काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा ‘लिनिङ बास्केटबल प्रतियोगिता’ सोमबारदेखि काठमाडौंको बौद्धमा सुरु हुँदैछ। बौद्धस्थित डंकमाण्डुमा आयोजना हुने प्रतियोगिता पुस ७ गतेदेखि १२ गते सम्म सञ्चालन हुनेछ।
संघले आइतबार काठमाडौंमा आयोजना एक कार्यक्रममार्फत प्रतियोगिताबारे जानकारी गराएको हो। यो प्रतियोगितालाई आसन्न हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) को छनोट प्रतियोगिताका रूपमा लिइएको नेपाल बास्केटबल संघले जनाएको छ।
प्रतियोगितामा नेपालभरबाट कूल १२ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ। प्रत्येक समूहमा तीन–तीन टोली रहनेछन्। समूह चरणपछि चारै समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, आईएसए र तरहरा रहेका छन्। समूह ‘बी’ मा रोएल बास्केटबल क्लब, बीएमके र गण्डकी छन्। यस्तै समूह ‘सी’ मा चाणक्य बास्केटबल क्लब, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब छन् भने समूह ‘डी’ मा प्लेबक्स एरेना, बौद्ध पिपलबोट क्लब र शंकरदेव क्लब रहेका छन्।
क्वाटरफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘सी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘डी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी समूह ‘सी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग र समूह ‘डी’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्ने तालिका रहेको छ।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो तीन दिन समूह चरणका खेलहरू हुनेछन्। चौथो दिन क्वाटरफाइनल, पुस ११ गते सेमिफाइनल तथा पुस १२ गते फाइनल खेल हुनेछ।
यस प्रतियोगिताबाट राष्ट्रिय बास्केटबल लिगका लागि चार टोली छनोट हुनेछन्। गत असारमा सम्पन्न पहिलो संस्करणको हिमालयन जाभा बास्केटबल लिगको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो। टाइम्ससँगै उपविजेता गोल्डेनगेट, तेस्रो स्थानको हाउण्ड्स र चौथो स्थानको कीर्तिपुर क्लबले भने आगामी लिगका लागि स्थान पक्का गरिसकेका छन्।
पहिलो संस्करणमा पुछारमा रहेका रोएल र सामाखुशी भने यस पटक छनोट प्रतियोगिताका रूपमा आयोजना भइरहेको लिनिङ बास्केटबल प्रतियोगितामा सहभागिता जनाउँदैछन्।




































