ट्रम्प र अमेरिकी वर्चस्वको अन्त्य

घरेलु श्रमशक्ति घटिरहेको बेला मास्क लगाएका इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट एजेन्टहरूले सडकबाटै मानिसहरू समातेर लैजाने गरी गरिएको सामूहिक निर्वासनले श्रम आपूर्तिको सबैभन्दा महत्त्वपूर्ण स्रोत नै समाप्त पारेको छ ।

हरेक वर्षको अन्त्यतिर ‘बहुसंकट’बारे चर्चा गर्नु आजभोलि सामान्यजस्तै भइसकेको छ । यो नयाँ युद्ध, महामारी, वित्तीय संकट र जलवायुजन्य विनाशको जोखिमले भरिएको भविष्य अनुमान गर्न कति कठिन छ भन्ने स्वीकारोक्ति पनि हो । तर २०२५ ले यसमा एउटा विशेष खालको विषालु तत्व थप्यो — डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पुनरागमन ।

उनका अनियमित र गैरकानुनी नीतिहरूले युद्धपछिको विश्वव्यापीकरणको युगलाई नै उल्टाइदिएका छन् । यति धेरै अराजकता र अनिश्चितताबीच अमेरिका र विश्व अर्थतन्त्र कुन दिशातिर जाँदै छ भन्नेबारे के हामी निश्चिन्त भएर केही भन्न सक्छौँ ?

एउटा कुरा भने पक्कै भन्न सकिन्छः सधैँजसो धुर्त प्रचार गरिरहने ट्रम्पले दाबी गरेजस्तो अमेरिकी अर्थतन्त्र त्यति राम्रो अवस्थामा छैन । रोजगारी सिर्जना लगभग ठप्प छ, जुन अचम्मको कुरा होइन । किनकि ट्रम्पले अभूतपूर्व रूपमा अनिश्चितता फैलाएका छन् र अर्थतन्त्रलाई कमजोर बनाइरहेका छन् ।

आपूर्तिको हकमा उनको सबैभन्दा घातक नीति आप्रवासी श्रमिकहरूमाथिको सिधा आक्रमण हो (र गाढा छालाका अमेरिकी श्रमिकहरूमाथि पनि) । घरेलु श्रमशक्ति घटिरहेको बेला मास्क लगाएका इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट एजेन्टहरूले सडकबाटै मानिसहरू समातेर लैजाने गरी गरिएको सामूहिक निर्वासनले श्रम आपूर्तिको सबैभन्दा महत्त्वपूर्ण स्रोत नै समाप्त पारेको छ । यसको असर सबैमा पर्छ । किनकि अमेरिकी नागरिकहरू कृषि, निर्माण, हस्पिटालिटी सेवा र हेरचाहजस्ता क्षेत्रमा मात्रै आप्रवासीहरूमाथि निर्भर छैनन्, आवश्यक पनि छन् । तर अहिले विभिन्न रंग भएको समुदायका धेरै अमेरिकी नागरिकहरूसमेत कतै आईसीईले अपहरण गरेर हिंसा नगरोस् भन्ने त्रासले घरबाट बाहिर निस्कन डराइरहेका छन् ।

सरकारमाथि ट्रम्पले गरेका अन्धाधुन्ध कटौतीका नकारात्मक प्रभावहरू पनि अर्थतन्त्रभरि फैलिएका छन् । सरकार संकुचन हुँदा पनि विस्तारजस्तै गुणक प्रभाव हुन्छ । अहिलेको सन्दर्भमा प्रक्रियागत अनियमितताका कारण लागत झनै बढाएको छ । प्रशासनको अयोग्य र अविवेकी शैलीले थप गहिरो अनिश्चितता सिर्जना गरेको छ । व्यवसाय तथा उपभोक्तालाई अत्यधिक सावधानी अपनाउन बाध्य पारेको छ ।
ट्रम्पले लगाएका वा धम्की दिएका ट्यारिफले अर्थतन्त्रमा ठूला आपूर्तिको क्षेत्रमा झट्का दिएको छ । यसले उत्पादन लागत र उपभोक्ताले तिर्ने मूल्यमा अनावश्यक अनिश्चितता थपेको छ, जसले व्यवसायलाई दीर्घकालीन योजना बनाउनै नसक्ने बनाएको छ ।

