फिलिपिन्स बसेर अख्तियार प्रमुखसहित १० ‘हाइप्रोफाइल’लाई मार्ने धम्की

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलगायत १० उच्चप्रोफाइल व्यक्तिलाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य योजनाकार विदेशमै लुकेर बसेको पत्ता लागेको छ ।

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ उग्रवादी समूहको परिचय दिँदै भिडियो र धम्कीपत्र पठाउने व्यक्तिमध्ये प्रकाश पाठक फिलिपिन्समा रहेको खुलेको हो । धम्कीपूर्ण पत्र अख्तियारको कार्यालयमै आइपुगेपछि घटनाले सुरक्षा निकाय र अनुसन्धान तंत्र दुवैलाई सतर्क बनाएको छ ।

अख्तियारले प्राप्त धम्कीसम्बन्धी जानकारी काठमाडौँ जिल्ला प्रहरी परिसरमा गराएपछि प्रहरीले विभिन्न युनिट परिचालन गरी पाँच दिनदेखि व्यापक अनुसन्धान थालेको छ । प्राविधिक विश्लेषण, सुराग संकलन र व्यक्तिहरूसँगको सम्बन्ध खोजी गर्दै जाँदा मुख्य योजनाकार पाठक विदेशमै बसेको पुष्टि भएको हो । उनका तीन जना सहयोगी भने नेपालमै पक्राउ परेका छन् । पक्राउ परेकाले आफूहरू प्रकाश पाठककै बडीगार्ड भएको बताइरहे पनि ज्यान मार्ने धम्कीमा भने संलग्नता नरहेको दाबी गरेका छन् । तर धम्की दिने भिडियोमा उनीहरू प्रत्यक्ष रूपमा देखिएकाले प्रहरीले अनुसन्धानलाई अझै गम्भीर रूपमा अघि बढाइरहेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, भिडियोको स्वरूप, भाषा शैली र पत्रमा उठाइएका विषयवस्तुले यो काम कसैले योजनाबद्ध रूपमा गराएको अनुमानलाई बलियो बनाएको छ । उनका अनुसार, पक्राउ परेकाले आरोप स्वीकार नगरे पनि प्राविधिक प्रमाणहरूले शंकालाई अझ गाढा बनाइरहेको छ । पाठकले पठाएको पत्र र भिडियोमा अख्तियार प्रमुख प्रेमकुमार राईलगायत १० व्यक्तिको नाम समावेश गरिएको छ । सूचिमा अख्तियारका विवादित पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डसँग जोडिएका पूर्वप्रहरी प्रमुखहरू ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँसम्मलाई लक्षित गरिएको छ । धम्कीपत्रमा उनीहरूलाई किन निसाना बनाइएको हो भन्ने विषयसमेत उल्लेख गरिएको छ, जसले घटनालाई झन् जटिल बनाएको छ।

यसैबीच, सरकारले यी सबै व्यक्तिहरूको सुरक्षा स्तर बढाएको छ। प्रहरी प्रधान कार्यालयले निर्देशन दिएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उनीहरूको घर, आवतजावतका स्थान, औपचारिक कार्यक्रम र निजी गतिविधि समेतलाई नजिकबाट निगरानी गर्न सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ । प्रहरी स्रोतका अनुसार, धम्कीलाई हल्का रूपमा लिन नसकिने भएकाले सुरक्षा व्यवस्था अस्थायी रूपमा बढाइएको हो ।

घटनाको गम्भीर मोड नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेको समयमा आएको हो । धम्कीपत्र र भिडियोमा उठाइएका केही विषय अधिकारीको भ्रष्टाचार मुद्दासँग मिल्दाजुल्दा देखिएकोले प्रहरी अधिकारीहरू बीच उनी वा उनको प्रभावमा रहेका समूहहरूबाट प्रेरित हुनसक्ने शंका उठेको छ । तर ठोस प्रमाण नआउँदै व्यक्तिगत रूपमा दोषारोपण गर्न नमिल्ने भएकाले केही दिनभित्र प्राविधिक र प्रत्यक्ष प्रमाण विश्लेषणपछि मात्र यथार्थ खुल्ने प्रहरीको भनाइ छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीसँगै ७ जनामाथि नलिन्चोक हेलिपोर्ट निर्माणमा साढे १३ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अधिकारी र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसमेत पक्राउ परेका छन् र उनीहरूलाई बकपत्र तथा थुनछेक बहसका लागि विशेष अदालतमा पेस गर्ने तयारी भइरहेको छ । यसअघि पनि महानिर्देशक अधिकारीसँग जोडिएका आर्थिक अनियमितताका विषयमा समाचार लेख्ने केही पत्रकारले ज्यान मार्ने धम्की पाएका थिए । घटनाले अन्तर्राष्ट्रिय ध्यानसमेत खिचेको थियो । पत्रकारहरूको विश्वव्यापी संस्था इन्टरनेशनल फेडरेशन अफ जर्नलिस्ट (आईएफजे) ले समेत नेपाल सरकारलाई पत्रकार सुरक्षाबारे गम्भीर ध्यान दिन आग्रह गरेको थियो ।

यी सबै घटनाबाट संकेत मिल्छ—देशका संवेदनशील संस्थामाथि आक्रमण, दबाब र धम्कीमार्फत प्रभाव जमाउने प्रयास पुनः दोहोरिन थालेको छ। मुख्य योजनाकार विदेशमै बसेर धम्की दिन सक्ने वातावरण खतरनाक त होइन, राज्यका संयन्त्रहरू कति सजग र सशक्त छन् भन्ने प्रश्न पनि यसले उब्जाएको छ । अहिले अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ र सुरक्षातह उठाइएको अवस्था छ । केही दिनमै यस घटनाको वास्तविक नियोजक, प्रेरक र उद्देश्यबारे स्पष्ट हुने प्रहरीको विश्वास छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।