ट्रम्पले नेपालसहित ३० देशका राजदूतलाई किन फिर्ता बोलाए ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाइडेन प्रशासनको समयमै नियुक्त भएका करिब ३० देशबाट अमेरिकी राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि अमेरिकाको कूटनीतिक नीति र विदेश रणनीतिमा ठूलो परिवर्तनको संकेत देखिएको छ ।

ट्रम्प प्रशासनको दोस्रो कार्यकालको प्रारम्भसँगै विदेश विभागले ती राजदूतहरूमाथि नोटिस पठाई सेवाबाट हटाउन तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । विदेश विभागका दुई उच्च अधिकृतले नाम नखुलाउने सर्तमा बताएअनुसार, गत सातादेखि २९ देशमा कार्यरत अमेरिकी राजदूतहरूलाई सो सम्बन्धी सूचना पठाइएको हो । यिनको सेवा आगामी जनवरीमा औपचारिक रूपमा समाप्त हुने उल्लेख छ । नोटिसहरू गत बुधबारदेखि सम्बद्ध देशस्थित दूतावासहरूमा पुगेका थिए ।

अमेरिकामा राजदूतहरूको नियुक्ति राष्ट्रपतिकै इच्छाअनुसार हुने गर्छ । सामान्यतया अमेरिकी राजदूतहरूको कार्यकाल तीन देखि चार वर्षको रहने प्रचलन छ । तर, यस पटक पदच्युत गरिएका सबै राजदूतहरू बाइडेन प्रशासनमा नियुक्त भएका थिए र धेरैजसो ट्रम्पको दोस्रो कार्यकालमा पनि पदमै रहेका थिए । यद्यपि अब ट्रम्प प्रशासनले आफ्नै विदेश नीतिलाई प्राथमिकता दिँदै ‘अमेरिका फर्स्ट’ एजेन्डालाई कार्यान्वयन गर्ने उद्देश्यले उनीहरूलाई फिर्ता बोलाएको बताइएको छ ।

ट्रम्प प्रशासनले नयाँ कूटनीतिक टिम गठन गर्दै विदेशी राष्ट्रहरूसँगको सहकार्य र व्यापारिक समझदारीमा बलियो हस्तक्षेप गर्ने संकेत गरेको छ । विशेषज्ञहरूले यो कदमले अफ्रिकी देशहरूमा सबैभन्दा ठूलो प्रभाव पार्ने आँकलन गरेका छन् । फिर्ता बोलाइएका राजदूतहरूको सूचीमा अफ्रिकाका १३ देश—बुरुन्डी, कैमरुन, केप भर्डे, ग्याबोन, आइभरी कोस्ट, मडागास्कर, मरिसस, नाइजर, नाइजेरिया, रवान्डा, सेनेगल, सोमालिया र युगान्डा—पर्दछन् ।

त्यस्तै एसियाका फिजी, लाओस, मार्शल आइल्यान्ड्स, पापुआ न्यू गिनी, फिलिपिन्स र भियतनामबाट पनि अमेरिकी दूतहरू फिर्ता बोलाइँदै छन् । यूरोपमा आर्मेनिया, नर्थ मेसेडोनिया, मण्टेनेग्रो र स्लोभाकियामा कार्यरत दूतहरूले पनि नोटिस प्राप्त गरिसकेका छन् । मध्यपूर्वका अल्जेरिया र इजिप्टका राजदूतहरूलाई फिर्ता बोलाइएको छ भने दक्षिण तथा मध्य एसियामा नेपाल र श्रीलंका तथा पश्चिमी गोलार्धका ग्वाटेमाला र सुरिनामबाट पनि अमेरिकी राजनयीकहरू फिर्ता बोलाइँदै छन् ।

स्टेट डिपार्टमेन्टले जारी गरेको संक्षिप्त टिप्पणीमा यो प्रक्रियालाई सामान्य प्रशासनिक कदम मात्र भएको उल्लेख छ । तर विश्लेषकहरू भने ट्रम्प प्रशासनको कूटनीतिक पुनर्संरचना, कर्मचारी परिवर्तन र विदेश नीति पुनर्संयोजनसँगै यसको गहिरो राजनीतिक प्रभाव पर्ने निष्कर्ष निकालिरहेका छन् । अमेरिकी विदेशनीतिमा हुने यस्तो व्यापक परिवर्तनले मित्रराष्ट्रहरूबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र सुरक्षा रणनीतिमा समेत नयाँ परिवेश सिर्जना गर्ने सम्भावना रहेको बताइन्छ । धेरै देशहरूले आगामी महिनाहरूमा अमेरिकी दूतावासहरूमा नयाँ नामावली आउने आशंका व्यक्त गर्दै कूटनीतिक सन्तुलनका लागि तयारी थालिसकेको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।