यी त छोटो अवधिमा देखिएका असर मात्र हुन् । दीर्घकालीन रूपमा त ट्रम्पकै कारण अमेरिकी अर्थतन्त्रको भविष्य अझ अँध्यारो देखिन्छ । आखिर अमेरिकाको तुलनात्मक फाइदा सधैँ प्रविधि र स्वतन्त्र उच्च शिक्षामै आधारित थियो । अनुसन्धानमाथि आक्रमण गरेर र विश्वविद्यालयहरूले आफ्ना मागहरू नमानेसम्म संघीय कोषबाटै वञ्चित गर्ने धम्की दिँदै ट्रम्पले अमेरिकी अर्थतन्त्रकै खुट्टामा गोली हानिरहेका छन् ।

अर्थशास्त्रका थुप्रै नोबेल पुरस्कार विजेताहरूले जोड दिँदै आएका छन् — राष्ट्रको ‘सम्पत्ति’ भनेको संस्थागत बल हो, विशेष गरी कानुनको शासन । तर ट्रम्पले कानुनको शासनलाई कुल्चिरहेका छन् र त्यसको सट्टा सौदाबाजी (स्वार्थ–सौदाबाजी) मा आधारित जबर्जस्ती शासन ल्याइरहेका छन् । जहाँ सरकारी सुविधा (जस्तै, एनभिडियाका निर्यात अनुमति वा इन्टेलका अनुदान) कम्पनीको भविष्यको नाफामा हिस्सा लिने सर्तमा दिइन्छ । समयसँगै ट्रम्पले जबर्जस्ती असुली गर्ने लक्ष्यहरू घट्दै जानेछन् । अमेरिकामाथि निर्भर रहनुको खतरा बुझेका धेरै देशहरू पहिले नै नयाँ व्यापारिक व्यवस्थातर्फ लागिसकेका छन्।

भ्रमको भविष्य

त्यसो भए, किन कुल गार्हस्थ उत्पादन अझै बढिरहेको छ (जो बाइडेनको पालाजस्तो तीव्र नभए पनि), सेयरबजार नयाँ उचाइमा पुगेको छ, र मुद्रास्फीति आलोचकहरूले चेतावनी दिएजति बढेको छैन ? यसका पछाडि धेरै कारण छन् । सेयरबजारको हकमा आएको उछाल निकै साँघुरो छ, मुख्य गरी केही टेक जायन्टहरूः अल्फाबेट, अमेजन, एप्पल, मेटा, माइक्रोसफ्ट, एनभिडिया र टेस्लामा मात्रै सीमित छ ।

तर यी कम्पनीहरूको मूल्याङ्कन दीर्घकालीन एकाधिकार नाफाको अपेक्षामा आधारित छ, जुन सायद कहिल्यै साकार नहुनसक्छ । अझ टेस्लाको हकमा त एलन मस्कको ट्रम्पप्रतिको समर्थनले धेरै उपभोक्तालाई विमुख बनाएकोले यो झन् सत्य सावित हुनसक्छ । मलगायत धेरै विश्लेषकहरू आजको मूल्याङ्कनलाई बबल (बेलुन) ठान्छौँ । यही बबलले सेयरबजार मात्र होइन, सम्पूर्ण अर्थतन्त्रलाई थामिरहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) मा भएको विशाल पुँजी खर्चले अर्थतन्त्रका अन्य भागको कमजोरी ढाकेको छ । तर सबै बबलजस्तै, यो पनि अन्ततः फुट्नेछ । कहिले फुट्छ भन्ने कसैले ठोकुवा गर्न सक्दैन, तर अर्थतन्त्रको ठूलो हिस्सा एउटै क्षेत्रमा निर्भर हुँदा यसको असर व्यापक हुने निश्चित छ ।

झन् खराब कुरा त के भने, यदि एआई समर्थकहरूले अपेक्षा गरेजस्तै सफल भयो भने यसले धेरै कामदारहरूलाई विस्थापित गरेर असमानता अझ बढाउनेछ । यसमा सिलिकन भ्यालीका छद्म प्रविधि–स्वतन्त्रतावादीहरूले मागेको सरकारी कटौती जोड्दा, आउँदा वर्षहरूमा अमेरिकी अर्थतन्त्रलाई के ले धान्नेछ भन्ने प्रश्न उठ्छ ।

