फोनको कुराकानीले पूर्वमन्त्री गुप्ता पुगे थुनामा

काठमाडौं । पूर्वसामान्य प्रशासन मन्त्री तथा नेकपा (एमाले)का नेता राजकुमार गुप्तालाई घुस प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ ।

बुधबार विशेष अदालतमा उपस्थित भई बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले गुप्तालाई कारागार चलान गर्न आदेश गरेको हो । गुप्तामाथि मन्त्री पदमा रहँदा पदको दुरुपयोग गरी घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री हुँदा उनले रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीबाट भएको सरुवा रोकिदिने र खमबहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्त गराइदिने आश्वासन दिएर घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । यही आरोपमा अख्तियारले गत असोजमा ७८ लाख रुपैयाँ बिगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

घुसको ‘डिल’ भएको भनिएको अडिओ सार्वजनिक भइसके पनि गुप्ताले अनुसन्धान तथा अदालतमा दिएको बयानमा आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् । उनले उजुरी झुटो रहेको, कसैसँग घुस लिएको नभएको र अडिओ रेकर्डमा सुनिएको संवाद गलत तथा प्रविधिको दुरुपयोगमार्फत तयार पारिएको हुन सक्ने दाबी गरेका थिए । अख्तियारमा र बुधबार अदालतमा बयान दिँदा उनले रञ्जिता श्रेष्ठबाहेक अन्य प्रतिवादीहरूलाई नचिनेको पनि बताएका थिए । तर, विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताको दाबीलाई तत्काल स्वीकार गर्न नसकिने ठहर गरेको छ । अदालतले प्रारम्भिक चरणमै प्रस्तुत भएका प्रमाणहरूका आधारमा गुप्ताले घुस नलिएको भन्ने अवस्था नदेखिएको उल्लेख गरेको छ ।

अदालतले उजुरीसँगै पेश गरिएको अडिओ रेकर्डको फरेन्सिक परीक्षण प्रतिवेदनलाई महत्वपूर्ण प्रमाणका रूपमा लिएको छ । उक्त अडिओमा गुप्ता, रञ्जिता श्रेष्ठ र सुजनकुमार तामाङबीच भएको फोन संवाद पुष्टि भएको अदालतको निष्कर्ष छ । साथै, सहप्रतिवादी सुजनकुमार तामाङले अख्तियार समक्ष दिएको बयान, सुरज शाह ठकुरी र यमकुमारी गुरुङबीच २०८१ जेठ २० मा भएको करारपछि यमकुमारी गुरुङको नाममा रहेको बैंक खातामा रकम जम्मा तथा झिकिएको गरिमा विकास बैंकको विवरणलाई पनि प्रमाणका रूपमा उल्लेख गरिएको छ । यसका अतिरिक्त प्रतिवादीहरूबीच भएको फोन सम्पर्कको विवरण, राजकुमार गुप्तालाई सहप्रतिवादी रामचन्द्र अधिकारी, रञ्जिता श्रेष्ठ र सुजनकुमार तामाङले पठाएका एसएमएस सन्देशहरू, रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गणना गरी गाडीमा राखिएको बेलामा खिचिएका तस्बिरहरू समेत अदालतले आधार मानेको छ । यी सबै प्रमाण अख्तियारले मिसिलसहित अदालतमा पेश गरेको थियो ।

अदालतको आदेशमा प्रतिवादीको संलग्नता, भूमिका, पदीय हैसियत, जिम्मेवारी र जवाफदेहिता विचार गर्दा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (ङ) अनुसार थुनामा राख्नुपर्ने अवस्था देखिएको उल्लेख गरिएको छ । त्यसैका आधारमा विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (१) बमोजिम गुप्तालाई पुर्पक्षका लागि थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेश दिइएको हो ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।