१५ औँ महाधिवेशनमा सभापति लड्ने हो : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै सभापति पदको औपचारिक दाबी सार्वजनिक रूपमा गरेका छन् ।

शनिबार बिहान नेपाल प्रेस युनियन सर्लाहीले जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले “म १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बन्छु” भनी घोषणा गर्दै पार्टीभित्रको आगामी सत्ता–सन्तुलन र नेतृत्व प्रतिस्पर्धामा नयाँ तरंग पैदा गरेका छन् ।

थापाले पछिल्ला केही महिनामा कांग्रेसभित्र महाधिवेशनको मितिबारे देखिएको अनिश्चितता र बहसले समय खेर गएको उल्लेख गर्दै अब भने महाधिवेशनका तयारीलाई द्रुत गतिमा अघि बढाइने बताए । उनका अनुसार कांग्रेसले फागुन २१ गते नै हुने प्रतिनिधिसभा निर्वाचनमा पूर्ण रूपमा सहभागी हुने निर्णय गरिसकेको छ, र त्यसअघि महाधिवेशन सम्पन्न गरिनेछ ।

कार्यक्रममा बोल्दै थापाले पार्टी एकसाथ दुई महत्वपूर्ण राजनीतिक तयारीमा लागेको जानकारी दिए– महाधिवेशन र आम निर्वाचन। उनका अनुसार सभापति चयनसहित नेतृत्व संरचना टुंग्याइएपछि कांग्रेस संगठनले आगामी निर्वाचनमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुनेछ । थापाले वर्तमान सरकारले समयमै निर्वाचन गराउने विश्वास व्यक्त गर्दै भने, ‘फागुन २१ कै निर्वाचनमा कांग्रेस जुटिसकेको छ ।’

महामन्त्री थापाले यसपटक पनि काठमाडौँबाटै प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गर्दै दुविधा अन्त्य गरे । सर्लाही–४ बाट प्रतिस्पर्धा गर्न स्थानीय नेताहरूले पटक–पटक प्रस्ताव दिए पनि उनले पार्टीको विगतको परम्परा र संगठनात्मक अभ्यासलाई प्राथमिकता दिने बताए । उनका अनुसार, “पार्टी नेतृत्वले सामान्यतः आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने गरेका छन् । त्यही कारणले म पनि हालको क्षेत्रबाटै उम्मेदवार बन्छु ।”

थापा नेपाली कांग्रेसभित्र उदाउँदै गएको नयाँ पुस्ताको प्रतिनिधि पात्र मानिन्छन् । उनी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने प्रमुख नेता भएकाले १५औँ महाधिवेशन कांग्रेसभित्र पुस्ता–परिवर्तनको संकेत बन्ने विश्लेषकहरूको धारणा छ । उनको उम्मेदवारीले संस्थापन समूहदेखि भिन्न धारका नेतासम्म सबैलाई सक्रिय बनाएको देखिन्छ ।

थापाको यो घोषणाले कांग्रेसभित्रको राजनीतिक वृतमा नयाँ बहस सुरु भएको छ— पार्टीको नेतृत्व अब नयाँ पुस्ताले सम्हाल्ने हो कि पुरानै समीकरण दोहोरिने हो ? महाधिवेशन नजिकिँदै जाँदा यो प्रतिस्पर्धा कांग्रेस मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि गहिरो प्रभाव पार्ने निश्चित छ ।

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा छन् । विधानअनुसार उनी अब सभापति उम्मेदवार बन्न पाउँदैनन् । कांग्रेसमा दुई पटकमात्रै सभापति हुन पाइन्छ । सभापतिमा थापा र शेखर कोइरालाकै भिडन्त हुने संकेत देखिएको छ । शेखरले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । १४ औँ महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार हुँदा गगन महामन्त्री लडेका थिए । शेखर झिनो मतले दोस्रो चरणमा पराजित हुँदा गगन महामन्त्री निर्वाचित भएका थिए । उनीहरु एकै समूहबाट पार्टीको चुनाव लडेका थिए ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।