काठमाडौं । नेपालले आगामी वर्ष २०२५ का लागि पनि अन्तर्राष्ट्रिय मूल्यांकन संस्था फिच रेटिङ्सबाट सार्वभौम ऋणयोग्यताको ‘बी–बी माइनस’ श्रेणी कायम राख्न सफल भएको छ। फिचले निरन्तर दोस्रो वर्षसम्म नेपाललाई यही श्रेणी प्रदान गरेको हो।
यो रेटिङ नेपालले दीर्घकालीन ऋण तिर्न सक्ने क्षमताबारे अन्तर्राष्ट्रिय समुदायलाई सकारात्मक संकेत दिने सूचक मानिन्छ। फिचले गरेको मूल्यांकनमा नेपाल सामाजिक तथा राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्तिका थप जोखिम, सुस्त विश्व अर्थतन्त्र, भूराजनीतिक तनाव र आन्तरिक आर्थिक दबाबजस्ता कारकका बीच पनि स्थिर श्रेणी कायम राख्न सफल भएको उल्लेख छ ।
यस्ता चुनौतीबीच पनि नेपालले आफ्नो आर्थिक संरचना कमजोर नभएको प्रमाणित गर्न सफल भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ‘बी–बी माइनस’ श्रेणीले नेपालको दीर्घकालीन आर्थिक दायित्व पूरा गर्ने क्षमतामा अन्तर्राष्ट्रिय संस्थाहरूको विश्वास यथावत् रहेको देखाएको छ।
अर्थ मन्त्रालयले जारी गरेको वक्तव्यमा सरकार खर्चमा वित्तीय अनुशासन पालना गर्न तत्पर रहेको, राजस्व व्यवस्थापन सुधारिएको, अनावश्यक क्षेत्रमा खर्च कटौती गरी प्राथमिकतापूर्ण क्षेत्रमा मात्रै खर्च केन्द्रित गरिएको र निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता देखाएको उल्लेख छ। ठूला र महत्त्वपूर्ण विकास आयोजना अबाधित रूपमा अघि बढेको र दीर्घकालीन आर्थिक योजनालाई सुरक्षित तरिकाले निरन्तरता दिने सरकारी दृष्टिकोणले पनि अन्तर्राष्ट्रिय समुदायमा विश्वास बढाएको मन्त्रालयको दाबी छ।
फिचको यो रेटिङले नेपालका लागि वैदेशिक लगानी भित्र्याउने वातावरण थप अनुकूल बनाउने अपेक्षा गरिएको छ। ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि तथा डिजिटल अर्थतन्त्रजस्ता क्षेत्र नेपालका दीर्घकालीन लगानीका प्राथमिकता हुन्, र रेटिङ स्थिर रहनुले यी क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको रुचि बढ्न सक्ने विश्लेषकहरूले बताउँदै आएका छन्। साथै, भविष्यमा नेपालले अन्तर्राष्ट्रिय बजारमा सार्वभौम बन्धपत्र (सर्भरेन बन्ड) जारी गर्न चाहे, यस्तो रेटिङले अन्तर्राष्ट्रिय ऋणदाताहरूबीच विश्वास बनाउने महत्वपूर्ण आधार बन्नेछ।
सरकारले पछिल्ला वर्षमा आर्थिक स्थिरता, पारदर्शिता, सुशासन र उत्पादनमुखी नीतिमा जोड दिएको बताउँदै मन्त्रालयले देशभित्र रोजगारी सिर्जना र लगानीमैत्री वातावरण निर्माणलाई आगामी वर्षमा थप प्राथमिकता दिने जनाएको छ। विकास साझेदार, वैदेशिक लगानीकर्ता, निजी क्षेत्र तथा आम नागरिकले सरकारप्रति देखाएको भरोसा मद्धत बनेको भन्दै मन्त्रालयले आभार व्यक्त गरेको छ। नेपाल आर्थिक सुशासन, संरचनात्मक सुधार र लगानी प्रवद्र्धनतर्फ अघि बढिरहेकाले ‘बी–बी माइनस’ को स्थिर रेटिङले आगामी आर्थिक वर्षमा पनि देशको वित्तीय दायित्व सन्तुलित रहनसक्ने विश्वास दिलाएको सरकारको निष्कर्ष छ।




































