बन्दुक छोडेर गुलाफ बोक्दै चुनावी यात्रामा होमिए विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले पहिलोपटक औपचारिक रूपमा चुनावी राजनीति प्रवेश गर्ने निर्णयसहित निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी हुने उद्देश्यसहित दर्ता गराइएको यो कदमले अब उनी कुन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिने हुन् भन्नेबारे चासो झनै बढेको छ। मंगलबार (मंसिर २) आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि विप्लवले आफ्नो पार्टी अब पूर्ण रूपमा चुनावी प्रक्रियामा जाने घोषणा गरे। आयोगले चन्द नेतृत्वको माओवादीलाई ‘गुलाब’ चुनाव चिन्ह प्रदान गरेको छ। दल दर्ता प्रमाणपत्र बुझ्न विप्लवसहित उनका साथी–कार्यकर्ताहरू गुलाबकै फूल बोकेर आयोग कार्यालय पुगेका थिए, जसले पार्टीले पाएको प्रतिकको प्रतीकात्मक प्रदर्शन गरेको देखिन्थ्यो।

विप्लव राजनीतिक भूमिकामा स्थापित व्यक्तित्व भए पनि उनी अहिलेसम्म कुनै पनि तहको संसद्का लागि उमेदवार बनेका छैनन्। उनी तत्कालीन माओवादी आन्दोलनमा सक्रिय भूमिकामा रहे पनि माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड नेतृत्वको पार्टीसँग दूरी बढाउँदै अलग समूह निर्माण गरेका थिए। सशस्त्र विद्रोह, विभाजन र भूमिगत राजनीतिक यात्राबाट हुँदै अब उनले प्रत्यक्ष प्रतिस्पर्धाका लागि मैदान समाउने संकेत गरेका छन्। हाल उनी कपिलवस्तु क्षेत्र नम्बर–३ मा बसोबास गर्दै आएका छन्।

तर कम्युनिस्ट पार्टी (माओवादी)का एक नेताका अनुसार विप्लवले उम्मेदवारी दिने प्राथमिक क्षेत्र रोल्पा हुने सम्भावना अत्यधिक छ। उनका अनुसार, “कपिलवस्तु र रोल्पा दुवै विप्लवका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण ठाउँ हुन्। तर रोल्पासँग उनको राजनीतिक, ऐतिहासिक र भावनात्मक सम्बन्ध निकै घनिष्ठ छ। माओवादी नाममै दल दर्ता गरिएको सन्दर्भमा पनि उनले रोल्पालाई प्राथमिकता दिने सम्भावना बढेको छ।”

रोल्पाको लिवाङमा विप्लवको पूर्खौली घर रहेको छ। यही क्षेत्र माओवादी जनयुद्धको मुख्य केन्द्र पनि रहँदै आएको थियो। यही कारण रोल्पामा उनको प्रभाव, राजनीतिक लाभ र समर्पित समर्थन आधार बलियो रहेको मानिन्छ। पार्टीभित्र पनि धेरै नेताहरूले विप्लव रोल्पाबाट उठे पार्टीलाई मनो–वैज्ञानिक रूपमा बल मिल्ने र जनतामा सकारात्मक ऊर्जा पैदा हुने मूल्यांकन गरिरहेका छन्। विप्लव नेतृत्वको समूहले २०७४ को प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेको थियो।

भूमिगत गतिविधि, सुरक्षा अवरोध, राजनीतिक तनाव र वैचारिक मतभेदका कारण उनीहरूको समूह चुनावी प्रतिस्पर्धाबाट टाढिएको थियो। तर पछिल्लो तीन वर्षमा सरकारसँगको तीन बुँदे समझदारी, राजनीतिक मूलधारमा प्रवेश गर्ने प्रतिबद्धता र संगठनलाई वैधानिक रूपमा स्थापित गर्ने प्रयत्नका साथ अब उनीहरू औपचारिक रूपमा निर्वाचनमा सहभागी हुँदैछन्।

विप्लवको उम्मेदवारी, निर्वाचन क्षेत्र चयन र सम्भावित राजनीतिक प्रभाव अहिले भित्र–बाहिर दुवै ठाउँका लागि चासोको विषय बनेको छ। विद्रोहको मोडबाट सिंगो चुनावी प्रक्रियामा परेको यो मोडलाई नेपाली राजनीतिका विश्लेषकहरूले खासै अर्थपूर्ण परिवर्तनको संकेतका रूपमा लिएका छन्। अब विप्लवले रोल्पा वा कपिलवस्तुमध्ये कुन क्षेत्र रोज्ने—यो प्रश्नले निकट भविष्यमै राजनीतिक चर्चा–विवादलाई अजम्बरी रूपमा तान्ने देखिन्छ।