एमालेमा बलियो बन्दैछ गुट राजनीति

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन सम्पन्न भएको भोलिपल्टै पार्टीभित्र देखिएको हलचलले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा गरेको ‘गुट सकिएको’ दाबी छायाँमा परेको छ। ४ पुसमा अध्यक्षमा तेस्रोपटक निर्वाचित भएपछि बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले ‘अब कुनै प्यानल छैन, एक ढिक्का एमाले छ’ भन्ने घोषणा गरेका थिए। तर त्यसको एक दिनमै ५ पुसमा एमाले इतर समूहमध्येका नेताहरू खुलामखुला काठमाडौंमा अलगै भेला बसेपछि महाधिवेशनले नओझेल्याएको आन्तरिक शक्ति–संघर्ष फेरि सतहमा आएको छ।

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा रोकिएलगत्तै उनीनजिकका नेता ईश्वर पोखरेल अध्यक्षमा विद्या पक्षको उम्मेदवारका रूपमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा पराजित भए पनि उनी समूहसँगै दबिएर बस्ने कि प्रतिरोध गर्ने भन्ने बहस महाधिवेशनभरि थियो। महाधिवेशनको नतिजा निस्किएलगत्तै पोखरेल पक्षले अलगै भेला बोलाएको घटनाले अब इतर समूह दबेर बस्ने पक्षमा नरहेको संकेत दिएको छ।

उक्त भेलापछि नेता योगेश भट्टराईले पार्टीभित्र नेतृत्वबाट हुने पक्षपात र संगठनिक दुरुपयोग स्वीकार्य नहुने भन्दै लोकतान्त्रिक अभ्यास किन कमजोर बनाइयो भन्ने प्रश्न निरन्तर उठाइने बताए। उनले महाधिवेशन प्रतिनिधि छनोटदेखि मतदान प्रक्रियासम्म ‘जालझेलका गतिविधि’ देखिएको दाबी गर्दै पार्टी पुनर्संरचना, नेतृत्व हस्तान्तरण र बहुदलीय जनवाद (जबज)को मर्मअनुसार संगठन निर्माणका एजेन्डा निरन्तर उठाउने निर्णय गरिएको जानकारी दिए। भट्टराईले पद र जिम्मेवारीको लोभभन्दा पनि आन्तरिक लोकतन्त्र सुदृढ गराउन इतर पक्षलाइ प्रतिरोध आवश्यक देखिएको तर्क गरे।

अध्यक्ष ओलीले भने अलगै भेला बोलाउनु अस्वीकार्य व्यवहार भएको टिप्पणी गरेका छन्। एक टेलिभिजन अन्तर्वार्तामा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव भट्टराईलाई लक्षित गर्दै उनले ‘अध्यक्षलाई जानकारी नदिइकन, गोप्य शैलीमा किन भेला बस्नुपर्‍यो ?’ भन्दै आलोचना गरे। ‘हामीसँगै कमिटीमा काम गर्नुपर्छ, बोलचाल बन्द भएको छैन’, भन्दै ओलीले चुुनाव जितेर पदाधिकारी बनेकाहरूले यसरी चलखेल गर्नु अनुचित रहेको टिप्पणी गरे।

महाधिवेशनपछि देखिएको दुबै पक्षको अडान र टीकाटिप्पणीले पार्टीभित्रको गुटबन्दी संस्थागत हुँदै गएको र अब आन्तरिक द्वन्द्व झन् तीव्रतासाथ अघि बढ्न सक्ने विश्लेषण राजनीतिक वृत्तमा बढेको छ। ‘महाधिवेशन सकिएपछि पार्टी एक ढिक्का हुन्छ’ भन्ने सामान्य अपेक्षाको विपरीत नव–निर्वाचित नेतृत्वभित्रै मतभेद गहिरिँदै गएको छ। एमालेमा आन्तरिक प्रतिस्पर्धा महाधिवेशनपछि मतभेदपटकै पहिलो होइन। विगतमा पनि प्रतिस्पर्धाबाट पराजित नेताहरू पार्टी छाडेर अलगै बाटो लागेका उदारहण छन्।

१०औँ महाधिवेशनमा अध्यक्ष प्रतिस्पर्धामा पराजित नेता भीम रावल तथा सोही टीमका उपाध्यक्ष उम्मेदवार घनश्याम भुसाल महाधिवेशनपछि छुट्टै बाटो लागे। तर, त्यो विभाजनसम्म भने पुगेन। तर राजनीतिक विश्लेषकहरू अहिलेको अवस्थालाई विगतभन्दा फरक देख्छन्। महाधिवेशनभन्दा अघिदेखि नै विद्या–ईश्वर र ओली समूह गरी दुई ध्रुवीयता स्पष्ट भइसकेको थियो। महाधिवेशनको नतिजाले ओली पक्षलाई झनै सबल बनाएको छ। यही शक्ति असन्तुलनका कारण इतर समूह पार्टीमा आफ्नो स्थान कत्तिको सुरक्षित रहन्छ भन्ने अनिश्चितता बढेको छ। राजनीतिक वृत्तमा उठिरहेको मुख्य प्रश्न हो– ‘ओलीको दबदबा सहेर इतर समूह एमालेमै रहला कि अन्ततः विभाजन नै होला ?’

राजनीतिक अध्येता पीताम्बर भण्डारीले तत्काल विभाजन सम्भावना कम देखे पनि गुट शक्तिशाली हुँदै जाने निश्चित ठान्छन्। उनका अनुसार, ‘इतर समूह केन्द्रीय कमिटीमा कमजोर छ, संसद् पुनःस्थापना भए पनि त्यहाँ पनि कमजोर नै हुनेछ। त्यसैले तत्काल विभाजन कठिन छ। तर महाधिवेशनपछि देखिएका संकेतहरूबाट एमालेभित्र अब गुट सुदृढ बन्दै जाने देखिन्छ।’ त्यसमाथि राजनीतिक विश्लेषक उद्धव सिग्देल वर्तमान अध्यक्ष ओलीको शैली परिवर्तन नभए पार्टीले अर्को संकट व्यहोर्नुपर्नेमा झनै विश्वस्त देखिन्छन्।

‘तेस्रोपटक ओलीकै नेतृत्व आएपछि पतन शुरु भएको देखिन्छ’, भन्दै उनले थपे, ‘फरक मतलाई समेटेर लैजाने चरित्र यदि देखिएन, प्रारम्भिक संकेत पनि त्यस्तै छ भने एमाले जटिलतातिरै जाने सम्भावना बढ्छ।’ महाधिवेशनले निर्वाचनको औपचारिक प्रक्रिया सम्पन्न गराए पनि ५ पुसपछि देखिएको आन्तरिक हलचलले एमालेभित्रको राजनीतिक तनाव सतह–मुनि दबिएको रहेन भन्ने पुष्टि गरिदिएको छ। नेतृत्व परिवर्तनभन्दा गहिरो, संगठनिक संरचना र नेतृत्व प्रवृत्तिबारे उठेका प्रश्नहरूको समाधान नभए एमाले फेरि आन्तरिक अस्थिरता र विभाजनको दोहोरी चक्रमा फस्ने जोखिम बढ्दै गएको छ।

 प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।