काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । महाधिवेशनको निर्वाचन प्रक्रिया थप व्यवस्थित, छरितो र विश्वसनीय बनाउन कुल १०० वटा विद्युतीय मेसिन ल्याइए पनि तीमध्ये ८० वटा मेसिनलाई प्रत्यक्ष मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार बाँकी मेसिन नमूना अभ्यास र आकस्मिक अवस्थाका लागि छुट्याइएको हो। उनले मतदान प्रक्रियामा कुनै प्राविधिक समस्या आउन नदिन पर्याप्त तयारी गरिएको बताए । “मतदान निष्पक्ष र सहज बनाउन सबै पक्षलाई ध्यानमा राखेर मेसिन व्यवस्थापन गरिएको छ,” उनले भने ।
डा. सुब्बाका अनुसार एक जना प्रतिनिधिले सबै पदमा मतदान गर्न औसतमा २५ देखि ३० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल दुई हजार २६३ जना प्रतिनिधि सहभागी रहेकाले मतदान समय व्यवस्थापन र लाइन व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बता ए। यसका लागि मतदान स्थलमा आवश्यक स्वयंसेवक, प्राविधिक र सुरक्षाकर्मी परिचालन गरिनेछ ।
विद्युतीय भोटिङ मेसिन व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा मेसिन नमूना अभ्यासका लागि र थप १० वटा मेसिन आकस्मिक आवश्यकताका लागि राखिएको जानकारी दिए। उनले प्रतिनिधिहरूलाई मतदानअघि मेसिन प्रयोगबारे अभ्यास गराइने र मतदानका क्रममा प्राविधिक सहयोग निरन्तर उपलब्ध गराइने बताए। “पहिलो पटक ठूलो संख्यामा प्रयोग हुन लागेका कारण हामीले सबै सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी गरेका छौँ,” रिमालले भने।
निर्वाचन आयोगका अनुसार सोमबार साँझ ८ः३० बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिएको छ । अन्तिम नामावली प्रकाशनपछि उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह र मतदान प्रक्रियासम्बन्धी औपचारिक जानकारी प्रदान गरिने आयोगले जनाएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । तोकिएको समयभित्र सबै प्रतिनिधिले मतदान गरिसक्ने गरी व्यवस्थापन गरिएको आयोगको दाबी छ । पार्टी नेतृत्व चयनका लागि विद्युतीय भोटिङ प्रयोग हुन लागेको यो प्रक्रिया एमालेका लागि मात्र होइन, नेपाली राजनीतिक दलहरूका लागि पनि प्रविधि प्रयोगको दृष्टिले महत्वपूर्ण मानिएको छ ।




































