जेन जी आन्दोलनपछि देशमा देखिएको राजनीतिक तरलताले नयाँ–नयाँ दल दर्ताको लहर उत्पन्न गराएको छ । सडकमा देखिएको असन्तुष्टि, पुराना दलप्रतिको मोहभंग र स्थायी नेतृत्वप्रतिको रोषले युवा पुस्तालगायत धेरै समूहहरू वैकल्पिक राजनीतिक संरचनाको खोजीमा निस्केका छन् । तर दर्ता प्रक्रियामा देखिएका नयाँ दलका उद्देश्य, चरित्र र नेतृत्वशैलीलाई नियाल्दा यो लहर कत्तिको स्थायी र प्रभावकारी हुन सक्छ? यही प्रश्न आजको मुख्य बहस हो ।
सबैभन्दा बढी चर्चा कमाएका पात्रमध्ये हर्क साम्पाङको श्रम संस्कृति पार्टी छ । ‘कार्यकर्ता होइन, श्रमदाता’ को नारा र श्रमदानलाई राजनीतिक कार्यक्रमको केन्द्रमा राख्ने उनका अभियानले पूर्वी पहाडका केही क्षेत्रमा आकर्षण देखाएको छ । राजनीतिलाई प्रदर्शन वा भीडभाडभन्दा श्रमको मूल्यसँग जोड्ने उनको प्रस्ताव नवीन अवश्य देखिन्छ, तर संगठनात्मक सुदृढता र नीति निर्माणको स्पष्टता नहुँदा यो विचार कत्तिको संस्थागत बन्छ भन्ने सवाल खुला छ ।
त्यसैगरी, दिनेश प्रसाई नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी ले पनि नेतृत्वको कार्यकाल सीमितता जस्ता महत्वपूर्ण एजेन्डा उठाएको दाबी गर्छ । नेपाली पार्टी राजनीतिमा दीर्घकालीन नेतृत्व कब्जा एउटा गम्भीर समस्या हो । यसलाई चुनौती दिने जनाउँदा पनि दलको स्थायित्व, कार्यपद्धति र संरचनागत लोकतन्त्रका पक्षमा उनले कति विश्वसनीयता बनाउन सक्छन् भन्ने समयले नै बताउनेछ ।
यता, ऊर्जामन्त्री कुलमान घिसिङको नाम जोडिएको उज्यालो नेपाल पार्टी ले सामुदायिक समाजवाद, समावेशी लोकतन्त्र र बहुसाँस्कृतिक राष्ट्रिय एकताको जस्ता आदर्शसूची अघि सारेको छ । तर गैरदलीय अन्तरिम सरकारको मन्त्री पदमै रहेर डमी नेतृत्वमार्फत पार्टी निर्माणमा संलग्न भएको आरोपले घिसिङ नैतिक संकटमा फसेका छन् । सार्वजनिक पदमा रहेकाले निषेधित राजनीतिक क्रियाकलापमा संलग्न भएको देखिनु लोकतान्त्रिक मान्यताको उल्लंघन मात्र होइन, नयाँ दलका नैतिक धरातललाई पनि कमजोर पार्ने काम हो ।
दर्ता प्रक्रियामा रहेका अन्य दलहरूले ‘जन’, ‘नागरिक’, ‘पिपुल’, ‘सार्वभौम’ जस्ता लोकप्रिय शब्दहरूको प्रयोग गर्दै आफ्नो स्थान निर्माण गर्न खोजिरहेका छन् । तर अधिकांश दलले घोषणापत्र, नीति, कार्यक्रम र संगठनात्मक संरचना सार्वजनिक गरेका छैनन् । नामको आकर्षणले मात्र प्रभावकारी राजनीतिक विकल्प निर्माण हुँदैन-आदर्श र व्यवहारबीच स्पष्ट मेल हुन आवश्यक छ ।
जेन जी आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध राख्ने समूहहरू पनि विभाजित छन् । नेपाल जेन जी पार्टीले निवेदन फिर्ता गरी उज्यालो नेपाल पार्टीलाई समर्थन दिएको छ भने मिराज ढुंगाना निकट समूहले ‘नेपाली प्रथम पार्टी’ दर्ताको प्रयास गरेको छ । किशोरी कार्कीदेखि अन्य युवा नेतासम्मका प्रयासले यो पुस्ताको राजनीतिक सहभागिता चाहना प्रस्ट देखिन्छ, तर एकीकृत दिशा नहुँदा प्रभावशीलता कमजोर देखिन्छ ।
मिटरब्याज पीडित आन्दोलनमार्फत गणेशकुमार मण्डलले सार्वभौम नागरिक पार्टी दर्ता गरिरहेको प्रसंग होस् वा डा. युवराज संग्रौला निकट समूहको नागरिक सर्वोच्चता पार्टी—यी नयाँ समूहले राज्यप्रतिको असन्तुष्टि र नागरिक सशक्तीकरणका मुद्दालाई अगाडि सारेका छन् । तर यी विषय मौलिकभन्दा पनि प्रतिक्रियात्मक झैँ देखिन थालेको छ ।
समग्रमा, जेन जी आन्दोलनपछि चर्चा चलेकै तर दर्ता हुने दलहरूको संख्या १२०–१३० को दायराभन्दा धेरै नबढ्ने विश्लेषण यथार्थपरक देखिन्छ । दर्ता भएकामध्ये पनि सबै निर्वाचनमा सक्रिय हुने सम्भावना न्यून नै छ । गत निर्वाचनमा ४७ दलले मात्र समानुपातिक सूची बुझाएका थिए र यसपटक पनि प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न सक्ने दलको संख्या २०–३० को बीचमा सीमित हुनेछ भन्ने अनुमान यथार्थसम्मत छ ।
निष्कर्षतः, नयाँ दल दर्ताको यो लहर जनअसन्तुष्टि र राजनीतिक खोजीको परिणाम अवश्य हो । तर नयाँ दल हुनुले मात्र नयाँ राजनीतिक संस्कृति सिर्जना हुँदैन । एजेन्डाको स्पष्टता, संगठनको पारदर्शिता, नेतृत्वको नैतिकता र कार्यशैलीको लोकतान्त्रिकता-यी आधारहरू मजबुत नभएसम्म कुनै पनि नयाँ दल क्षणिक आवेगभन्दा टाढा जान सक्दैन । जेन जी आन्दोलनले सिर्जना गरेको ऊर्जा सकारात्मक दिशामा रूपान्तरण हुन भने नेतृत्वगत परिपक्वता र राजनीतिक इमानदारिता अपरिहार्य छ ।
मिति २०८२ मङ्सिर ३ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