मुद्रास्फीति नबढ्नुको एउटा सरल कारण पनि छ । पहिलो, ट्रम्पका महसुलहरू उनले सुरुमा धम्की दिएका जति उच्च छैनन् । यद्यपि, ट्रम्पको पुनरागमनअघि अमेरिकाले मित्र राष्ट्र मान्ने भारतमाथि लगाइएको ५० प्रतिशत दण्डात्मक महसुल अत्यन्तै कठोर छ । दोस्रो, ट्यारिफले पार्ने प्रभाव प्रायः ढिलो देखिन्छन् । धेरै कम्पनीहरूले प्रतिस्पर्धीले के गर्छन् भनेर हेरेपछि मात्र मूल्य बढाउँछन् । कतिपयले ट्यारिफ लाग्नुअघि खरिद गरिएको भण्डार सकिएपछि मात्र मूल्य बढाउँछन् । तर यदि चीनविरुद्ध धम्की दिइएका ट्यारिफ साँच्चै लागू भए भने, स्थिति बिल्कुलै फरक हुनेछ । वास्तवमा, आपूर्ति शृङ्खला भत्किँदा ट्यारिफभन्दा पनि ठूलो मूल्यवृद्धि हुनसक्छ ।

यहीँनेर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छः कुन देश कोही पागल राजाको सनकमा आफूलाई सुम्पन तयार हुन्छ ? अमेरिका बिना महत्त्वपूर्ण खनिज वा दुर्लभ धातुहरू अन्यत्र उपलब्ध हुँदैनन् र बजारहरू अन्यत्र पनि छन् भन्ने बुझ्नुपर्छ । आपूर्ति र मागको नियमले अमेरिका बिना पनि उस्तै काम गर्छ ।

एडम स्मिथ र डेभिड रिकार्डोले सिकाएझैँ, आर्थिक वृद्धि भनेको तुलनात्मक फाइदा र मापनको अर्थतन्त्रको उपयोग हो । तर ट्रम्प (र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) ले देखाएझैँ, अविश्वसनीय व्यापार साझेदारमाथि निर्भर रहनु अत्यन्तै घाटाजनक हुनसक्छ । साथै, अमेरिका अब पहिले जत्तिको महत्त्वपूर्ण छैन । अहिले यसको हिस्सा विश्व निर्यातको १० प्रतिशतभन्दा कम मात्र छ । अमेरिकी वर्चस्वपछिको विश्व अर्थतन्त्रमा केही कम्पनीहरूको नाफा घट्नेछ, तर फाइदा अरूले उठाउनेछन् । केही कामदारले नयाँ रोजगारी खोज्नुपर्नेछ, तर अरूको सीप आयातका लागि नयाँ माग सिर्जना हुनेछ ।

निश्चय नै छोटो अवधिमा यो सजिलो हुने छैन । तर दीर्घकालमा उदीयमान नयाँ विश्व अर्थतन्त्रमा अमेरिकाले आफ्नो वर्चस्व गुमाइसकेको हुनेछ । एउटा नियन्त्रणविहीन राष्ट्रपतिको सनकमा बाँचेको दोस्रो वर्षमा लाग्दै गर्दा हामी यही दिशामा जाँदै छौँ । संक्रमण प्रक्रिया सुरु भइसकेको छ र विश्वव्यापी वृद्धि प्रभावित भए पनि धेरैले डराएजति पीडा नहुन सक्छ । उदाहरणका लागि ट्रम्पका आत्मघाती नीतिहरूको अर्को परिणामस्वरूप युरोपमा पुनः सैन्यीकरणमा भएका लगानीले ठूलो प्रोत्साहन दिन सक्छन् ।

सायद निर्णायक क्षण २०२६ को नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा आउनेछ । यदि उक्त निर्वाचन साँचो लोकतन्त्रमा अपेक्षित स्वतन्त्र र निष्पक्ष भएन (जसको धेरैलाई डर छ) भने त्यो एउटा भयावह मोड हुनेछ । तर यदि ट्रम्पको आर्थिक व्यवस्थापनप्रतिको बढ्दो असन्तोष र देशको अधिनायकवादतर्फको झुकावले डेमोर्क्याटहरूलाई कङ्ग्रेसको कम्तीमा एउटा सदन फिर्ता लिन मद्दत गर्‍यो भने, त्यो टर्निङ प्वाइन्ट हुनेछ । जे भए पनि अमेरिका र विश्वले अझै कम्तीमा दुई वर्ष आर्थिक अयोग्यता र अनिश्चितताको सामना गर्नुपर्नेछ । (प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित लेखकको अनुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।