नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु केवल एक पार्टीभित्रको नेतृत्व निरन्तरता मात्र होइन, नेपाली राजनीतिका लागि पनि एउटा महत्त्वपूर्ण मोड हो ।
नेतृत्वमा स्थायित्व, स्पष्ट राजनीतिक लाइन र संगठनात्मक पकड भएको व्यक्तिलाई पुनः जिम्मेवारी सुम्पिनु एमालेको आन्तरिक छनोट मात्र नभई आगामी दिनमा मुलुकले कुन दिशातर्फ अग्रसरता लिन्छ भन्ने संकेतसमेत हो ।
पछिल्ला वर्षहरू नेपालका लागि राजनीतिक अस्थिरता, सरकार परिवर्तन, आन्दोलन र संक्रमणका वर्ष बने । जेन जी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक चेतना, पुराना दलप्रतिको अविश्वास र संस्थागत राजनीतिप्रति बढ्दो प्रश्नबीच एमाले जस्तो ठूलो दलले निरन्तरता रोज्नु आफैंमा सन्देश हो—संक्रमणको निकास नेतृत्वको स्पष्टताबाट खोज्नुपर्छ ।
केपी शर्मा ओलीको राजनीतिक यात्रा विवादरहित छैन । तर विवादसँगै उनले लिएका केही निर्णायक अडान र राष्ट्रिय स्वाभिमानका विषयमा देखाएको दृढता उनलाई अरू नेताभन्दा अलग बनाउने आधार पनि हो । नाकाबन्दीको सामना, संविधान कार्यान्वयनको चरण, संघीयताको प्रारम्भिक व्यवस्थापनदेखि विकास निर्माणका केही ठूला परियोजनासम्म, ओली नेतृत्वले अवसर र चुनौती दुवै भोगेको छ ।
तेस्रो कार्यकालले उनलाई विगतका गल्ती सच्याउने, अधुरा एजेन्डा पूरा गर्ने र आलोचनालाई परिणाममार्फत जवाफ दिने अवसर दिएको छ । अनुभवबाट सिकेर अघि बढ्ने हो भने यो कार्यकाल एमालेका लागि मात्र होइन, समग्र राजनीतिक प्रणालीका लागि पनि परिपक्वताको काल बन्न सक्छ ।
एमालेको मुख्य शक्ति यसको संगठन हो । तर पछिल्ला वर्षहरूमा आन्तरिक विवाद, विभाजन र सरकार केन्द्रित राजनीतिले संगठनात्मक धार कमजोर भएको आलोचना हुँदै आएको छ । ओलीको पुनः निर्वाचनले अब पार्टीभित्र अनुशासन, वैचारिक स्पष्टता र पुस्तान्तरणको सवाललाई गम्भीर रूपमा सम्बोधन गर्ने अपेक्षा बढाएको छ ।
तेस्रो कार्यकाल अवसर हो—वरिष्ठ नेतृत्वलाई सम्मान गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिने, केवल चुनाव जित्ने पार्टी होइन नीति निर्माण र कार्यान्वयनमा सक्षम राजनीतिक शक्ति बनाउने । यदि ओलीले यो सन्तुलन मिलाउन सके, एमाले आगामी दशकका लागि पनि प्रभावशाली शक्ति बन्न सक्छ ।
जेन जी आन्दोलनले देखाएको असन्तोष केवल सरकार वा कुनै एक दलप्रतिको थिएन, त्यो समग्र राजनीतिक संस्कृतिप्रतिको प्रश्न थियो । यस्तो अवस्थामा प्रमुख दलहरू झन् जिम्मेवार हुनुपर्ने आवश्यकता छ । एमाले अध्यक्षका रूपमा ओलीले आन्दोलनपछिको सामाजिक–राजनीतिक मनोविज्ञान बुझेर पार्टीलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने चुनौती छ ।
राजनीतिक स्थायित्व आज विकास र सुशासनको पहिलो शर्त बनेको छ । बारम्बार सरकार बदलिने, नीति बदलिने र प्राथमिकता फेरिने अवस्थाबाट मुलुक आजित भइसकेको छ । बलियो संगठन र स्पष्ट नेतृत्व भएको एमालेले स्थायित्वको पक्षमा भूमिका खेल्न सक्ने सम्भावना ओलीको तेस्रो कार्यकालसँग जोडिएको छ ।
यो कार्यकाल ओलीका लागि केवल पार्टी नेतृत्वमा टिकिरहने होइन, इतिहासले कसरी मूल्यांकन गर्ने भन्ने प्रश्नसँग पनि जोडिएको छ । सत्ता राजनीतिमा मात्र सीमित रहने कि संस्थागत लोकतन्त्र, संघीयता र संवैधानिक व्यवस्थालाई सुदृढ बनाउने दिशामा अग्रसर हुने—यो छनोट अब उनीकै हातमा छ ।
प्रतिपक्षसँग संवाद, आलोचनालाई स्वीकार गर्ने संस्कृति र सत्तामा हुँदा पनि संयमित व्यवहार देखाउन सके ओली नेतृत्वले आफ्नो आलोचकलाई समेत विश्वस्त बनाउन सक्छ । यसले एमालेको छवि मात्रै सुधार्दैन, नेपाली राजनीतिमै सकारात्मक सन्देश जान्छ ।
केपी शर्मा ओलीको लगातार तेस्रो कार्यकाल जोखिम पनि हो र अवसर पनि । जोखिम यस अर्थमा कि पुरानै शैली दोहोरिए असन्तोष झन् बढ्न सक्छ । तर अवसर यस अर्थमा कि अनुभव, संगठन र जनाधार भएको नेताले यदि समयको माग बुझेर नेतृत्व गरे भने राजनीतिक संक्रमणको अन्त्यतर्फ देशलाई डोर्याउन सक्छ ।
अब प्रश्न ओली निर्वाचित भए भन्ने होइन, उनले यो कार्यकाललाई कसरी उपयोग गर्छन् भन्ने हो । एमाले र नेपाल दुवैका लागि यो कार्यकाल ‘दोश्रो मौका’ जस्तै हो—गल्ती सच्याउने, विश्वास जित्ने र स्थायित्वतर्फ अघि बढ्नेछ ।
मिति २०८२ पुस ४ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।






























