जेन जी आन्दोलनपछि नेपाल प्रवेश गरेको संक्रमणकाललाई समाप्त गर्न प्रतिनिधिसभाको निर्वाचन नै एकमात्र संवैधानिक र राजनीतिक निकास हो भन्ने विषयमा अहिले व्यापक सहमति देखिन थालिएको छ ।
यही सन्दर्भमा फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक स्थायित्वतर्फको निर्णायक कदमका रूपमा हेरिएको थियो । तर पछिल्ला घटनाक्रम, दलहरूको अस्पष्ट धारणा, संस्थागत तयारीको कमजोरी र राजनीतिक इच्छाशक्तिको अभावका कारण चुनावसमेत हुन नसक्ने अवस्था बन्दै गएको छ । यो स्थिति आफैंमा गम्भीर छ र यसले देशलाई अझ ठूलो संकटतर्फ धकेल्ने खतरा बोकेको छ ।
जेन जी आन्दोलन कुनै एक दल, नेता वा विचारधाराविरुद्ध सीमित थिएन । यो आन्दोलन समग्र राजनीतिक व्यवस्थाप्रतिको असन्तोष, अवसरको अभाव, सुशासनको कमजोरी र भविष्यप्रतिको निराशाबाट जन्मिएको आवाज थियो । आन्दोलनपछि सरकार, संसद् र राज्यका संस्थाहरूले वैधतासम्बन्धी गम्भीर प्रश्नहरू सामना गरिरहेका छन् । यस्तो अवस्थामा निर्वाचनमार्फत जनताको ताजा जनादेश लिई वैध सरकार स्थापना गर्नु नै संक्रमणकाल अन्त्य गर्ने लोकतान्त्रिक उपाय हो ।
तर विडम्बना के छ भने, निर्वाचन अपरिहार्य ठानिँदै गर्दा पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्ने दिशामा आवश्यक राजनीतिक वातावरण बनिरहेको छैन । प्रमुख राजनीतिक दलहरू चुनावको पक्षमा स्पष्ट रूपमा उभिन सकेका छैनन् । कसैले चुनावको मिति र वातावरणप्रति शंका व्यक्त गरिरहेका छन् भने कसैले निर्वाचनलाई आफ्नो तत्कालीन राजनीतिक स्वार्थसँग तौलिरहेका छन् । यसले जनस्तरमा ‘चुनाव पनि अब सम्भव छैन कि ?’ भन्ने आशंका बढ्दै गएको छ ।
यदि फागुन २१ गते चुनाव हुन सकेन भने त्यसको प्रभाव केवल एक मिति सर्ने वा प्राविधिक असफलतामा सीमित रहने छैन । यसले राजनीतिक संकटलाई झन् गहिरो बनाउनेछ । संक्रमणकाल लम्बिँदै जाँदा राज्यका निर्णयहरू कमजोर वैधताका आधारमा चल्न बाध्य हुन्छन् । सरकारको हरेक कदम विवादमा पर्ने, अदालत र सडकमा राजनीति सर्ने तथा संस्थागत असन्तुलन बढ्ने जोखिम रहन्छ ।
चुनाव नहुनुको अर्को गम्भीर परिणाम जनआक्रोशको पुनरुत्थान हो । जेन जी आन्दोलन शान्त ढंगले व्यक्त भएको असन्तोषको रूप थियो । तर यदि राज्यले त्यस आन्दोलनबाट उत्पन्न सन्देशलाई आत्मसात् गर्न नसकी लोकतान्त्रिक प्रक्रियामार्फत निकास दिन असफल भयो भने त्यो असन्तोष अझ उग्र रूप लिन सक्छ । लामो समयसम्म अनिश्चितता र अन्योल रहिरहँदा अराजकता र अतिवादका शक्तिहरूले टाउको उठाउने सम्भावना पनि नकार्न सकिँदैन ।
केवल प्राविधिक कठिनाइ, सुरक्षा चुनौती वा कानुनी बहानामा चुनाव सार्नु दीर्घकालीन समाधान होइन । बरु यसले समस्या थप्ने मात्र हो । विगतका अनुभवहरूले देखाइसकेका छन्—चुनावबाट भाग्दा संकट टर्दैन, झन् बढ्छ । राजनीतिक दलहरू चुनाव जित्ने–हार्ने गणनामा अल्झिएर लोकतान्त्रिक जिम्मेवारीबाट पन्छिनु हुँदैन ।
आजको आवश्यकता स्पष्ट छ । जेन जी आन्दोलनपछिको संक्रमणकाल अन्त्य गर्न निर्वाचन अनिवार्य छ । चुनाव स्थगित गर्ने होइन, जसरी पनि सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरूले न्यूनतम राष्ट्रिय सहमति कायम गर्नैपर्छ । चुनावी प्रतिस्पर्धा चुनावपछि गर्न सकिन्छ, तर चुनाव नै नहुने अवस्था स्वीकार्य हुन सक्दैन ।
फागुन २१ को निर्वाचन केवल एउटा राजनीतिक कार्यक्रम होइन, यो देशलाई अनिश्चितता र अस्थिरताबाट बाहिर निकाल्ने लोकतान्त्रिक सेतु हो । यदि यो सेतु भत्कियो भने नेपाल फेरि लामो संक्रमणकाल, अविश्वास र उथलपुथलको दलदलमा फस्नेछ ।
त्यसैले सरकार र प्रमुख दलहरूले अब ढिलाइ नगरी आफ्नो पोजिसन स्पष्ट पार्नुपर्छ—चुनाव हुन्छ, तोकिएकै मितिमा हुन्छ र त्यसका लागि सबै जिम्मेवार पक्ष एकताबद्ध हुन्छन् । अन्यथा, इतिहासले फेरि एउटै प्रश्न सोध्नेछ—जब निकास हातमै थियो, किन चुक्यौ ?
मिति २०८२ पुस ८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































