समानुपातिक सूची र जेन जीको अपमान

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मंगलबार राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाए । सूची बुझाउने प्रक्रियासँगै देश फेरि चुनावी मोडमा प्रवेश गरेको छ । तर यही सूचीले जेन जी आन्दोलनपछि बदलिएको भनिएको नेपाली राजनीतिले वास्तवमै आफूलाई सुधारेको छ कि छैन भन्ने गम्भीर प्रश्न उब्जाएको छ । दुर्भाग्य, अधिकांश दलका बन्दसूचीले जेन जी आन्दोलनको भावना समेट्न सकेनन् ।

जेन जी आन्दोलन कुनै साधारण प्रदर्शन मात्र थिएन । त्यो राज्यको असफलता, दलहरूको अकर्मण्यता, नेतृत्वको नैतिक दिवालियापन र पुरानो राजनीतिक संस्कृतिप्रतिको खुला असन्तोष थियो । युवाहरू सडकमा उत्रँदा उनीहरूको मूल माग ‘नयाँ अनुहार’ भन्दा पनि ‘नयाँ सोच, नयाँ आचरण र नयाँ मापदण्ड’ थियो । तर समानुपातिक सूचीले त्यो आवाज सुनेको आभास दिँदैन ।

स्थापित दलहरूले पुरानै प्रवृत्ति दोहोर्याएका छन् । समानुपातिक सूची फेरि पनि नेतृत्वका नजिकका, पटक–पटक सांसद भइसकेका, पराजित भएर पनि सधैं सूचीमा अटाउने अनुहारहरूले भरिएको छ । समावेशिता नारामा सीमित छ, अभ्यासमा छैन । महिलाहरू, दलित, आदिवासी, मधेसी, अपांगता भएका व्यक्ति र युवाको प्रतिनिधित्व कागजी देखिन्छ, निर्णय तहमा होइन । जेन जी आन्दोलनले उठाएको ‘योग्यता, पारदर्शिता र जवाफदेहिता’को माग सूचीमा कतै झल्किँदैन ।

तर झन् चिन्ताजनक पक्ष के हो भने, आफूलाई ‘नयाँ विकल्प’ भनेर प्रस्तुत गरेका, जेन जीको समर्थनसमेत रहेको दाबी गर्ने वा भर्खर खुलेका दलहरूले स्थापित दलभन्दा पनि खराब उदाहरण देखाएका छन् । परिवर्तनको नारा लगाउने दलहरूले नै समानुपातिक सूचीमा परिवारवाद, गुटगत स्वार्थ र नेताको वरिपरि घुम्ने अनुहारहरू प्राथमिकतामा राख्दा उनीहरूको नैतिक हैसियतमाथि गम्भीर प्रश्न उठेको छ ।

यी नयाँ भनिएका दलहरूबाट जनताको अपेक्षा फरक थियो । कम्तीमा समानुपातिक सूचीमा जेन जी आन्दोलनमा सक्रिय, सामाजिक रूपान्तरणमा देखिएका, पेशागत रूपमा इमानदार र राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने व्यक्तिहरूलाई अघि सार्लान् भन्ने आशा थियो । तर सूची हेर्दा लाग्छ—यी दलहरू पनि पुरानै संरचना र संस्कृतिमा चाँडै घुलमिल भएका छन् । फरक झण्डा बोके पनि राजनीति उही देखिएको छ ।

समानुपातिक प्रणालीको मर्म नै आवाजविहीन समूहलाई संसद्सम्म पुर्‍याउनु हो । तर दलहरूले यसलाई ‘सुरक्षित अवतरण’को माध्यम बनाइरहेका छन् । चुनाव जित्न नसक्ने तर नेतृत्वसँग नजिक भएकाहरूको पुनरावृत्तिले प्रणालीमाथि नै अविश्वास बढाएको छ । जेन जी आन्दोलनले चुनौती दिएको यही संस्कृतिलाई दलहरूले आत्मसात् गर्नुको साटो पुनः वैधता दिन खोजेका छन् ।

यसले के संकेत गर्छ भने, नेपाली राजनीतिमा पुस्ता फेरिए पनि प्रवृत्ति फेरिन अझै बाँकी छ । आन्दोलनले सत्ताको अनुहार त बदल्न सक्छ, तर सोच र संरचना नबदलिँदा परिणाम उस्तै रहने खतरा छ । यदि जेन जी आन्दोलनको ऊर्जा संस्थागत राजनीतिमा अनुवाद हुन सकेन भने, यो असन्तोष झन् गहिरो भएर विस्फोट हुने सम्भावना रहन्छ ।

अब प्रश्न उठ्छ—जवाफदेही को हुने ? दलहरूले आत्मसमीक्षा गर्नैपर्छ । ‘हामी नयाँ हौँ’ भन्ने दाबी केवल भाषण र पोस्टरमा सीमित राखेर हुँदैन । सूची बनाउँदा देखिने साहस, इमानदारी र पारदर्शिताले नै दलको चरित्र निर्धारण गर्छ । त्यो साहस यसपटक देखिएन ।

फागुन २१ को चुनाव केवल सिट संख्या निर्धारण गर्ने प्रक्रिया मात्र होइन । यो जेन जी आन्दोलनपछिको संक्रमणकाललाई संस्थागत रूपले टुंग्याउने अवसर पनि हो । तर दलहरूले यही अवसरमा जनभावनालाई बेवास्ता गरे भने, लोकतन्त्रप्रतिको विश्वास कमजोर हुनेछ ।

परिवर्तन सडकमा मात्रै सीमित राख्ने कि संसद्सम्म पुर्‍याउने भन्ने जिम्मेवारी अब दलहरूको काँधमा छ — र समानुपातिक सूचीमा देखिएको प्रवृत्तिले त्यो जिम्मेवारी पूरा भएको अनुभूति दिँदैन ।

मिति २०८२ पुस १७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।