काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर जनकपुरले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो। विराटनगरका लागि लोकेश बम र इमरान शेखले अर्धशतकीय इनिङ खेले। लोकेशले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। त्यस्तै, इमरानले ४५ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहारसहित ५६ रन जोडे।
आन्द्रे रसेलले पनि आक्रामक ब्याटिङ गर्दै टोलीको योगफल उकासे। उनले अविजित रहँदै २९ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ५२ रन बनाए। विराटनगरका शेहान जयसूर्या भने १ रनमै आउट भए भने शुभम रञ्जनेले ७ रनको योगदान दिए।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए। मोइन अलीले १ विकेट हात पारे। ललित राजवंशी र जेम्स निशम भने विकेटविहीन रहे। अब जनकपुरले जितका लागि निर्धारित २० ओभरमा १७५ रन बनाउनुपर्नेछ।




































