् । कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीका अनुसार, सम्पत्ति बीमातर्फ मात्रै ६९३ वटा दाबी परेका छन् । यी दाबीहरूको कूल रकम करिब १९ अर्ब ४ करोड ९ लाख रुपैयाँ रहेकोमा करिब २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

त्यसैगरी, मोटर बीमातर्फ अहिलेसम्म २ हजार २९० वटा दाबी दर्ता भएका छन् । यसतर्फ करिब ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएकोमा ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ । अन्य बीमाका क्षेत्रहरूमा पनि दाबी क्रमशः आउन जारी रहेको प्राधिकरणले जनाएको छ ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत २०९ वटा दाबी परेका छन्, जसको कुल रकम करिब ५४ करोड ७५ लाख हो । यसमध्ये हालसम्म ६ करोड २३ लाख रुपैयाँ भुक्तानी गरिएको छ । परिवहन बीमातर्फ १२ वटा दाबी परेका छन्, जसको कुल रकम १ करोड ६८ लाख रुपैयाँ मध्ये ४७ लाख रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै अन्य बीमा दाबीहरूका ४२ वटा मुद्दामा ३९ करोड ३० लाख रुपैयाँ बराबरको दाबी दर्ता भएकोमा हालसम्म २३ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित भुक्तानी भएको छ ।

बीमा प्राधिकरणका अनुसार, जेन–जी आन्दोलनका क्रममा भएका क्षतिपछि निर्जीवन बीमा कम्पनीहरूलाई नेपाल पुनर्बीमा कम्पनीले समेत ठूलो परिमाणमा सहयोग गरेको छ । कम्पनीले हालसम्म करिब २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) रूपमा निर्जीवन बीमा कम्पनीहरूलाई उपलब्ध गराइसकेको छ । नेपाल पुनर्बीमा कम्पनीमा हालसम्म २ हजार ८५७ वटा पुनर्बीमा दाबी दर्ता भएका छन् । ती दाबीहरूको कुल रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

बीमा प्राधिकरणका प्रवक्ता सुवेदीका अनुसार, हाल प्राप्त तथ्याङ्कहरू प्रावधिक हिसाबले अद्यावधिक भइरहेका छन् र भुक्तानी प्रक्रिया निरन्तर चलिरहेको छ । आन्दोलनका कारण क्षति भएका सम्पत्ति, सवारीसाधन, ठेक्का परियोजना र अन्य क्षेत्रका दाबीहरूका मूल्याङ्कन तथा प्रमाणीकरणको काम निरन्तर भइरहेको उनले बताए ।

प्राधिकरणले बीमितहरूलाई दाबी दर्ता र आवश्यक कागजात समयमै पेश गर्न आग्रह गरेको छ भने, बीमा कम्पनीहरूलाई पनि निष्पक्ष मूल्याङ्कनका आधारमा छिटो भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा क्षेत्रका विज्ञहरूले भने हालको यो तथ्याङ्कले जेन–जी आन्दोलनका कारण अर्थतन्त्रमा परेको ठूलो प्रत्यक्ष क्षतिलाई प्रतिबिम्बित गर्ने बताएका छन् ।

उनीहरूका अनुसार, सम्पत्ति, मोटर र ठेक्का बीमा दाबीहरूको उच्च दरले उद्योग, व्यवसाय र पूर्वाधार क्षेत्रमा व्यापक असर परेको स्पष्ट देखिएको छ । यसरी हेर्दा, हालसम्म भुक्तानी भएको करिब ३ अर्ब ६८ करोड रुपैयाँ कुल दाबी रकमको १६ प्रतिशतभन्दा कम मात्र हो, जसले भविष्यमा अझ ठूलो वित्तीय दायित्व बीमा कम्पनीहरूमा पर्ने संकेत गरेको छ । बीमा प्राधिकरण र नेपाल पुनर्बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया तीव्र पार्दै बीमितलाई शीघ्र राहत दिने तयारी गरिरहेका छन् ।