काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने यस पटकको प्रतियोगिता पहिलो संस्करणभन्दा अझ भव्य, आधुनिक र व्यवस्थित हुने क्यानले बताएको छ ।
विशेषगरी पहिलोपटक फ्लडलाइटमा खेल खेलिनु नै दर्शकका लागि मुख्य आकर्षण बन्ने देखिएको छ । कुल ३२ खेलमध्ये २३ खेल रातिको उज्यालोमा आयोजना हुने भएका कारण यस संस्करणलाई अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिने गरी तयारी गरिएको क्यानका अधिकारीहरू बताउँछन्। दिउँसोका खेल पौने १२ बजे र रातिको खेल साँझ ४ बजे सुरु हुनेछन्। मंसिर १ गते हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र बलियो मानिएको काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको पुरस्कार राशीसमेत निकै आकर्षक बनाइएको छ । च्याम्पियन टोलीले रु १ करोड १० लाख हात पार्नेछ भने उपविजेता टोलीलाई रु ५१ लाख प्रदान गरिनेछ। तेस्रो स्थान हासिल गर्ने टोलीका लागि रु २५ लाख र चौथो स्थानमा रहने टोलीका लागि रु १५ लाख पुरस्कार राखिएको छ। पुरस्कार राशीका हिसाबले पनि एनपिएल नेपालकै सबैभन्दा ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बनेको छ ।
यस संस्करणमा कुल आठवटै फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै तयारी पूरा गरेका छन्। प्रत्येक टोलीमा ११ जना नेपाली खेलाडी रहनेछन्, जसमा एक जना आइकोनिक खेलाडी अनिवार्य रूपमा रहने व्यवस्था गरिएको छ । त्यस्तै टोलीले ४ देखि ६ जना विदेशी खेलाडी राख्नुपर्ने नियम अनुसार यसपटक करिब १२० देखि १३६ जना क्रिकेटरहरूले प्रतिस्पर्धा गर्नेछन्।
विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। विश्व क्रिकेटमा नाम कमाएका फाफ डु प्लेसिस, मार्टिन गप्टिल, साम हेजलेट र जर्ज मुन्सेसहितको बलियो विदेशी संरचना यस टोलीको मुख्य विशेषता हो । जनकपुर बोल्ट्सले अनिल साहको कप्तानीमा वायन पार्नेल, इमरान ताहिर, लाहिरु मिलन्था जस्ता बहुमूल्य खेलाडी भित्र्याएको छ, जसले साविक विजेताका रूपमा उनीहरूको दाबी अझ बलियो बनाएको छ ।
चितवन राइनोजको नेतृत्व कुशल मल्लले सम्हाल्नेछन्। टोलीमा डेविड मलान, रवि बोपारा, सोहेल तनवीर, अल्पेश रामजानीजस्ता अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी समावेश छन्। काठमाडौं गोर्खाजका कप्तान करण केसीको नेतृत्वमा राशिद खान, गेरहार्ड इरासमस, जोन सिम्पसनजस्ता विश्वस्तरीय खेलाडी छन्, जसले यस टोलीलाई दोस्रो संस्करणका सबैभन्दा प्रतिस्पर्धी टोलीमध्ये एक बनाएको छ ।
पोखरा एभेन्जर्सले कुशल भुर्तेलको कप्तानीमा जेसन रोय, जेम्स नीशम, रेमन राइफरजस्ता विस्फोटक खेलाडी समेटेको छ । लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानीमा डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबान ट्रम्पलम्यानजस्तै चर्चित खेलाडीको संयोजनमा मैदान उत्रनेछ ।
कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले गर्नेछन् । म्याक्स ओ’डाउड, नाजिबउल्लाह जद्रान, मार्क वाटजस्ता खेलाडीको उपस्थितिले यस टोलीलाई व्यापक ध्यानाकर्षण मिलिरहेको छ । सुदूरपश्चिम रोयल्सलाई दीपेन्द्र सिंह ऐरीले नेतृत्व गर्दैछन् जहाँ क्रिस लिन, स्कट कुगेइलिन र जोश ब्राउनजस्ता विस्फोटक खेलाडीले टोलीलाई उपाधि दावेदारका रूपमा उभ्याएका छन् ।
क्यानका अनुसार अब सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको छ । खेल मैदान, बत्ती, सुरक्षा, प्रसारण, टिकटिङदेखि खेलाडीसँग सम्बन्धित सबै पक्ष तयारी अवस्थामा छन् । नेपाली क्रिकेटका समर्थकहरू उच्चस्तरीय खेल, मनोरञ्जन र रोमाञ्चक प्रतिस्पर्धा प्रत्यक्ष हेर्न उत्साहित भइरहेका छन् । यससँगै एनपिएलको दोस्रो संस्करण देशभरका क्रिकेटप्रेमीहरूका लागि उत्सवसरह बन्ने अपेक्षा गरिएको छ ।




































